काठमाण्डौ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) को आज (मंगलबार) समापन हुँदैछ ।

समापन समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो कन्फेरेन्समार्फत सम्बोधन गर्ने भएका छन् । दशरथ रंगशालामा हुने समापन समारोहलाई प्रधानमन्त्री ओलीले नेपाली र अंग्रेजी भाषामा १ घन्टा ३० मिनेट सम्बोधन गर्ने छन् ।

यसैगरी समारोहमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, दक्षिण एसियाली ओलम्पिक काउन्सिलका अध्यक्ष जीवनराम श्रेष्ठ, युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार विश्वकर्मा र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले समापन समारोहमा सम्बोधन गर्नेछन् ।

यसअघि प्रधानमन्त्री ओलीले १३ औं सागको उद्घाटन समारोह अस्पतालमा बसेर टीभीमार्फत हेरेका थिए ।

सदस्य सचिव सिलवालका अनुसार प्रधानमन्त्री ओलीले आफ्नो सम्बोधनमा पदक विजेता खेलाडीहरुलाई ‘प्रोत्साहन प्याकेज’को घोषणा समेत गर्ने छन् ।

यसअघि सरकारले सागका स्वर्ण पदक विजेतालाई ३ लाख, रजतलाई २ लाख र कास्यलाई १ लाख नगद धनराशिसहित सम्मान गर्दै आएको थियो । अब यो राशि ‘डबल’ हुन सक्ने अनुमान गरिएको छ ।

काठमाण्डौ र पोखरामा भएको तेह्रौँ सागको पदक तालिकाअनुसार भारत, नेपाल, श्रीलंका, पाकिस्तान, बंगलादेश, माल्दिभ्स र भुटान क्रमशः प्रथमदेखि सातौँ स्थानमा रहेका छन् ।

यस्तो छ पदक तालिक

  • भारत – १५९ स्वर्ण, ९१ रजत र ४४ कास्य गरी कुल २९४ पदक
  • नेपाल – ४९ स्वर्ण, ५४ रजत र ९२ कास्य गरी कुल १९५ पदक
  • श्रीलंका – ३९ स्वर्ण, ७९ रजत र ११८ कास्यसहित कुल २३६ पदक
  • पाकिस्तान – ३२ स्वर्ण, ३७ रजत र ५५ कास्यसहित कुल १२४ पदक
  • बंगलादेश – १९ स्वर्ण, ३२ रजत र ८१ कास्यसहित कुल १३२ पदक
  • माल्दिभ्स – १ स्वर्ण, ० रजत र ३ कास्यसहित कुल ४ पदक
  • भुटान – ० स्वर्ण, ६ रजत र १३ कास्यसहित कुल १९ पदक

चौधौ साग प्रतियोगिता पाकिस्तानमा हुनेछ । पाकिस्तानले तेस्रोपटक साग आयोजन गर्न लागेको हो ।