- तीर्थ भट्टराई 

काठमाण्डौ । चालु आर्थिक वर्ष २०७५र७६ मा नेपालमा १९५ मेगावाट विद्युत् थप भएको छ । सो विद्युत् थप भएसँगै मुलुकको कुल विद्युत्जडित क्षमता एक हजार ३२५ मेगावाट पुगेको छ, जुन अघिल्लो आवको तुलनामा ७७ प्रतिशतले वृद्धि हो । 

त्यस्तै ६६ केभीभन्दा बढी क्षमताको ७५७ किमी प्रसारण लाइन निर्माण सम्पन्न भएको सरकारले जनाएको छ । प्रधानमन्त्रीबाट चालु आवमा ‘जनताको जलविद्युत् कार्यक्रम’ शुभारम्भ गरिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा बिहीबार भएको मन्त्रालयगत वार्षिक समीक्षा बैठकमा चालु आवमा चार लाख २० हजार घरधुरीमा विद्युत् सेवा पु¥याइएको सम्बन्धित मन्त्रालयका सचिवले जानकारी दिनुभयो । 

पूर्वाधारतर्फ यस अवधिमा भने ९१५ किलोमिटर सडक कालोपत्रे भएको छ । त्यस्तै एक हजार ५० किमी सडक ग्राभेल भएको र ठूला साना गरी कूल २४३ पुल बनेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । 

त्यस्तै माटे सडक ३१५ किमी बनेको र ४२१ किमी रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन तयार भएको मन्त्रालयले जनाएको छ । जयनगर–जनकपुर–कुर्था ३५ किमी रेललाइन तथा रेल्वे स्टेशन तयार भई आगामी असोजसम्म सञ्चालन हुने अवस्थामा पुगेको छ भने बथनाहा–विराटनगर १८ किमी रेल सञ्चालनका लागि तयार भएको छ । 

रक्सौल–काठमाडौँ १३५ किमी र काठमाडौँ–रसुवागढी ७२ किमी रेलमार्ग निर्माणको पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदन तयार भएको भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ ।

कृषितर्फ यस अवधिमा अघिल्लो आवको तुलनामा खसीबोका आयात ४६ दशमलव नौ प्रतिशतले घटेको र रसुवा तथा थानकोट नाकामा अस्थायी क्वारेन्टाइन चेकपोष्ट स्थापना गरी सञ्चालन गरिएको कृषि तथा पशुपक्षी मन्त्रालयले जानकारी दिएको छ । 

शहरी विकास कार्यक्रमअन्तर्गत तराई–मधेशका २० जिल्ला सदरमुकामका नगरपालिकामा शहरी पूर्वाधार विकासअन्तर्गत कूल २३० किमी शहरी सडक, ३३३ किमी सतही ड्रेन, १३ किमी ढल र तीन बसपार्क ९इनरुवा, सिद्धार्थनगर र धनगढी० निर्माण सम्पन्न भएको छ ।

यस अवधिमा भूकम्प प्रभावित, ग्रामीण खानेपानी, वर्षात्को पानी सङ्कलनलगायत गरी कुल ५२६ आयोजनाको निर्माण सम्पन्न भई दुई लाख ८० हजार ८३९ जनसङ्ख्या आधारभूत तहको खानेपानी सेवाबाट लाभान्वित भएका छन् ।

गौतमबुद्ध विमानस्थलको प्रगति ७३ प्रतिशत बैठकमा पर्यटनतर्फ १०० नयाँ पर्यटकीय गन्तव्य पहिचान गरी त्यसको विकास निर्माण सम्बन्धित स्थानीय तहबाट भइरहेको जानकारी दिइएको छ ।

त्यस्तै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विस्तार तथा स्तरोन्नतिअन्तर्गत ६० प्रतिशत, गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको ७३ प्रतिशत र पोखरा अन्तरराष्ट्रिय विमानस्थलको ४२ प्रतिशत निर्माण सम्पन्न भएको छ ।

भैरहवा विशेष आर्थिक क्षेत्रको सम्पूर्ण पूर्वाधार निर्माण सम्पन्न गरी २२ उद्योगीलाई सञ्चालनका लागि अनुमतिपत्र प्रदान गरिएको र एक उद्योगको परीक्षण उत्पादन शुरु गरिएको सम्बन्धित मन्त्रालयले जनाएको छ ।