काठमाण्डौ । इक्रा नेपालले ग्रेड फोरको रेटिंग प्रदान गरेको हिमालयन पावर पार्टनर लिमीटेडले खुलाएको २१ करोड ३० लाख मूल्यको प्राथमिक निश्कासन(आइपीओ)मा ८ अर्ब बढीको आवेदन परेको छ ।

यो कम्पनीको आइपीओमा आवेदन दिने सोमबार अन्तिम दिन थियो । आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकको काम गरिरहेको ग्लोबल आइएमई क्यापिटल लिमीटेडका अनुसार १ लाख ६० हजार आवेदकबाट देशभरबाट ८ अर्ब बढीको आवेदन परेको हो ।

चौथो तथा अन्तिम दिन मात्रै आस्वामार्फत ३ अर्ब ३२ करोड र परम्परागत प्रणालीबाट १ अर्ब ७ करोड बढीको प्रस्ताव परेको थियो । ९६ हजारको हाराहारीमा आवेदन अन्तिम दिन मात्रै परेको छ ।

पहिलो दिन अर्थात असार १ गते आइपीओमा १० हजार २ सय आवेदकबाट ६० करोड बढीको आवेदन परेको थियो । यस्तै दोश्रो दिन १४ हजार ८ सय २० आवेदकबाट ९० करोड ६४ लाख, तेश्रो दिन ३९ हजार ५ सय आवेदकबाट २ अर्ब २८ करोड र चौथो दिन ४ अर्ब ४० करोड बढीको आवेदन परेको बताइएको छ ।

कुल निश्कासित २१ लाख ३० हजार कित्ता आइपीओमध्ये सर्वसाधारणका लागि १९ लाख ८१ हजार ६ सय ७५ कित्ता छुट्याइएको छ । कम्पनीले ४२ हजार ६ सय १७ कित्ता आफ्ना कर्मचारीका लागि र १ लाख ६ हजार ५ सय ४२ कित्ता सेयर १० वटा म्युचुअल फण्डहरुका लागि छुट्याएको छ ।

एक विश्लेषकको भनाईमा दोश्रो बजारमा तत्काल लगानीकर्ता खासै फाइदा हुन नदेखेको र दीर्घकालीन लगानीमा राम्रो हुने आशामा समेत यो जलविद्युत कम्पनीको आइपीओमा अचाक्ली आवेदन परेको देखिएको छ ।

‘तर, धेरै भने कम्पनीको अवस्था नै नबु्झी हो हो रेको भरमा दौडेका देखिन्छ ।’ ती विश्लेषकले भने–‘यस्तो कम्पनीमा कुरै नबुझी आइपीओ भर्दा लगानी डूब्न पनि सक्छ, किनकि सबै आइपीओले राम्रै रिटर्न दिन्छ भन्ने कुनै ग्यारेण्टी हुन्न ।’ जलविद्युत कम्पनीको सेयरमा अहिले हतारिएर जति पैसा लगाए पनि त्यसले रिटर्न दिन केही वर्ष समय लाग्ने र तत्काल ठूलो रिटर्न पाउने संभावना समेत निकै न्यून हुन्छ ।

यो कम्पनीको आइपीओमा इच्छुक लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था मिलाइएको थियो ।

यो कम्पनीको चुक्तापुँजी ८५ करोड २३ लाख रुपैयाँ रहेको छ । आइपीओपछि १ अर्ब ६ करोडको उचाईमा पुग्नेछ । यो कम्पनीको अधिकृत पुँजी २ अर्ब ७० करोड रुपैयाँ रहेको छ ।

आइपीओपछि कम्पनीमा संस्थापक आयोजना प्रभावित क्षेत्रका बासिन्दा र सर्वसाधारणहरुको सेयर स्वामित्व संरचना ७०ः१०ः२० मा रुपान्तरण हुनेछ ।

हिमालयन पावर पार्टनर लिमीटेडले लमजुङको दोर्दी खोलामा २७ मेगावाटको दोर्दी जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।