काठमाण्डौ । तपाईले एकपटक सिनेमा हेरे बराबरको रकम लगानी गर्दा ७ वर्षमै करोडपति बन्ने कहिले सोच्नुुहुन्छ ? यस्तो अपेक्षा तपाईले सायदै गर्नुहुन्छ । तर, दुनियाँमा यस्तै घटना भएको छ र १ सय ५० रुपैयाँ लगानी गर्नेले ७ वर्षको छोटो अवधिमै २६ करोड रुपैयाँ कमाएका छन् । ७ वर्षअगाडि गरिएको १५० रुपैयाँ लगानी बढेर २६ करोड पुुगेपछि विश्वका कयौं देशमा यसले तहल्का मच्चाएको छ । भारत लगायतका देशले यस्तो लगानीमा यति धेरै अपत्यारिलो रिटर्न कसरी आयो भनेर अध्ययन थालेका छन् भने नेपालमा पनि यस्तो लगानी हालै प्रतिबन्धित गरिएको छ । 

सोच्दै नसोचेको विन्दूमा बिटक्वाइन
हामीले यहाँ कुरा गरिरहेका छौ बिटक्वाइनको, जसको अहिले विश्वभर खास चर्चा छ । विश्वका कयौं देशमा जस–जसले बिटक्वाइनमा लगानी गरेका थिए, उनीहरुले सपनामा पनि नसोचेको फाइदा बटुले । मिडिया रिपोर्टका अनुसार शनिवार बिटक्वाइनको मूल्य अहिलेसम्मकै उच्च ४ हजार डलर अर्थात ४ लाख ८ हजार रुपैयाँको उचाईमा पुुग्यो । करिब ७ वर्षअघि प्रति बिटक्वाइनको मूल्य २४ पैसा मात्र थियो, जो बढेर अहिले ४ लाख ८ हजार पुुगेको हो । विश्वभरमा बिटक्वाइनमा लगानी गर्नेहरुको अहिले लर्को नै लागेको संचारमाध्यमहरुले जनाएका छन् । 

एकवर्षमा ४ गुणाको वृद्धि
बिटक्वाइनको मूल्यवृद्धि निकै तीव्र र उच्च गतिमा हुने गरेको छ । गत एकवर्षको अवधिमा मात्रै यसको मूल्य ४ गुणाले बढिसकेको छ । जापानको तर्फबाट बढेको मागका कारण यसको मूल्यले नयाँ उचाई चुमिरहेको मानिएको छ । एकहप्ताको अवधिमै बिटक्वाइनको मूल्य बढेर ४ लाख ८ हजारबाट बढेर ४ लाख १६ हजारको उचाईमा पुुगेको छ । बिटक्वाइनको कुल बजार मूल्य बढेर ४.१६ लाख करोड रुपैयाँ भइसकेको छ । यो हिसाबले एकहप्ताको अवधिमै बिटक्वाइनमा ६५ हजार करोड रुपैयाँको वृद्धि भएको छ । 

धनाढ्यबीच खरिदारीको होड
सबैभन्दा महंगो मुद्राको कुरा गर्ने हो भने बिटक्वाइन डलर र पाउण्ड भन्दा पनि औधी महंगो छ । यहीकारण विश्वभरका धनाढ्यबीच बिटक्वाइन खरीदको होड नै चल्ने गर्छ । यो डिजिटल करेन्सी हो, जसले मानिसलाई बिना क्रेडिट वा क्रेडिटकार्ड जारीकर्ता वा अन्य थर्ड पार्टीको सामान तथा सेवा खरीद गर्न तथा मुद्राको आदानप्रदान गर्न अनुमति दिन्छ । बिटक्वाइनले गर्ने कुल व्यापारमा ४० प्रतिशत हिस्सा जापानको रहेको छ । 

सरकारको नियन्त्रणबाहिर
केही समयअघि नेपालको केन्द्रीय बैंकले नेपालमा बिटक्वाइनको कारोबारलाई गैरकानूनी भन्दै प्रतिबन्ध लगाइएको घोषणा गरेको छ । तर, पनि विश्वका कुनै पनि देशले यो मुद्राको कारोबार नियन्त्रण गर्न सक्दैनन् । रुपैयाँ वा डलर जस्तो यो मुद्रा छापिँदैन । यसलाई कम्प्युटरको माध्यमबाट खोजिन्छ । अनलाइनमा सोधिने केही अप्ठ्यारा प्रश्नको हल निकालेपछि बिटक्वाइन प्राप्त हुन्छ वा यसलाई खरीद समेत गर्न सकिन्छ । भारतीय न्यूज एजेन्सीहरुले छापेको एक खबरका अनुसार त्यहाँ प्रत्येक दिन अढाई हजार भन्दा बढी मानिस बिटक्वाइनमा लगानी गर्ने गर्छन । त्यहाँको केन्द्रीय बैंक, रिजर्ब बैंकले समेत यसको कारोबार नगर्न चेतावनी दिए पनि मानिसहरुले कारोबार गर्न छाडेका छैनन् । बिटक्वाइन डिजिटल करेन्सीको प्लेटफर्म पनि हो । एन्ड्रोइड अपरेटिङ सिस्टममा यसलाई डाउनलोड गर्नेको संख्या भारतमा मात्रै ५ लाख पुगिसकेको छ । 

फण्ड ट्रान्सफर, तथा सिधा लेनदेनमा प्रयोग
फण्ड ट्रान्सफर, इन्टरनेटमा हुने सिधा लेनदेन, सामान खरीदका लागि वा इन्टरनेटबाट हुने गैरकानूनी खरिदबिक्रीका लागि समेत बिटक्वाइनको प्रयोग हुने गरेको छ । बिटक्वाइन विश्वका कुनै पनि देशका केन्द्रीय बैंकको नियन्त्रणबाहिर रहेको छ। बिटक्वाइनको कारोबार कोसँग भइरहेको छ भन्ने बिषय पत्ता लगाउन पनि निकै कठीन छ । 

सरकारलाई यस्तो डर
नेपालको केन्द्रीय बैंकले बिटक्वाइनको कारोबारमा प्रतिबन्ध लगाए पनि भित्री रुपमा केही व्यापारीहरु बिटक्वाइनको गैरकानूनी कारोबारमा संलग्न रहेका हुनसक्ने सरकारी निकायहरुको आशंका छ । बिनिमय सेवा, रुपैयाँ वा अन्य कुनै मुद्राको ठाउँमा बिटक्वाइन त्यस्ता मानिसहरुले अझ पनि नेपालमा प्रयोग गरिरहेको आशंका समेत गरिएको छ । हुन त केन्द्रीय बैंकले प्रहरीसँग मिलेर यसको खोजी पनि जारी राखेको छ, तर यथार्थ पत्ता लगाउन निकै कठीन छ । डिजिटल मुद्रा बिटक्वाइनको बढ्दो लोकप्रियताले नेपाल सरकारका सम्बद्ध निकायलाई समेत तनावित बनाएको स्रोतहरु बताउँछन् ।

धोखाधडीको धन्दा गर्ने मानिसहरुले बिटक्वाइनलाई अझ बढी प्रचलनमा ल्याउने र सोझालाई राम्रो रिटर्नको आशा देखाएर फसाउने आशंका समेत नियामकहरुको छ । डिजिटल संसारमा फिरौति असूलीका लागि बिटक्वाइनको साहारा लिने काम समेत हुनसक्ने भन्दै नेपालजस्तै धेरै देशका सत्ता संचालकहरु डराइरहेका छन् । स्मरणरहोस्, रेन्समवेयर भाइरसको माध्यमबाट विश्वभर साइबर आक्रमणपछि फिरौति समेत बिटक्वाइनमै मागिएको थियो ।