काठमाण्डौ । सरकारले पूर्वाधार विकास बैंक स्थापना गर्ने भएको छ । 

अर्थमन्त्री कृष्णबहादुर महराले आगामी आर्थिक वर्षका लागि सोमबार व्यवस्थापित संसदमा बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पूर्वाधार विकास बैंक स्थापनाको घोषणा गरेका हुन् । 

उनले पूर्वाधार क्षेत्र तथा ठूला जलविद्युतको विकासका लागि सोही क्षेत्रमा मात्र काम गर्ने गरी आगामी आबभित्रै एउटा पूर्वाधार बैंक स्थापना हुने बताए । 

सरकारले यसअघिको बजेट भाषणमार्फत एनआइडिसी डेभलपमेन्ट बैंकलाई पूर्वाधार विकास बैंकमा रुपान्तरण गर्न खोजे पनि स्पष्ट ऐन नहुँदा त्यो लक्ष्य हासिल हुन सकेको थिएन । तर, नयाँ बैंक तथा बित्तीय संस्था सम्बन्धी ऐनमा पूर्वाधार विकास बैंकको व्यवस्था गरिएपछि सरकारी लगानीमा यस्तो बैंक स्थापनाको बाटो खुलेको हो । 

पूर्वाधार विकास बैंकलाई पनि अन्य बैंकलाई झै राष्टबैंकले नै नियमन गर्नेछ । अर्थमन्त्री महराका अनुसार स्वदेशी तथा विदेशी लगानीमा सरकारी सेयर समेत थपेर करिब २० अर्ब चुक्तापूँजी भएको पूर्वाधार विकास बैंक स्थापना हुने जानकारी दिए ।