काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसको प्रभावका कारण इरानको मुद्रामा असोचनीय गिरावट आइरहेको छ। 

कोरोनाकालमा अमेरिकी डलर बलियो बन्दा इरानको मुद्रा रियालमा असोचनीय गिरावट आइरहेको हो। बोनबस्ट डट कमका अनुसार सोमबार १ डलरको विनिमय दर २ लाख १५ हजार रियाल भएको छ। यो आधिकारिक दर ४२ हजार रियालभन्दा करिब ५ गुना अधिक हो। 

समाचार एजेन्सी रोयटर्सका अनुसार पछिल्लो केही सातादेखि रियालमा जारी गिरावटलाई स्थिरता दिन त्यहाँको सेन्ट्रल बैंकले लाखौँ डलर बजारमा पठाउने निर्णय गर्यो। त्यहाँका गर्भनर अब्दुलननसिर हेमत्तीले यो निर्णयलाई ‘बुद्धिमानी र सही दिशानिर्देश’ भएको बताए। उनले आफूहरुले पर्याप्त मात्रामा विदेशी मुद्रा सञ्चित रहेको दाबी गरेका छन्।

अर्थशास्त्रीहरुका अनुसार कोरोना महामारीका कारण उत्पन्न आर्थिक संकटमा इरानको चालु खाता र राजकोषमा घाटा भइरहेका कारण सञ्चित विदेशी मुद्राको प्रयोग जरुरी भइसकेको छ। इन्स्टिच्युट अफ इन्टरनेसन फाइनान्समा मिडिल इस्ट एन्ड नर्थ अफ्रिकाका लागि मुख्य आर्थिक सल्लाहकार ग्याब्रिस इर्याडियनका अनुसार बजारमा लगानीका लागि इरानसँग सीमित विदेशी मुद्रा सञ्चित छ। ‘त्यसैले अब अमेरिकाको प्रतिबन्धका अलावा अन्तर्राष्ट्रिय समुदायबाट अलग हुनुपर्दा अब आउने दिनमा कुनै पनि प्रकारको आर्थिक गिरावट रोक्न सम्भव छैन’, उनले भने। 

सन् २०१५ मा इरानले अमेरिकालगायत ६ राष्ट्रसँग एउटा न्युक्लियर डिल साइन गरेको थियो। तर सन् २०१८ मा अमेरिकाले उक्त डिल रद्द गर्यो र इरानमाथि पुनः प्रतिबन्ध लगायो। यस कारण पनि इरानी मुद्राको मूल्यमा लगभग ७० प्रतिशत गिरावट आएको छ।

सरकारले आयात खर्चको बोझ कम गर्नका लागि थुप्रै एक्सचेन्ज (विनिमय) दर तय गर्ने कोसिस गर्यो तर फ्री मार्केटमा सेन्ट्रल बैंकले हस्तक्षेप गर्दा पनि रियालको गिरावट जारी नै रहेको छ। – एजेन्सी