काठमाण्डौ । हालसम्म आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमासको बित्तीय विवरण सार्वजनिक गर्ने १९ वाणिज्य बैंकमध्ये हिमालयन बैंक तेश्रो बन्न सफल भएको छ। यो बैंकले समीक्षा अवधिमा २ अर्ब १७ करोड खूद नाफा आर्जन गरेको हो । 

यसअघि नबील बैंक ३ अर्ब ६२ करोडसहित पहिलो र २ अर्ब ७७ करोडसहित कृषि विकास बैंक दोश्रो स्थानमा छन् । 

अघिल्लो वर्ष यही अवधिमा हिमालयन बैंकको नाफा १ अर्ब ९३ करोडमा सीमित थियो । यो बैंकले खूद नाफालाई पहिलोपटक २ अर्ब माथि पुर्याएको हो । 

बैंकको खूद ब्याज आम्दानीमा सामान्य मात्र बढोत्तरी भएको छ । अघिल्लो वर्ष ३ अर्ब ४४ करोड रहेको यस्तो आम्दानी यो वर्ष ३ अर्ब ७६ करोड रुपैयाँ पुुगेको छ । 

यो बैंकले संचालन मुनाफातर्फ पनि औसत मात्र प्रगति गर्यो । अघिल्लो वर्ष २ अर्ब २९ करोड रहेको यस्तो नाफा बढेर यो वर्ष २ अर्ब ४९ करोडको विन्दूमा पुुगेको छ । 

हिमालयन बैंकले यो अवधिमा ९२ अर्ब ८८ करोड निक्षेप संकलन गरी ७७ अर्ब ६५ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा ८७ अर्ब ३३ करोड निक्षेप संकलन गरी ६७ अर्ब ७४ करोड कर्जा परिचालन गरेको थियो । 

जगेडाकोषमा यो बैंकले निकै ठूलो फड्को मारेको छ। ऋघिल्लो वर्षको यही अवधिसम्म २ अर्ब ९७ करोड रुपैयाँ रहेको कोषमा समीक्षा अवधिमा ५ अर्ब २७ करोड रुपैयाँ पुुगेको छ । हाल यो बैंकको चुक्तापूँजी ६ अर्ब ४९ करोड रुपैयाँ रहेको छ । बैंकले बोनस दिएरै चुक्तापूँजी आरामले ८ अर्ब पुर्याउने आधार तयार गरेको छ । 

बैंकको कर्मचारी खर्चतर्फ भने भारी वृद्धि भएको देखिएको छ, यो व्यवस्थापन चिन्ताको बिषय हो । अघिल्लो वर्ष ९० करोड ८४ लाखमा सीमित कर्मचारी खर्च १ अर्ब ५ करोड पुुगेको छ । 

बैंकले १.२३ प्रतिशतको अनुपातमा रहेको निस्क्रिय कर्जालाई घटाएर ०.८७  प्रतिशतमा झारेको छ । २.२७ प्रतिशत रहेको कस्ट अफ फण्ड बढेर ३.९९ प्रतिशत पुुगेको छ । 

यो बैंकको प्रति सेयर आम्दानी ३३.३३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १८१.२५ रुपैयाँ र मूल्य आम्दानी अनुपात २६.४३ गुणा कायम भएको छ । पूँजीवृद्धि हुँदा समेत हिमालयन बैंकले प्रति सेयर आम्दानीलाई भने काबुमै राख्न सकेको देखिन्छ ।