काठमाण्डौ । नेपाल हस्तकला महासंघले आयोजना गरेको १७ औँ हस्तकला व्यापार मेला तथा १५ औँ हस्तकला प्रतियोगिता सम्पन्न भएको छ । 

प्रतियोगितामा विजयी तथा उत्कृष्ट प्यभिलियन, उत्कृष्ट स्टल र उत्कृष्ट वस्तु उत्पादकलाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको छ । मेलाको अवसरमा आयोजना गरिएको दुई बिधाका प्रतियोगिता अन्तर्गत विजयी कलाकारहरुलाई उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले पुरस्कृत गरे । 

परम्परागत विधा अन्तर्गत तामा तथा पित्तलका भाँडाकुडा बनाउनेमा प्रकाश ताम्राकारले प्रथम हुँदै ५० हजार नगद पुरस्कार गरे भने विशाल ताम्राकारले द्धितीय हुँदै नगद ३० हजार प्राप्त गरे । त्यस्तै चन्द्रबहादुर ताम्राकारले तृतीय हुँदै नगद २० हजार प्राप्त गरे । 

यसैबीच समसामयिक विधाअन्तर्गत फरक क्षमता भएका बीचको चित्रकला प्रतियोगिताका उत्कृष्ट कलाकारलाई पनि पुरस्कृत गरिएको छ । यस विधामा प्रथम भएका राघब पोख्रेललाई नगद ५० हजारसहित पुरस्कृत गरियो भने द्धितीय भएका लक्ष्मीभक्त भासिमालाई  ३० हजार नगदसहित पुरस्कृत गरियो । त्यस्तै रश्मी अमात्य तृतीय भइन् । उनलाई नगद २० हजार प्रदान गरिएको थियो । 
 
त्यस्तै अन्य पुरस्कृत हुनेहरुमा उत्कृष्ट प्यभिलियनतर्फ फेयर ट्रेड समूह नेपाललाई नगद रु एक लाखसहित पुरस्कार प्रदान गरिएको थियो भने उत्कृष्ट स्टलतर्फ नेपाल हस्तकला उत्पादक संघ काठमाडौँलाई नगद २५ हजारसहित पुरस्कृत गरिएको थियो । 

त्यसैगरी उत्कृष्ट बस्तु उत्पादनतर्फ पहिलो, दोस्रो र तेस्रोलाई पनि नगदसहित पुरस्कृत गरिएको थियो । 

पुरस्कृत हुनेहरुमा आरबी ह्याण्डस् क्राफ्टका रामजी सुनारले नगद २० हजारसहित प्रथम पुरस्कार प्राप्त गरे भने नेपाली डी कलेक्सनका मीनु बज्राचार्यले नगद १५ हजारसहित दोस्रो पुरस्कार प्राप्त गरिन् । जसलाई कल्पना क्राफ्टले प्रायोजन गरेको थियो । 

तृतीय पुरस्कार भने अल्लो लेडी ब्याग उत्पादक रीतु सौगातलाई नगद १० हजारसहित पुरस्कार प्रदान गरिएको थियो जसलाई एभरेष्ट फेशनले प्रायोजन गरेको थियो । 

सोही अवसरमा प्रतियोगितामा सहभागी सबैलाई प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा दुबै विधाका गरी ३१ जना सहभागी भएका थिए  

विशेषगरी परम्परागत कला तथा बस्तुहरुको जगेर्ना गर्नुका साथै फरक क्षमता भएका व्यक्तिहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको नेपाल हस्तकला महासंघका उपाध्यक्ष एवं १५ औँ हस्तकला प्रतियोगिताका संयोजक राजमान बज्राचार्यले जानकारी दिए ।