काठमाण्डौ । आइतबार विभिन्न सरकारी निकाय तथा संस्थानले १ हजार ७ सय ६८ जनाका लागि नयाँ र आकर्षक जागिरको अवसर खुलाएका छन् । 
 

मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयले सहायक चौथो र पाँचौ तहमा १ हजार ८३ का लागि, शिक्षक सेवा आयोगले पाँचवटै विकास क्षेत्रमा काम गर्ने गरी विभिन्न विषयमा माध्यमिक तह तृतीय श्रेणीका लागि ६ सय ११ जना र दुग्ध विकास संस्थानले अधिकृत स्तर र सहायकस्तरतर्फ ७४ जनाका लागि जागिरको अवसर खुलाएको छ । 
 

मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय हेटौडाले सहायक चौथो र पाँचौ तहका विभिन्न पदमा करार सेवाबाट काम सुरु गर्ने गरी ८ पदमा १ हजार ८३ जनाका लागि जागिरको अवसर खुलाएको छ । 
 

आइतबार पदपूर्ति सम्बन्धी सूचना प्रकाशित गर्दै निर्देशनालयले ८ पदमा १ हजार ८३ जनशक्ति माग गरेको हो । 
 

हेल्थ असिस्टेन्ट पदमा ४ सय जनाका लागि जागिरको अवसर खुलाइएको छ । यस्तै, स्टाफ नर्समा १३ जना, अनमीतर्फ ३३२ जना, अहेबतर्फ ३३१ जना, ल्याब असिस्टेन्टतर्फ ३ जना, अन्य दुई पदतर्फ २ जना र माइक्रोस्कोपीतर्फ २ जनाका लागि दरखास्त आह्वान गरिएको हो । 
 

नेपाल स्वास्थ्य सेवा ऐन २०५३ तथा नियमावली २०५५ अनुसारको उपरोक्त पदका लागि तोकिएको न्यूनतम शैक्षिक योग्यता हुनुपर्ने उल्लेख छ । मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय, हेटौडामा सूचना प्रकाशित भएको १५ दिनभित्र दरखास्त दिनुपर्ने र सहायक चौथोका लागि ३ सय तथा पाँचौका लागि ५ सय रुपैयाँ परीक्षा दस्तुर लाग्ने बताइएको छ । 
 

यता, काठमाण्डौको लैनचौरमा केन्द्रीय कार्यालय रहेको दुग्ध विकास संस्थानले समेत १८ पदका लागि ७४ जना जनशक्ति माग गर्दै योग्यबाट दरखास्त आह्वान गरेको छ । 
 

संस्थानले टेक्निकल अफिसर तह ७ का लागि ३ जना(खुल्ला २ र महिला १), डेरी टेक्नोलोजिष्ट पदका लागि ५(खुल्ला ३, महिला १ र जनजाति आदिवासी १), अर्थविज्ञ तह ७ को पदमा खुल्लातर्फ १ जना, सहायक लेखा अधिकृत छैठौ तहका लागि ४ जना(खुल्ला २, महिला १ र आदिवासी जनजातितर्फ १),  शाखा अधिकृत, सहायक बजार अधिकृत तह ६ मा ३ जना( खुल्ला २ र महिला १)का लागि दरखास्त आह्वान गरिएको छ । 
 

यसैगरी, सहायकस्तरतर्फ पनि विभिन्न पदमा दरखास्त आह्वान गरिएको छ । ५ औं तहको वरिष्ठ प्रशासन सहायक तथा वरिष्ठ बजार सहायकतर्फ ६ जना, लेखापालमा ४ जना, वरिष्ठ कम्प्युटर अपरेटरमा १ जना, सुपरभाइजरमा ४ जना, सिनियर चिज मेकरतर्फ २ जना, टेक्निकल असिस्टेन्टतर्फ ८ जना माग गरिएको छ । यस्तै चौथो तहका लागि फोरम्यान २, चीज मेकर १, जुनियर टेक्निकल असिस्टेन्ट ३ जना, कम्प्युटर अपरेटर १, नायव लेखापाल २, प्रशासन सहायक तथा बजार सहायकतर्फ ४ जना जनशक्ति माग गरिएको छ । प्राविधिक समूहमा काम गर्ने गरी तहविहीन डेरी सहायक पदका लागि २० जनाका लागि जागिरको अवसर खुलाइएको छ । 
 

सबै पदका लागि चैत २९ गतेसम्म र दोब्बर दस्तुर तिरी बैशाख ६ गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ । अधिकृत स्तरका लागि १ हजार, सहायक स्तरका लागि ५ सय परीक्षा दस्तुर लाग्ने जनाइएको छ । लिखित, प्रयोगात्मक र अन्तर्वार्तामा सहभागी भई उत्तीर्ण हुनुपर्ने उल्लेख छ। तोकिएको मितिमा बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म लैनचौरस्थित संस्थानको केन्द्रीय कार्यालयमा दरखास्त दिन सकिने पनि उल्लेख छ । 
 

यसैगरी, दुग्ध विकास संस्थानले आन्तरिक प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्तिका लागि तहविहीन डेरी सहायक पदमा १९ जनाबाट समेत आवेदन माग गरेको छ । 
 

सयौंलाई शिक्षक बन्ने अवसर
यसैगरी, आइतबार नै सूचना प्रकाशन गरी शिक्षक सेवा आयोगले समेत माध्यमिक तह, तृतीय श्रेणीमा शिक्षक पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । 

 

नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक, स्वास्थ्य जनसंख्या तथा वातावरण, अर्थशास्त्र, कार्यालय संचालन तथा लेखा, कम्प्युटर विज्ञान, शिक्षा, संस्कृत भाषा, संस्कृत साहित्य, वेद, कृषि शिक्षा लगायतका बिषयका शिक्षक माग गरिएको हो । 
 

नेपाली विषयका लागि खुल्ला र आरक्षणमा गरी पूर्वाञ्चलका लागि १७, मध्यमाञ्चलका लागि २५, पश्चिमाञ्चलका लागि ३५, मध्यपश्चिमाञ्चलका लागि १४ र सुदुरपश्चिमाञ्चलका लागि १६ शिक्षक माग गरिएको छ । 
 

यसैगरी, अंंग्रेजी बिषयका लागि पूर्वाञ्चलमा २६, मध्यमाञ्चलमा ३०, पश्चिमाञ्चलमा ४३, मध्यपश्चिमाञ्चलमा १७ र सुदुरपश्चिमाञ्चलमा १२ शिक्षक माग गरिएको छ । 
 

गणित बिषयका लागि पूर्वाञ्चलमा २१, मध्यमाञ्चलमा २६, पश्चिमाञ्चलमा २१, मध्यपश्चिमाञ्चलमा ११ र सुदुरपश्चिमाञ्चलमा ९ जना शिक्षक माग गरिएको छ । 
 

विज्ञान बिषयका लागि पूर्वाञ्चलमा ५७, मध्यमाञ्चलमा १९, पश्चिमाञ्चलमा ४९, मध्यपश्चिमाञ्चलमा १५ र सुदुरपश्चिमाञ्चलका लागि १० जना शिक्षक माग गरिएको छ । 
 

सामाजिक विषयका लागि पूर्वाञ्चलमा १६, मध्यमाञ्चलमा २८, पश्चिमाञ्चलमा २५, मध्यपश्चिमाञ्चलमा १५ र सुदुरपश्चिमाञ्चलमा ९ जना शिक्षक मागिएको छ । 
 

आयोगले स्वास्थ्य, जनसंख्या तथा वातावरण विषयका लागि मध्यमाञ्चलमा ५, पश्चिमाञ्चलमा १ र मध्यपश्चिमाञ्चलमा १ जना शिक्षक माग गरेको छ ।
 

यस्तै, अर्थशास्त्रका लागि पश्चिमाञ्चल विकास क्षेत्रमा ६ जना शिक्षक माग गरिएको छ । 
 

कार्यालय संचालन तथा लेखातर्फ पूर्वाञ्चलमा ३, मध्यमाञ्चलमा १२, पश्चिमाञ्चलमा ३, मध्यपश्चिमाञ्चल र सुदुर पश्चिमाञ्चल १ १ जनशक्ति माग गरिएको छ । 
 

कम्प्युटर विज्ञानतर्फ पश्चिमाञ्चलका लागि ३ जना शिक्षक माग गरिएको छ भने शिक्षाका लागि सोही क्षेत्रमा २ जना शिक्षक माग गरिएको छ । पश्चिमाञ्चलकै लागि संस्कृत भाषाका लागि २, संस्कृत साहित्यका लागि मध्यमाञ्चलतर्फ २ र सुदरपश्चिमाञ्चलका लागि १ जना शिक्षक माग गरिएको छ । 
 

पश्चिमाञ्चलका लागि वेदतर्फ १ र कृषि शिक्षातर्फ १ जना शिक्षक माग गरिएको आयोगले प्रकाशन गरेको सूचनामा उल्लेख छ । 
 

माग गरिएका सबै शिक्षकहरुका लागि लिखित र अन्तर्वार्ता परीक्षा संचालन गरिनेछ । सम्बन्धि क्षेत्रीय शिक्षा निर्देशनालयले तोकेका स्थानमा गएर आवेदकले परीक्षा दिनुपर्ने छ । सबै विषयका लागि परीक्षा दस्तुर १ हजार र समावेशीका लागि प्रति समूह थप रु. ६०० रुपैयाँ बुझाउनुपर्नेछ । 
 

पूर्वाञ्चलका लागि क्षेत्रीय शिक्षा निर्देशनालय धनकुटा र जिल्ला शिक्षा कार्यालय मोरंग, मध्यमाञ्चलका लागि जिल्ला शिक्षा कार्यालय ललितपुर र क्षेत्रीय शिक्षा निर्देशनालय हेटौडा, पश्चिमाञ्चलका लागि क्षेत्रीय शिक्षा निर्देशनालय पोखरा र जिल्ला शिक्षा कार्यालय रुपन्देही, मध्यपश्चिमाञ्चलका लागि क्षेत्रीय शिक्षा निर्देशनालय सुर्खेत र जिल्ला शिक्षा कार्यालय दाङ, सुदुरपश्चिमाञ्चलका लागि क्षेत्रीय शिक्षा निर्देशनालय दिपायल र जिल्ला शिक्षा कार्यालय धनगढीलाई दरखास्त फारम संकलन केन्द्र तोकिएको छ । 
 

इच्छुकहरुले चैत २९ गतेसम्म र दोब्बर दस्तुर तिरेर बैशाख ६ गतेसम्ममा दरखास्त दिन सकिने उल्लेछ । सबै पदका लागि लिखित परीक्षा आगामी असार ४ गते शनिवार बिहान ११ बजेदेखि तोकिएको छ । सबै पदका लागि सम्बन्धित बिषयमा स्नातक तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी शिक्षा विषयमा कम्तीमा १० महिने तालिम लिएको हुनुपर्ने उल्लेख छ ।