काठमाण्डौ । २० वर्षको उमेरमा दुई साथी मिलेर ३२ करोड बराबर नेपाली रुपैयाँ कमाएका छन् । यो कुरा सुनेर तपाई चकित पर्नुभयो होला र सोच्नु भयो होला आखिरमा २० वर्षकै उमेरमा उनीहरुले कसरी ३२ करोड कमाए ? यो कथा छिमेकी मुलुक भारतको हो । त्यहाँको नेशनल इन्स्टिच्यूट अफ फेसन टेक्नोलोजीका प्रवीण केआर तथा सिन्धुजाले अनलाइनबाट टिसर्ट बिक्री गरी यति धेरै पैसा कमाएका हुन्, त्यो पनि निकै छोटो अवधिमा ।

आफूहरुले थालेको विजिनेशबाट अनपेक्षित रिटर्न पाएपछि यी दुई साथी अफलाइन रिटेल  विजिनेशमा प्रवेशका तयारी गरिरहेका छन् । 

करिब ३ वर्षअघिदेखि यी दुई साथीले योङ ट्रेण्ड्ज नामबाट आफ्नो टिसर्टको ब्राण्ड सुरु गरेका थिए । उनीहरुले टीशर्टको मूल्य भारु २५० देखि ६०० सम्म मात्र राखे । कलेज जाने छात्रछात्राको बजेटलाई ध्यानमा राखेर टिसर्टको मूल्य निर्धारण गरिएको थियो । उनीहरुको यही आइडिया हिट भयो ।

उनीहरुको यो सफलताको भित्री कथा के रहेछ त ? भारतीय मिडियाहरुको सहयोगमा हामीले पनि खोतल्ने प्रयास गरेका छौ । नयाँ आइडियाका साथ विजिनेश थाले त्यसले मानिसलाई करोडपति बनाउन समय नलाग्ने प्रेरणा नेपाली युवाले पनि लिन सकून् भन्ने उद्देश्यले यो स्टोरी बनाइएको हो ।

पढ्दा पढ्दै विजिनेश
योङ ट्रेण्ड्जका संस्थापक प्रवीण केआर बिहारका हुन् भने सिन्धुजा हैदरावादकी हुन् । उनीहरु मिलेर कारोबारी करिअर सुरु गर्ने निर्णय लिइँरहदा विद्यार्थी थिए । नेशनल इन्स्टिच्यूट अफ फेसन टेक्नोलोजीको सातौ सेमेस्टर पढिरहँदा उनीहरुले यो विजिनेश आइडियाको बिषयमा सोचेका थिए । सन् २०१५ मा इकमर्सको बजार निकै धेरै बुम भइरहेको थियो, यही बेला उनीहरुले समेत अनलाइन क्लोदिङ ब्राण्ड योङ ट्रेण्ड्जको सुरुवात गरे ।

१६ लाखबाट सुरुवात
उनीहरु दुवैजनाले २०१५ को सेप्टेम्बरदेखि १० लाख भारु(नेपाली रुपैयाँ १६ लाख)बाट आफ्नो विजिनेशको सुरुवात गरेका थिए । उनीहरुले उत्पादन थालेको २ महिनाभित्रै अनलाइन बजार फ्लिपकार्ट, अमेजन, बुनिक तथा पेटिएममा टिसर्ट बेच्न थालिसकेका थिए । पछि उनीहरुले आफ्नै इकमर्स वेबसाइटको पनि विकास गरे । उनीहरुको योङ ट्रेण्ड्ज ब्राण्ड सन् २०१७ को फ्लिपकार्टको फेस्टिभ सेलको दौरान मात्रै २५ हजार प्रति बिक्री भएको थियो । 

कलेजका उत्सवहरुमा बेचियो
जब उनीहरुको कलेज पूरा हुँदै थियो, त्यसबेला उनीहरुले कलेजमै आयोजना हुने विभिन्न उत्सवहरुमा आफ्नो ब्राण्डको टिसर्ट बिक्री गर्न थालिसकेका थिए । प्रारम्भमा उनीहरुले एकदिनमा १० वटा टिसर्टसम्म बिक्री गर्थे । र, कलेज पूरा भएको समयमा उनीहरुले आफू अध्ययनरत बाहेक अन्य १०० भन्दा बढी कलेजमा टिसर्ट बिक्री गर्न थालिसकेका थिए । 

यसरी, यी सफल साथीको कथाबाट नेपालीहरुले पनि केही सिक्न सक्छन् । केही नयाँ सोंचका साथ समयको मागलाई समेत सम्बोधन गर्दै विजिनेश थाल्ने हो भने त्यसबाट मालामाल बन्न सकिन्छ भन्ने उदाहरण समेत कथाका पात्र हुन् । नेपाली युवाले पनि देशमै केही नयाँ गर्ने सोच्ने हो कि ?