काठमाण्डौ । नेपाल बैंकर्स एशोसिएसनका अध्यक्ष उपेन्द्र पौड्यालले व्यवस्थापन सम्हालेको एनएमबी बैंकले आर्थिक वर्ष २०७२/७३ मा कमालको प्रगति हासिल गरेको छ । 

यो बैंकले खूद नाफालाई १२६.५४ प्रतिशतले बढाउँदै अर्ब कमाउने बैंकको सूचिमा प्रवेश गर्न सफल भएको छ । 

आर्थिक वर्ष ०७१/७२ मा ५३ करोड २७ लाखमा सीमित बैंकको खूद नाफा ०७२/७३ मा चाहि बढेर १ अर्ब २० करोड पुगेको हो । वाणिज्य बैंकमध्ये हालसम्म चौथो त्रैमासिक रिपोर्ट सार्वजनिक गरेका कुनै पनि बैंकले यति खूद नाफामा यति धेरै प्रगति हासिल गरेका छैनन् । 

बैंकले बुधबार प्रकाशन गरेको बित्तीय विवरण अनुसार खूद ब्याज आम्दानीतर्फ पनि कमालको प्रगति हासिल भएको छ । ९८ करोड ७७ लाखमा सीमित खूद ब्याज आम्दानी बढेर २ अर्ब १० करोड पुगेको हो । यो बैंकको चुक्तापूँजी ४ अर्ब ४८ करोड रुपैयाँ रहेको छ । सञ्चित कोषमा २ अर्ब ५३ करोड रुपैयाँ छ । 

निक्षेप संकलनतर्फ पनि बैंकले करिब १ सय प्रतिशतले फड्को मारेको छ । अघिल्लो आर्थिक वर्ष ३५ अर्ब ३६ करोड निक्षेप संकलन गरेको यो बैंकले ०७२/७३ मा ६४ अर्ब ९४ करोड संकलन गरेको छ । २७ अर्ब २८ करोडमा सीमित कर्जालाई बिस्तार गरी ५३ अर्ब ८५ करोडमा पुर्याएको छ । 

कमालको नाफा हासिल गरे पनि निस्क्रिय कर्जा दर भने बढेको छ । अघिल्लो आबमा ०.४२ प्रतिशतमा सीमित एनपीएल १.७४ प्रतिशतमा पुगेको हो । 

बैंकको वार्षिक प्रति सेयर आम्दानी र प्रति सेयर नेटवर्थ क्रमशः २८.६६ र १५४.९१ रुपैयाँ पुगेको छ । पीई रेसियो(मूल्य आम्दानी अनुपात) २७.४९ गुणा रहेको छ । 

यो बैंकले चारवटा बित्तीय संस्थाहरुसँग सफल मर्जर गरी संयुक्त कारोबार सुरु गरेको थियो । मर्जरका कारण समेत खूद नाफा र समग्र व्यापार बढेको हो । एनएमबी बैंकले क्लीन इनर्जी डेभलपमेन्ट बैंक, भृकुटी डेभलपमेन्ट बैंक, पाथीभरा विकास बैंक र प्रूडेन्सियल फाइनान्ससँग मर्ज सकी २०७२ कात्तिक १ बाट संयुक्त कारोबार सुरु गरेको थियो ।