काठमाण्डौ । तेह्र वर्षको उमेरमा नेपालको स्याङ्जाबाट भागेर भारत पुगेका आचार्य बालकृष्ण उर्फ बालकृष्ण सुवेदी पहिलोपटक फोब्र्स पत्रिकाको अर्बपति सूचिमा समावेश हुन सफल भएका छन् । 

फोब्र्सले आफ्नो पछिल्लो अंकमा भारतका एकसय अर्बपतिको सूचि सम्बन्धी रिपोर्ट प्रकाशन गरेको छ । यो सूचिमा पतञ्जली आयुर्वेदका मालिक आचार्य बालकृष्णको नाम पहिलो पटक समावेश भएको हो । 

कम्पनीमा आचार्य बालकृष्णको ९७ प्रतिशत सेयर रहेको छ र यो कम्पनीको कुल नेटवर्थ ४ लाख करोड रुपैयाँ रहेको बताइएको छ । 

फोब्र्सले जारी गरेको १ सय धनी भारतीयहरुको लिस्टमा बालकृष्ण ४८ औं स्थानमा पर्न सफल भएका हुन् । फोब्र्स म्यागेजिनले आफ्नो रिपोर्टमा लेखेको छ–‘बालकृष्ण बाबा रामदेवका केटाकेटीदेखिकै साथी हुन् । दुवै मिलेर पतञ्जली आयुर्वेदलाई सन् २००६ मा सुरु गरेका थिए । यो कम्पनीमा बालकृष्णको सेयर होल्डिङ्स ९७ प्रतिशत रहेको छ ।’ 

म्यागेजिनका अनुसार हरेक वर्ष ७८० मिलियन डलरको कारोबार गर्दै आएको पतञ्जलीले टूथपेष्ट, कस्मेटिक्स आइटम, नूडल्सदेखि जामसम्म बिक्री गर्दै आएको छ । हालै यो कम्पनीले १ सय भन्दा बढी प्रकारका पूजासामाग्री र गार्मेन्ट समेत उत्पादन थाल्ने सार्वजनिक घोषणा गरिसकेको छ । पतञ्जलीको पूजा सामाग्रीको उत्पादन आगामी तिहारबाट बजारमा आउने तयारी छ ।

रिपोर्टका अनुसार रामदेवको कम्पनीमा कुनै सेयर छैन । उनी पतञ्जलीको ब्राण्ड एम्बेस्डर जस्ता मात्र हुन् । कम्पनीको सम्पूर्ण संचालन तथा व्यवस्थापनको नेतृत्व आचार्य बालकृष्णले नै सम्हाल्दै आइरहेका छन् । 

फोब्र्सका अनुसार पतञ्जली आयुर्वेदका विदेशमा ५ हजार ठाउँमा आयुर्वेद क्लिनिक रहेका छन् । यस अलावा पतञ्जलीले विश्वविद्यालय, योग तथा आयुर्वेद रिसर्च इन्स्टीच्यूट पनि संचालन गर्छ । 

को हुन् आचार्य बालकृष्ण ?


बालकृष्णको जन्म २०२९ साल साउन १९ गते भारतको हरिद्वारमा भएको थियो । बुबा जयबल्लभ नोकरीको सिलसिलामा हरिद्वारमा बसेको बेला त्यहीं नै बालकृष्णको जन्म भएको हो । बालकृष्ण जन्मिएको तीन महिनापछि उनीहरु बच्चा लिएर स्याङ्जा फर्किएका थिए ।

त्यसपछि १३ बर्षको उमेरसम्म गाउँमै बसेका बालकृष्णले पाँच कक्षासम्म वालिङ, काफलडाँडास्थित तेज प्रगति प्राथमिक विद्यालयमा पढेका थिए । १३ बर्षको उमेरमा बालकृष्ण घरबाट भागी सुरुमा नयाँ दिल्लीको गौतमनगरस्थित वेद विद्याश्रममा पुगे । पछि उनले हरिद्वारमा अध्ययन गरे ।

हरिद्वारमै आयुर्वेदमा विज्ञता हासिल गरेपछि बालकृष्ण सुवेदी आयुर्वेद शिरोमणि आचार्य बालकृष्णका रुपमा उदाएका हुन् ।