काठमाण्डौ । १२ बर्षमा खोलो पनि फर्कन्छ भन्ने उखान झै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि १२ वर्षपछि सत्तामा फर्किएका छन् । 

तत्कालीन राजा ज्ञानेन्द्रबाट सत्ताच्यूत भएका देउवा गणतन्त्रको उदयपछिको १० औं प्रधानमन्त्री बन्दै चारपटकसम्म प्रधानमन्त्री बन्ने नेताको इतिहास रचेका हुन् । 

व्यवस्थापिका संसदको मंगलबारको दोश्रो बैठकले देउवालाई प्रधानमन्त्रीमा निर्वाचित गरेको हो । दिउँसो १ बजेदेखि सुरु भएको संसदको पहिलो बैठकमा एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष तथा काम चलाउ प्रधानमन्त्री पुुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले सम्बोधन गरेका थिए । 

बैठकमा प्रधानमन्त्री चयनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको पत्र पढेर सुनाइएको थियो । यस्तै, प्रधानमन्त्री चयनको कार्यतालिका पनि अनुमोदन भएको थियो । दोश्रो बैठकमा प्रधानमन्त्रीको निर्वाचन भएको थियो । 

कांग्रेस र माओवादी केन्द्रबीच भएको सहमतिअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देउवालाई सत्ता हस्तान्तरण गरेका हुन् । प्रधानमन्त्रीको निर्वाचनमा देउवाको मात्र उम्मेद्वारी परेको थियो । 

बि.स. २०५२ सालमा पहिलोपटक प्रधानमन्त्री भएका देउवा आज चौथो पटक प्रधानमन्त्री निर्वाचित भएका हुन् । यसअघि उनी राजा ज्ञानेन्द्रले सत्ता हातमा लिनुुअघि प्रधानमन्त्री थिए । तत्कालीन कांग्रेस प्रजातान्त्रिकका सभापति देउवालाई राजा ज्ञानेन्द्रले २९ जेठ ०६१ मा प्रधानमन्त्री नियुक्त गरेका थिए । ८ महिनापछि १९ माघ ०६१ मा देउवालाई हटाएर ज्ञानेन्द्रले प्रत्यक्ष शासन गरेका थिए । त्यसयता उनी पहिलोपटक प्रधानमन्त्री भएका हुन् ।

आजको दोस्रो संसद बैठकमा प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया सम्पन्न भएको थियो । संसद् नियमावलीको नियम ४९ को उपनियम ४ अनुसार प्रधानमन्त्रीका एक्ला उम्मेदवार देउवाले आफ्नो उम्मेदवारीको सूचना संसद् बैठकमा प्रस्तुत गरेका थिए । प्रस्तावक प्रचण्ड र समर्थक रामचन्द्र पौडेल, विजय गच्छदार लगायतले आफ्नो समर्थन पेश गरेका थिए । प्रस्तावक र समर्थकले बोलेपछि सभामुखबाट उम्मेदवारी निर्णयार्थ प्रस्तुत गरेकी थिइन् । सभामुखले उम्मेदवारको पक्ष र विपक्षका सदस्यलाई भिन्नाभिन्नै ढोकाबाट उपकक्ष (लबी)मा प्रवेश गराएर मत विभाजन गरेकी थिइन, सो क्रममा देउवाको पक्षमा बहुमत देखिएको थियो । देउवाको पक्षमा ३ सय ८८ मत परेको थियो भने विपक्षमा १ सय ७० मत परेको थियो । कुल ५ सय ५८ मत खसेको थियो । 

प्रधानमन्त्रीमा निर्वाचित हुन मत विभाजन गर्दा संसदमा तत्काल कायम कुल पाँच सय ९३ सदस्य संख्याको बहुमत दुई सय ९७ मत ल्याउनुपर्ने थियो, तर दुुई तिहाई बहुमत नजिक रहेका देउवालाई त्यसपछि सभामुखले प्रधानमन्त्रीमा निर्वाचित भएको घोषणा गरेकी थिइन ।