काठमाण्डौ । युरोपका सुन्दर देशहरुमा घुम्ने संसारभरका जोकोही मानिसको सपना हुन्छ । यस्तो बेलामा घुम्न मात्र होइन, मात्र १३० रुपैयाँमा तपाईलाई यूरोपकै कुनै देशमा घर खरीदको अफर दिइयो भने के गर्नुहुन्छ ? सुरुमा नपत्याउनुहोला, यथार्थ हो भन्ने ठानेपछि तारतम्य मिलाएर खरीद गर्नतिर लाग्नुहुन्छ । 

हो, यूरोपको इटलीजस्तो धनी देशमा अपत्यारिलो मूल्यमा घर खरीदको अफर सार्वजनिक भएको छ, त्यो पनि १३० रुपैयाँमै । इटलीको ओलोलाई शहरमा २०० घर बिक्रीमा राखिएको छ । यहाँ संसारभरका जोकोही आएर १३० रुपैयाँमा घर खरीद गर्न सक्छन् । ओलोलाईका मेयरले १३० रुपैयाँ मूल्यमा यहाँ घर खरीद गर्न पाइने जानकारी दिंदै विश्वभरका मान्छेले खरीदका लागि चासो दिएका र केही घर बिकिसकेको जानकारी गराएका सिएनएनले जनाएको छ । तर, १३० रुपैयाँमा घर खरीदका लागि सरकारले एउटा शर्त समेत राखेको छ, जसलाई अनिवार्य रुपमा पूरा गर्नुपर्ने हुन्छ ।

घरको मूल्य किन यति सस्तो भयो ?
बिजिनेश इन्साइडरमा छापिएको अर्को एक रिपोर्टका अनुसार इटलीको एक शहर हो ओलोलाई, जुन शहर सांस्कृतिक रुपमा निकै चर्चित पनि भयो । समुन्द्री किनारमा रहेको यो एउटा सानो शहर हो । यहाँको आवादी पहिला निकै धेरै थियो, तर पछिल्लो ५० वर्षमा यहाँबाट मानिसहरुको बसाई सर्ने क्रम तीव्र छ । मानिसहरु यहाँ छाडेर ठूला शहरतर्फ गइरहेका छन् । पहिला हजारौंको आवादी रहेको यो ठाउँमा अहिले मानिसको जनसंख्या घटेर १३०० मा सीमित भएको छ । यहाँका सयौं घरहरु भूतबंगला झै खालि छन् । यहीकारण त्यहाँको सरकारलाई समेत यो क्षेत्र भूतिया शहर नहोस् भन्ने चिन्ता रहेको समाचारमा जनाइएको छ । यहीकारण त्यहाँका अधिकारीहरुले त्यहाँ खालि भएका २०० घरलाई पहिलो चरणमा यति सस्तो मूल्यमा बिक्री गर्ने निर्णय लिएको हो र प्रत्येक घरको मूल्य नेपालीमा करिब १३० रुपैयाँ तोकेको हो ।

यस्तो छ शर्त
ओलोलाईमा घर खरीद गर्न चाहनेका लागि स्थानीय अधिकारीले एउटा शर्त तोकेको छ । जसले यहाँ १३० रुपैयाँमा घर खरीद गर्छ, उसले ३ वर्षभित्र लिएको घरको मर्मत गरी आकर्षक र चिटिक्कको बनाउनुपर्नेछ । अधिकारीहरुले यहाँका प्रत्येक घरलाई निकै आकर्षक बनाउने योजना बनाएका छन्, जसका कारण मानिसहरु फेरि यहाँ बसोबास गर्न थालून् । 

कति होला खर्च ?
अधिकारीहरुले घरको मर्मत सम्भारका लागि २५ हजार डलर खर्च गर्न अनिवार्य गरेको छ । यसको अर्थ नेपाली २७ लाखको हाराहारीमा घर मर्मतका लागि खर्च गर्नुपर्ने हुन्छ । उनीहरुले यति खर्च गर्दा यहाँका हरेक घरहरु निकै आकर्षक र सुन्दर हुने बताएका छन् । घर खरीद र मर्मतपछि खरीद गर्नेले यसलाई खालि छोड्न समेत पाउने छैन । सिएनएनका अनुसार यो अफर सार्वजनिक भएपछि विश्वका कयौं मानिसले यहाँ घर खरीदको इच्छा व्यक्त गरेका छन् र हालसम्म ३ वटा घर बिक्री भइसकेको छ ।

पहिला पनि बिकेका थिए यस्ता घर
इटलीमा पहिलोपटक यति सस्तोमा घर बिक्री भएको होइन, मानिसविहीन जस्तै भएका केही ठाउँका घरहरु समेत यस्तै अफरपछि बिक्री भएका छन् । सन् २०१५ मा गांगीको सिलियन टाउनमा समेत १०० रुपैयाँमै घर खरीदको अफर निकालिएको थियो । गांगी र ओलोलाईको अवस्था उस्तै छ । त्यसो त अमेरिकामा समेत कतिपय यस्तै ठाउँका घरहरु यस्तै अफरहरुमार्फत बिक्री भएका थिए ।