-भक्तराज रसाइली 
काठमाण्डौ । १६ वर्षअघि नेपाल बैंकको सेयर दोस्रो बजारबाट खरीद गरे पनि आफ्नो नाममा नामसारी गर्न नसकेका पीडितलाई न्याय दिलाउने नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले प्रतिबद्धता जनाएको छ ।

बिजशालासँग कुरा गर्दै नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले यस्तो प्रतिबद्धता जनाएका हुन् । 

उनले १६ वर्षअघि नेपाल बैंकको सेयर किनेर समेत हालसम्म नामसारी नभई पीडामा रहेका सुनसरीको धरानका लगानीकर्ता मनिषकुमार लोहियालाई न्याय दिलाउन सक्दो पहल गर्ने वचन दिए । 

नेपाल बैंकले यसअघि निश्कासन गरेका १ः९.५ र १०ः२.३७ अनुपातका हकप्रद पाउने लोहियाको हक भएकोले त्यो समेत दिलाएर सेयर नामसारीको काममा सहयोग गरिदिने उनले बताए । लोहिया साँच्चिकै धेरै पीडित भएको पाइएकोले नेपाल बैंक, आरटीएस सिभिल क्यापिटल, ब्रोकर र पीडित लगानीकर्ता सबै पक्षलाई डाकेर छलफल गर्ने र यो समस्या समाधान गर्ने प्रतिबद्धता समेत जाहेर गरे ।

गत सोमबार बिजशालामा १६ वर्षअघि नेपाल बैंकको ७ सय कित्ता सेयर किने पनि हालसम्म नामसारी नभएको र पीडित मनिसकुमार लोहिया न्यायका लागि रुँदै कराउँदै हिँडे पनि कसैले चासो नदिएको बिषयमा समाचार प्रकाशन भएको थियो ।

यो समाचार पढेका नेप्सेका वरिष्ठ अधिकारी निरञ्जन फूयाँलले लोहियाको समस्या अझैसम्म समाधान नभएकोमा आश्चर्य प्रकट गरे ।

पीडित लगानीकर्तालाई नेपाल बैंकको सेयर नामसारी हुनुपर्ने भन्दै नेप्सेले धितोपत्र ऐन, २०६३ बमोजिम बैंकलाई पत्राचार गरेको बताउँदै फुयाँलले बिजशालासँग भने–‘हामीले पत्र लेखिसकेपछि बैंकले नामसारी गरिदिएर समाधान भइसक्यो होला भन्ने सोचेका थियौं ।’ 

नेप्सेले पछिल्लो समय ऐनलाई टेकेर कडा चिठी लेख्न नेपाल बैंकका कर्मचारीले नै भनेपछि पत्र काटेको फुयाँलले खुलाए । 

यो प्रकरणमा नेप्सेले नेपाल बैंकलाई पठाएको पत्रको प्रत्युत्तर समेत हालसम्म नपाएकाले बैंक नै दोषी देखिएको उनको आशय थियो ।

यसरी धितोपत्र बजारको सञ्चालक नेप्सबाट खरिद गरिएका धितोपत्र खरिदकर्ताका नाममा नआए बजारको विश्वासमा कमी आई नेप्सेकै गरिमा र साखमा समेत नकारात्मक प्रभाव पर्ने विश्लेषकहरु बताउँछन् ।

बजार सञ्चालकको मुख्य जिम्मेवारी पाएको नेप्सेले बिक्री भएको सम्पत्तिको जिम्मेवारी लिनुपर्ने र अझ मनिस लोहियाको विषयमा कम्पनी स्वयम्ले भेरिफाइड गरेको सेयर हालसम्म खरिदकर्ताको हातमा नपर्नुले नेप्से, कम्पनी र ब्रोकरहरुकै भूमिकामाथि पनि कतिपयले प्रश्न उठाइरहेका छन् ।

नियामक धितोपत्र बोर्ड समेतले यस्तो किसिमको मुद्धामा चासो र सक्रियता नदेखाइदिंदा समेत सर्वसाधारणको लगानी जोखिममा पर्दै गएको देखिन्छ ।

सम्बन्धित समाचार:

१६ वर्षअघि किनेको नेपाल बैंकको सेयर अझै नामसारी भएन, रुँदै हिँडिरहेका छन् लगानीकर्ता