काठमाण्डौ । नेप्से परिसूचकमा उछाल आई बजार १५०० को विन्दू पार गरेको छ । 

आइतबार सुरुवातदेखि नै उछालको गतिमा दौडिएको बजार कारोबारको २ घण्टा र केही मिनेटको समयमा १५०० को विन्दू पार गर्न सफल भएको हो । 

यो समाचार तयार पार्दासम्म नेप्से परिसूचकमा ७६.६ विन्दूको बढोत्तरीसँगै नेप्से परिसूचक १५०२.१७ को विन्दूमा पुगेको छ । 

यो अवधिसम्म २ अर्ब बढीको सेयर कारोबार भइसकेको छ । 

बजारमा एकैदिन ४.७१ प्रतिशतको बढोत्तरीको निकै दुर्लभ घटना भएको छ । यस्तै, कारोबार रकम समेत २ घण्टामै २ अर्ब माथि पुग्ने अर्को रेकर्ड समेत आजै ब्रेक भएको छ । 

राम्रा र बलिया कम्पनीमा उच्च खरीद चाप भएका कारण सेन्सेटिभ इण्डेक्स पनि एकैदिन १५.६१ अंकले बढेको छ । यो पनि नयाँ रेकर्ड हो । 

समग्र कारोबार मापक फ्लोट इण्डेक्समा यो अवधिसम्म ५.२९ अंकको बढोत्तरी भइसकेको छ । 

यो अवधिमासम्म व्यापार समूह ९.१८ प्रतिशतले बढिसकेको छ । यस्तै, वाणिज्य बैंकहरुको समूह, बैंकिङ समूह ६.५ प्रतिशतले बढिसकेको छ । 
विकास बैंक समूहमा ४.३२ प्रतिशत, जलविद्युत समूहमा ४ प्रतिशत, माइक्रोफाइनान्स र जीवन बिमा समूहमा ३ प्रतिशत भन्दा बढीको बढोत्तरी भइसकेको छ । 

हराभरा बजारमा एनएमबी बैंकले सबैभन्दा बढी ८ करोड ९७ लाख बढीको कारोबार गरेको छ । नेपाल लाइफ इन्स्योरेन्सले साढे ७ करोड, हिमालयन डिस्टीलरीले ७ करोड बढीको कारोबार गरिसकेका छन् । 

यो अवधिसम्म ६ वटा कम्पनीको सेयर मूल्यमा पोजिटिभ सर्किट लागिसकेको छ । यो दिन साल्ट टे«ेडिङ कर्पोरेसन, फ्रस्ट माइक्रोफाइनान्स, एनएमबी बैंक, कालिका माइक्रो क्रेडिट, आरएसडिसी लघुवित्त र मुक्तिनाथ विकासबैंकको मूल्यमा पोजिटिभ सर्किट लागिसकेको छ ।