-भक्तराज रसाइली 
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमीटेडका केही कर्मचारी र सेयर माफियाको मिलेमतोमा अनलाइन कारोबार प्रणाली बन्द गराई अपर तामाकोशीको हजारौं कित्ता सेयरमा चलखेल भएको छ । 

सर्वसाधारण लगानीकर्तालाई मूर्गा बनाई नेप्सेका कर्मचारी र वाइको नै लागेर अपर तामाकोशीको सेयर एकाएक सिस्टम नै बन्द गरी खुद्रा सेयर बिक्रीको अर्डर सेयर माफियाहरुलाई हस्तान्तरण गरिएको दाबी स्रोतहरुले गरेका हुन् ।

हिजो कारोबारको पहिलो दिन आइतबार मध्यान्ह करिब १२ ः१८ मा नेप्सेले मेन्टेनेन्स(मर्मत)को बहाना बनाएर भित्री सिस्टमबाट केही ब्रोकरको सिस्टममा मात्रै चल्ने बनाउँदै अपर तामाकोशीको ठूलै मात्राको सेयर सस्तोमै उठाउने गिरोहको योजनामा साथ दिएको देखिएको छ ।

मार्केट डेप्थमा अपर तामाकोशीको ‘डमी अर्डर’ राखेर मूल्यमाथि खेल्ने काम भएको समाचार बिजशालाले हिजो प्रकाशन गरेको थियो । सो समाचार प्रकाशनसँगै थप पोल खुल्ने डरले सिस्टम बिगारेर सेयरमा चलखेल गरिएको नेप्सेस्थित उच्च स्रोतको दाबी छ । 

सामान्य अवस्थामा मार्केट डेप्थमा तामाकोशीको करिब २ लाख कित्ता सेयरको अर्डर देखिएको थियो । तर, करिब १२ः१८ मा सिस्टमले एकाएक काम गर्न छाडेको थियो । विश्वस्तरीय भनिएको सिस्टमले हावा खाएकै(नियोजित रुपमा खुवाएकै) मौकामा तामाकोशीको सेयरमा तीव्र चलखेल गरिएको थियो । १२ः४० मा नियोजित ढंगले पुनः सिस्टम चालु गरिएको थियो, जुनबेलासम्म मार्केट डेप्थमा अपर तामाकोशीमा २६ हजार कित्ताको हाराहारीमा मात्र अर्डर देखिएको थियो । 

यसरी हेर्दा २२ मिनेटको अन्तरालमा अपर तामाकोशीको सेयरमा करोडौंको खेल भएको बुझ्न गाह्रो छैन । यो अवधिमा आफ्ना निकटका ब्रोकरहरुको सिस्टम मात्र खुल्ने बनाइएको थियो र तिनै सिस्टमबाट अपर तामाकोशीको सेयर उठाइएको थियो । 

अर्डर २ लाख हाराहारी हुँदा अपरको मूल्य ३४२ रहेकोमा सिस्टम चालू भएपछि ३२६ मा सीमित भएको थियो । सोमबार १० बजेसम्म पनि हिजो कारोबार भएको फ्लोरसिट आजसम्म पनि नेप्सेले उपलब्ध नगराउँदा यसले झन् शंकालाई बढाइदिएको एक जानकारको दाबी छ ।

अनलाइन सिस्टमबाट प्रताडित लगानीकर्ताहरुले प्राकृतिक रुपमा सेयरको माग र आपूर्तिबाट मूल्य निर्धारण हुनुपर्नेमा नेप्सेका केही कर्मचारीलाई प्रयोग गरी विश्वस्तरीय र अति विश्वसनीय भनी दाबी गरिएको अनलाइन कारोबारलाई सेयर माफियाहरुले आफ्नो कमाउने भाँडो बनाइरहेका समेत यो घटनाले प्रष्टाउँछ । 

यस्तै, अनलाइन सिस्टममा चलखेल गर्न गाह्रो छ भन्नेहरुलाई समेत नेप्सेका कर्मचारीहरुले सिस्टम नै बन्द गराएर समेत कतिसम्मको चलखेल गर्छन् भन्ने बिषय समेत यो प्रकरणले उजागर गरिदिएको छ । 

अनलाइन सुरु भएको करिब ३ महिनासम्म पनि पूर्ण स्वचालित अनलाइन प्रणाली विश्वस्तरको टेस्ट्ेड प्रणालीको हवाला दिने नेप्सेले हिजो कारोबार समयमा फिल्मको मध्यान्तर जस्तो ‘हामी पुनः आउँछौ’ भन्दै नोटिस टाल्ने काम गरेको छ । 

बारम्बारको सिस्टम गडबडी र पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीका लागि आवश्यक सफ्टवेयर बनाउने काम भने हालैदेखि मात्र सुरुवात भएको यथार्थ स्वीकार गर्न नसक्दा लगानीकर्ताहरुको लगानीमाथि खेलवाड हुने काम भइरहेको छ । नेप्सेले पूर्ण स्वचालितको हवाला दिएर परीक्षण मात्र गरिरहेको यो यथार्थले उसैका कारण लगानीकर्तामा सेयर बजारप्रतिको भरोसा समेत टुट्दै गएको देखिन्छ । 

सेयर अर्डरमा देखिएका बग्रेल्ती बेथिति र अन्धाधुन्धमा चलेको नेप्सेको अनलाइन सिस्टम ३ महिना बितिसक्दासमेत अपेक्षाकृत सुधार हुन नसक्नुले पनि यसको परीक्षण मात्र भइरहेको कुरा पुष्टि हुने स्रोतहरुको दाबी छ । 

नेप्सेले पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीको नाममा दिउँसै रात पार्ने खालको खेल खेलिरहँदा समेत नियामक धितोपत्र बोर्ड र उसलाई समेत नियमन गर्ने अर्थमन्त्रालयले समेत ध्यान नदिनु रहस्यको विषय बनेको जानकार बताउँछन् । 

पूर्ण स्वचालितको नाममा नयाँ–नयाँ शैलीबाट चलखेलको खेल  जारी रहेको अवस्थामा लगानीकर्ता स्वयम् सचेत हुनुको विकल्प छैन । यस्तो अवस्थामा पूरा भर परेर हौसिएर लगानी नगर्न र अनलाइनको नाममा भइरहेको खेलप्रति समेत सजग भएर मात्र लगानीको निर्णय लिन विज्ञहरुले सर्वसाधारण लगानीकर्तालाई सुझाएका छन् ।