काठमाण्डौ । पछिल्लो समय सेयर बजारमा रौनक छाएको छ । बढ्दो अनलाइन कारोबारीको संख्या र नयाँ लगानीकर्ताको प्रवेशले सेयर बजार गुल्जार बन्दै गएको देखिन्छ । 

हिजो आइतबार बजारमा भारी अंकले गिरावट आयो । लगानीकर्तामा एक किसिमको सन्त्राससमेत छायो । अब बजार के हुन्छ ? यो प्रश्न आम लगानीकर्ताहरुमा मनमा खुल्दुली भइरहेको विषय पनि हो । अधिकांश लगानीकर्ताहरु बजार बढ्ने तर्क गरिरहेका छन् भने केही स्मार्ट लगानीकर्ता नेप्से परिसूचक केही तल्लो विन्दूमा आउने र बजारले सेयर किन्ने सुनौलो मौकासमेत प्रदान गर्ने आशामा देखिन्छन्।

बजार विश्लेषण गर्दा आधारभूत  र प्राविधिक विश्लेषणको उत्तिकै महत्व हुन्छ । पछिल्लो समय नेपालमा आधारभूतसँगै प्राविधिक विश्लेषणको आधारमा समेत कतिपयले खरीदबिक्रीको निर्णय लिने गर्दछन् । बजारका लागि आधारभूत विश्लेषणमा चौतर्फी सकारात्मक माहौल रहेको जानकारहरुले दाबी गरिरहँदा प्राविधिक पाटोबाट चाहिँ बजारको भविष्य कस्तो देखिन्छ ? बिजशालासँग प्राविधिक विश्लेषक विष्णु बस्यालले कुराकानी गरेका छन् । 

विश्लेषक बस्याल आज नेप्से परिसूचक १३ सय ८५ बाट बाउन्स भई १४ सय माथि नै रहनु बजारका लागि सकारात्मक रहेको बताउँछन् । परिसूचक १४ सय १५ विन्दू सँगसँगै कारोबार रकमले समेत बलियो साथ दिएको खण्डमा नेप्से परिसूचकले १ महिनाभित्रै १६ सय विन्दू चुम्ने बस्यालको प्रक्षेपण छ ।

यदि नेप्से परिसूचक १३ सय ८५ को विन्दूबाट ओरालो यात्रा तय गरे निकट समयमै परिसूचक १३ सय ५० देखि १३ सय ६० का बीच रहनसक्ने बस्यालको अनुमान छ । यदि बिक्री चापका साथ परिसूचक १३ सय ५० विन्दूबाट तल ओर्लिएको खण्डमा भने डेढ महिनाभित्रै नेप्से परिसूचक १२ सय र १२ सय ५० का बीच आउनसक्ने उनको विश्लेषण छ । 

आम लगानीकर्ता बजार बढ्ने अनुमान लगाइरहेका छन् । नेप्से परिसूचकले ओरालो गति समाउला त भन्ने जिज्ञासामा बस्याल भन्छन् -'आमलगानीकर्ताको चाहना र बजारको दिशा ठ्याक्कै उल्टो हुन्छ । अधिकांश खुद्रा लगानीकर्ताका लागि यो खतरनाकसमेत हुनसक्छ । भोल्युम बढ्दै बजार डाउन गए वियरिस ट्रेण्डमा नै जान्छ।'