एजेन्सी । भारतको झारखण्ड प्रान्तको पूर्वी सिंहभूम जिल्लाका एक आदिवासीले १ हजार रुपैयाँमा आफ्नो छोरालाई बिक्री गरिदिएका छन् । 

प्रहरी बिक्री भएका बच्चाको खोजीमा जुटेको बीबीसीले जनाएको छ । 

यो घटना सिंहभूम जिल्लाको धोलाबेडा पञ्चायतको बारुनिया गाउँस्थित डूमरिया क्षेत्रको हो । यहाँका मुखिया सहदेव मुर्मुका अनुसार बारुनियाको मालीगोडा टोलका भोटा सबरका ६ बालबच्चा छन् । 

हालै उनको पत्नीको मृत्यु भयो । जसका कारण घरमा कमाउने व्यक्ति दुईबाट एक भयो । साथै, एक दुर्घटनामा भोटाको हातमा गहिरो चोट लाग्यो । यहीकारण हिजोआज भोटा चाहेर पनि काम गर्न सकिरहेका थिएनन् । 

यहीकारण उनी गम्भीर आर्थिक संकटमा फसे । उनलाई आफ्ना बालबच्चालाई खुवाउन नै धौ धौ भइरहेको थियो । मुखिया सहदेव मुर्मुले केही व्यक्ति र सरकारी निकायसँग अनुरोध गरी भोटालाई आर्थिक सहायताको जोहो गर्ने प्रयासमा थिए । तर भोटा यति ठूलो आर्थिक संकटमा परे कि उनले आफ्नो एउटा बच्चा नै बिक्री गरिदिए । 

भोटा झारखण्डको निकै दुर्लभ जनजाति सबर समुदायका हुन् । यो समुदायका प्राय प्रत्येक परिवार चरम आर्थिक संकटमा छ । बारुनिया गाउँमा भोटा जस्तै करिब ७ परिवार बसोबास गर्छन । 

डूमरियाका थाना प्रभारी बिक्रान्त कुमारले बिक्री गरिसकेपछि धेरै व्यक्तिको सल्लाहअनुसार भोटाले थानामा निवेदन दिएर आफूले बिक्री गरेको बच्चाको खोजी गरिदिन र फिर्ता गराइदिन अनुनय गर्दै निवेदन दिएका छन् ।