-विष्णुप्रसाद बस्याल

प्रारम्भिक रुपमा हेर्दा आज पहिलोपटक बजारमा भोल्युम ब्रेकआउटको अवस्था देखिएको छ । यो सकारात्मक पक्ष हो ।

योसँगै ओभरल इण्डेक्स पनि चलेको देखिएको छ । बैंकिङ इण्डेक्स पनि चलेको देखियो । यसरी हेर्दा बजार बुल गतिमा दौडिन सुरु भएको हो कि भन्ने आभास प्राप्त भएको छ ।

तर, सतप्रतिशत बजार फर्किसकेको भन्ने ठूला आधारहरु चाहि अहिलेसम्म देखिएको छैन । 

यदि १२०० माथि यो इण्डेक्स गयो भने बजारले लङटर्म बटम लगायो भन्ने बुझ्न सक्छौ । त्यो भन्दा तल–तल रहँदासम्म बजारमा सानो जोखिम यथावत छ । तर, ओभरअल लङटर्म इन्भेष्टमेन्ट(दीर्घकालीन लगानी) गर्नेका लागि अब खासै रिस्क छैन । 

इलियट वेभबाट मैले बजारलाई हेर्ने गरेको छु । हामीमा २ वटा इण्डेक्स प्राइमरी छन् । एउटा नेप्सेको ओभरल इण्डेक्स हो भने अर्को बैंकिङ इण्डेक्स । बैंकिङ इण्डेक्सका आधारमा भन्दा बजारले लङटर्म बढोत्तरीको बटम लगाइसकेको भन्ने संकेत गरेको छ भने नेप्से इण्डेक्सले इलेट वेभको प्याटर्नका आधारमा एउटा परफेक्ट बाटो बनाउनुपर्ने हो, त्यो चाहि कतै मिसिङ छ कि भन्ने आशंका बाँकी नै छ।

अझै पनि ११०० मुनि मार्केट आउँदै आउँदैन भनेर ठोकुवा चाहि गर्न सकिन्न । तर, आजको बजारको जुन किसिमको बढोत्तरी भयो, यसले केही न केही आभास दिएको छ कि मार्केटले लङटर्मका लागि सायद बटम लगाइसक्यो कि ! 

प्राविधिक विश्लेषणको कोणबाट हेर्दा बजारमा नेप्से इण्डेक्स र कारोबार रकम समानान्तर ढंगले बढ्दै जानु सकारात्मक हो । विगत ५ दिनदेखि यही अवस्था देखिएको छ । भोल्युमले साथ दिएर बजार बढ्नु भनेको निकै बलियो पक्ष हो । आज साच्चिकै भोल्युमले साथ दिएर बजार बढेको देखिन्छ । एक्चुअल्ली भोल्युम ब्रेकआउट भएको दिन पनि आजै हो । अरुबेला जुन नर्मल भोल्युम हुन्थ्यो, त्यसको डबल भोल्युम आज भएको छ । र, यसलाई बजारका लागि निकै नै पोजिटिभ संकेतको रुपमा हामी लिन्छौ । 

यो बेला भनेको लगानी गर्ने बेला हो । ११ सयभन्दा ३०–५० अंक तल आए पनि यो बेला खासै फरक पर्दैन । लङटर्मका लागि लगानी गर्ने सही बेला यही हो । हामी लगानीका लागि प्रतिबद्ध हुने बेला पनि यही हो । 

फ्रेस लगानीकर्ताले यदि अब पनि मिसआउट भयो भन्ने आभास छ भने बढिरहेको बेला जम्प गरिहाल्नुपर्ने अवस्था चाहि छैन, केही करेक्सन आउन दिनुस् । करेक्सन आइसकेपछि तपाईले लगानी गर्न सुरु गर्दा हुन्छ । 

सर्टटर्म ट्रेडरहरुले यही बेला प्रफिट बुक गर्नसक्छन् । यो ५ दिनको तुलनामा बजारका अधिकांश स्टकले ७–८ प्रतिशतको रिटर्न दिइसकेको छ । त्यति रिटर्न पाइसकेपछि सर्टटर्म कारोबारी प्रफिट बुक गर्नतर्फ अवश्य लाग्नेछन् । र, त्यो प्रफिट बुकिङले बजार केही न केही अहिलेको विन्दूभन्दा तलको विन्दूमा जानसक्छ भनेर अनुमान गर्न सकिन्छ । 

र, यहीकारण मैले भनेको हुँ कि यदि कसैलाई बजारमा लगानी गर्ने चाहना भएर सही समय मिस भयो भन्ने अनुभूत छ भने, नअत्तालिनुहोस् ।  केही सिग्नीफिकेन्ट्ली करेक्सन बजारमा आउन दिनुहोस्, त्यसपछि प्रवेश गर्दा राम्रो हुन्छ । 

नेप्से इण्डेक्स १२८८ र १२३३ को ट्रेडलाइनको रेजिस्टेन्स हेर्दा ११८५ तिरको देखिएको छ । ११८५ मा आएर बजारले सिग्नेफिकेन्ट रेसिस्टेन्स लिन्छ कि भन्ने देखिन्छ । र, टेक्निकल्ली विश्लेषण गर्दा जबसम्म त्यो ट्रेण्डलाइन रेजिस्टेन्सलाई क्रस गरेर माथि क्लोज गर्दैन, तबसम्म बजारमा रिस्क छ भन्ने देखिन्छ ।

त्यसपछि मार्केट तल आउँदा भोल्युम तल हुँदै आयो भने हामीलाई बजारमा प्रवेश गर्ने फेरि मौका दिन्छ भन्ने आशा गर्न सकिन्छ । 

म प्राय टेक्निकल एनलाइसिसलाई फण्डामेन्ट्लसँग मिक्स गर्न रुचाउँदिन । तर, कहिलेकाही आधारभूत रुपमा समेत हेर्नुपर्ने रहेछ । आधारभूत रुपमा हेर्दा धेरै बैंकिङ स्टकहरु लगभग अण्डर भ्यालूएसनको लेभलमा आइसकेको हुनाले पनि यो बेला सेयर किन्ने उपयुक्त समय हो । अझै पनि धेरै स्टक अण्डरभ्यालूड लेभलमै छन्, धक फुकाएर किन्न आग्रह गर्छु ।

बजार कहाँ पुग्ला ? 
मलाई जहाँसम्म लाग्छ, यो साताको अन्तिमदेखि फेरि एकपटक प्रफिट बुकिङ आउनसक्छ । यदि प्रफिट बुकिङ हुँदा बियरिस प्रवृतिको विकास नभई सानो–सानो प्रफिट बुकिङ आयो भने त्यसपछि फेरि बजारले माथिको यात्रा सुरु गर्नेछ । 

यदि अहिले बढिरहेको बजार १२०० भन्दा माथिको विन्दू पुग्यो भने हामीले छिट्टै नै १४०० को लेभल देख्न पाउँछौ । मेरो विश्लेषणमा ३ देखि ४ महिनासम्ममा बजार १४०० को विन्दूमा पुग्नसक्छ । 

(प्राविधिक विश्लेषक बस्यालसँग भक्तराज रसाइलीले गरेको कुराकानीमा आधारित)