काठमाण्डौ । अर्थमन्त्रालयका राजश्व सचिव लालशंकर घिमिरेले धितोपत्र बोर्ड, नेप्से र सिडिएससीका प्रमुखको तीन टाउको तीनतिर फर्किएका कारण लगानीकर्ताले दुःख पाएका भन्दै १२ घण्टे अल्टिमेटम दिएका छन् । 

भारित औषत लागतको गणना गर्दा लगानीकर्ता आफैले लागत मूल्यको स्वःघोषणा गर्नुपर्ने सिडिएससीको सूचनाविरुद्ध आन्दोलनमा रहेका लगानीकर्ताका चारवटा संगठनका प्रतिनिधिहरुलाई भेट दिंदै राजश्व सचिव घिमिरेले त्यस्तो अल्टिमेटम दिएका हुन् । 

सेयर लगानीकर्ताको अहित हुने गरी दुःख दिने काम बोर्ड, नेप्से र सिडिएसको नेतृत्वले गरिरहेको दाबी गर्दै आवश्यक परे उनीहरुमाथि कारबाही गर्न समेत आफू पछाडि नपर्ने उनले प्रष्ट पारे । 

उनी नेप्से नेतृत्वप्रति निकै रुष्ट समेत देखिएका थिए । आफूले नेप्सेका संचालक समिति अध्यक्ष लक्ष्मण न्यौपानेलाई आइतबार बिहानै फोन गरी लगानीकर्ताका माग जायज भए तत्काल पूरा गर्न र नाजायज भए लेखेर पठाउन १२ घण्टे अल्टिमेटम दिएको स्पष्ट पारेका थिए । 'लगानीकर्ताले उठाइरहेका माग गैरकानूनी भए गैरकानूनी भनी लेखेर पठाउनुहोस् ।' न्यौपानेलाई आफूले दिएको निर्देशन उद्धृत गर्दै सचिव घिमिरेले भनेका थिए-'होइन भने पूँजीगत लाभकरको यो समस्या १२ घण्टाभित्र समाधान हुनुपर्छ, मैले भोलिदेखि यस्तो गुनासो सुन्न नपरोस्।'

उनले पूँजीबजारसँग सम्बन्धित शक्तिशाली तीन निकायका प्रमुखको टाउको तीनतिर फर्किएको दाबी गर्दै उनीहरुबीच समन्वय हुन नसक्दा बजार विकास र बिस्तार हुन नसकेको र लगानीकर्ताको हित समेत हुन नसकेको दाबी गरे । 

'बोर्डका अध्यक्ष, नेप्सेका सीइओ र सिडिएससीका सीइओबीच समन्वय नै रहेनछ ।' उनले थपे-'उहाँहरुलाई मन्त्रालयमा उपस्थित गराउँछु । तत्काल लगानीकर्ताको समस्या समाधान गर्नेतर्फ थप पहल गर्नेछु ।'

उनले भौतिक सेयरको अभौतिकीकरण हुनुभन्दा अगाडिको रेकर्ड नभएको भन्ने नेप्से, सिडिएससीको तर्क हास्यास्पद रहेको समेत प्रष्ट पारे । उदाहरण दिंदै सचिव घिमिरेले भने–‘मानौ मसँग नेपाल बैंकको पासबुक छ, बैंकले जारी गरेको पासबुक हरायो भने त्यो रेकर्ड बैंकको लेजरमा हुन्छ र सोही आधारमा मलाई बैंकले रेकर्ड उपलब्ध गराउँछ । नेप्सेसँग त्यो रेकर्ड हुन्छ, यो इस्यूमा यसपटक नेप्सेले गद्धारी गरेकै हो, उसँग लेजर हुन्छ ।’

पूँजीबजारमा समेत तीव्र अटोमेसन भइरहेको अवस्थामा कागजी युगमा फर्काउने कुचेष्टा हुनु दुःखद रहेको उल्लेख गर्दै राजश्व सचिवले भने-'बजारलाई कागजी युगमा फर्काउनेविरुद्ध कारबाही गर्न समेत हामी पछि पर्ने छैनौ ।' 

राजश्व सचिवलाई भेट्नुअघि लगानीकर्ताका चारवटा संगठनले ब्रोकरहरुसँगको समेत आन्तरिक सहमतिमा सिडिएसीका सीइओ देवप्रकाश गुप्तालाई भेटेर पूँजीगत लाभकर गणनाको नयाँ विधि स्थगन गर्न र साउन १ गतेदेखिको हालसम्मको कारोबारको राफसाफ नगर्न समेत लिखित आग्रह गरेका थिए । सीइओ गुप्ताले असार ३१ गतेलाई कटअफ डेट राख्न सकिने सुझाव दिएका थिए ।