काठमाण्डौ । विश्व चर्चित ईकमर्स कम्पनी अमेजनका संस्थापक तथा सीइओ जेफ बेजोसले १८ वर्ष पुरानो रेकर्ड तोडिदिएका छन् । ब्ल्याक फ्राइडेमा भएको महासेलबाट जेफ बेजोसको सम्पत्ति बढेर १०० अर्ब डलरको उचाई पार गरेको छ । यस्तो घटना १८ वर्षपछि भएको हो, जहाँ विश्वको कुनै अर्बपतिको सम्पत्ति १०० अर्ब(१ खर्ब) डलर माथि पुुगेको होस् । यसअघि सन् १९९९ मा बिल गेट्सको सम्पत्ति यही उचाईमा पुुगेको थियो । 

ब्लुमबर्गका अनुसार शुक्रबारको ब्ल्याक फ्राइडेको महासेलपछि अमेजनको सेयरमा तीव्र बढोत्तरी भयो र एक दिनमै बेजोसले २४ हजार करोड रुपैयाँ भन्दा बढी धन आर्जन गरे । 

यो बढोत्तरीसँगै बेजोसको नेटवर्थ १०० अर्ब डलरमाथि पुुगेको बताइएको छ । यसअघि उनको कुल सम्पत्ति ९७.९ अर्ब डलरमा सीमित थियो । 

अमेजनको सेयरमा ५८% को बढोत्तरी
रिपोर्टअनुसार यो वर्ष अमेजनको सेयरमा ५८ प्रतिशतको तीव्र बढोत्तरी भएको छ र यहीकारण जेफ बेजोसको सम्पत्ति समेत अपत्यारिलो गतिमा बढ्न पुुग्यो । रिपोर्ट अनुसार यो वर्ष मात्र बेजोसको सम्पत्ति ३४ अर्ब डलरभन्दा बढी वृद्धि भयो । 

बेजोसले यही वर्ष बिल गेट्सलाई पछाडि पार्दै विश्वकै धनी व्यक्तिको रेकर्ड बनाउन सफल भएका थिए । हाल बिल गेट्सको कुल सम्पत्ति ८९.१ अर्ब डलर रहेको छ । जेफ बेजोसको सम्पत्ति बिल गेट्सकोभन्दा ११ अर्ब डलरले बढी रहेको देखिएको छ । 

बेजोस सन् १९९८ मा कम्पनी स्टक मार्केटमा सूचिकृत भएसँगै अर्बपति बनेका थिए । त्यसबेला वारेन बफेट विश्वकै दोश्रो धनी व्यक्ति थिए । लगभग २० वर्षपछि आजको दिनमा बेजोसको सम्पत्ति बफेटको भन्दा १०० हजार करोड रुपैयाँ भन्दा बढी रहेको छ ।

के हो ब्ल्याक फ्राइडे ?
यो नोभेम्बर महिनाको चौथो शुक्रबार हो । यो नाममा एकदिन हो, तर चारदिने विशेष पर्व हो । यो एकदिन पहिला बिहीबार ‘थ्याङ्स गिभिङ डे’बाट सुरु भएर आइतबारसम्म चल्छ । यो पर्वसँगै क्रिस्टमसको खरिदारी समेत सुरु हुने गर्छ । खासगरी शुक्रबार नै ज्यादा खरिदारी हुन्छ । यो बेलामा इकमर्स कम्पनी मालामाल बन्ने गर्छन् । अमेरिकामा चर्चित यो पर्वले भारत र नेपालमा समेत निकै तीव्र गतिमा ठाउँ पाइरहेको छ ।