-भक्तराज रसाइली

काठमाण्डौ । स्टक ब्रोकर एशोसिएसनका पूर्व अध्यक्ष (२०६४–२०६८)  हुन नन्दकिशोर मुन्दडा । उनले लामो समयदेखि ब्रोकर नम्बर २८ अर्थात् श्रीकृष्ण सेक्युरिटीज लिमिटेड संचालन गरी लगानीकर्तालाई भरपर्दो, विश्वसनीय र गुणस्तरीय सेवा दिइरहेका छन्  

कम्पनीका अध्यक्ष मुन्दडाको पुर्ख्यौली थलो बिराटनगरको गोश्वारा रोड हो । हाल उनी काठमाण्डौ–५ बालुवाटारमा बसोबास गर्छन् । विराटनगरकै महेन्द्र मोरङ कलेजबाट बीकम उत्तीर्ण हुन् । 

मुन्दडा १३ वर्षकै कलिलै  उमेरमा व्यापारी बनेका थिए । विराटनगरमा ‘अनुराग’ नामको पसलमा उनले विदेशी सामानहरू बेच्ने गर्थे । पसलको सामान लिन काठ्माण्डौ आउँदा यतै बस्ने निर्णय गरेका उनलाई  २०५० सालतिर अचानक भारतस्थित कोलकातामा रहेका आफ्ना भिनाजु गोवर्धन राठीको फोन आयो, त्यही फोन नै ब्रोकर बनेर पूँजी बजारमा सेवा दिलाउने संयोग बन्यो । 

कारण भिनाजुले नै २०५० सालमा नेपालमा नेप्सेको स्थापना भएसँगै ब्रोकर लाइसेन्स भिडेर लिन उनलाई झक्झक्याएका थिए । उनले भने–‘सायद भिनाजुको साटो मलाई गरिखाउ भनेर भगवानले नै फोन गर्नुभयो । भगवानले जो दिनुछ, दिनुहुन्छ हामीले गरेर केही हुँदैन ।’ उनले भगवानको जयजयकार गर्दै धर्मप्रति अगाध भाव देखाए । 

पहिलो लटमा ब्रोकर लाइसेन्स नपाएका उनलाई एक्सचेञ्जले दोस्रो लटमा कम्पनी बनाएर आउँदा लाइसेन्स दिइने भनेपछि ८ जना मिलेर कम्पनी बनाएको उनले विगत कोट्याए । 

वि.सं. २०५२ सालमा कम्पनी स्थापना गरेको कम्पनीले २०५२ साल चैत १ गते नेप्सेले ब्रोकर लाइसेन्सको हकदार भए । विराटनगर हुँदा काठमाण्डौमा घर बनाएर बस्ने कल्पना समेत नगरेका उनले ४१ वर्षको उमेरदेखि हाल ६० वर्षको उमेरमा समेत सक्रियता उत्तिकै दर्शाइरहेका छन्। 

काठमाण्डौ ३० डिल्लीबजार चारखाल रोडमा रहेको श्रीकृष्ण सेक्युरिटीज लिमिटेडमा ७ जना प्रमोटर छन् । कम्पनीको चुक्तापूँजी ६ करोड छ भने उपत्यका बाहिर विराटनगरको शनिहाट(नगरपालिकाँगै)बाट पनि धितोपत्र खरिदबिक्रीको सेवा  दिइरहेको छ । 

कम्पनीमा २० जना कर्मचारीहरु कार्यरत छन् । 

वि.सं. २०७१ साल कात्तिक १० गतेबाट सिडिएससीबाट डीपी  सेवाको अनुमति पाएपछि डीपी सेवा संचालन गरिरहेकामा हालसम्म कुल ४ हजार ८ सय ९३ डिम्याट खाता खोलिएको कम्पनीले जनाएको छ । 

कम्पनीको  तथ्यांकअनुसार करिब  ६ हजार केवाइसी अपडेट छ भने दैनिक कारोबारी  ग्राहकको औसत १ सय २५ छ । बजार खुलेको समयमा १ सय २५ जना हाराहारीमा ग्राहकहरुको भीड लाग्ने गर्दछ। 

चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा १ सय ९१ कम्पनीका १ अर्ब २५ करोड रुपैयाँ हाराहारी कारोबार गरेको कम्पनीले जानकारी दिएको छ । 

स्मरणीय रहोस् उनले उत्कृष्ट करदाता–२०७२ बाट समेत सम्मान पाइसकेका छन् । 

आफूलाई टपटेन(उत्कृष्ट १०)  भित्रको ब्रोकर मान्ने मुन्दडाको बलियो पक्ष लगानीकर्ताहरुलाई राम्रो सेवा दिएर विश्वास जितेको भनाइ छ । ब्रोकर पेशामा आउनुअघि इम्पोर्ट बिजनेस, कार्पेट, गार्मेन्ट उद्योगमा समेत हात हाल्दा असफल बनेका उनलाई ब्रोकर सेवामा पनि सुरूवाती ३–४ वर्ष राम्रोसँग व्यापारले साथ दिएन । 

तर, सफल धितोपत्र व्यवसायीका रूपमा चिनाउने चाहनामा तनमन लगाएर ग्राहकहरुको मन जित्न सफल उनको नेप्से र सेबोनका कतिपय उच्च अधिकारीहरु खुलेरै प्रशंसा गर्दछन । 

परामर्शदाता, पोर्टफोलियो व्यवस्थापन सेवा, आफैले आफ्ना लागि खरिदबिक्री गर्न पाउनुपर्ने उनको माग छ । 

नेप्से र सेबोनले ब्रोकर कम्पनीलाई दिएको क्षेत्राधिकारभित्र रही सेवा सुबिधा दिइरहेको दाबी गरेका उनले ग्राहकहरुले माग गरेमा पूँजीगत लाभकरको स्टेट्मेन्ट दिइने सुविधासमेत रहेको बताए । कम्पनीको कार्यालय समय भने बिहान १० बजेदेखि बेलुकी ६ बजेसम्म रहेको छ । 

२४ वर्षअघिदेखिका ग्राहकहरुले अहिलेसम्म पनि आफ्नोबाट सेवा लिइरहेका दाबी समेत गरेका उनले यही कुराबाट समेत २८ नम्बर ब्रोकरप्रतिको माया दर्शाइएको तर्क अघि सारे । ‘हामीले सानाठूला भनेर कहिल्यै भेदभाव गरेनौं र गर्दैनौं पनि।’–उनले थप प्रष्ट पारे । 

सिङ्गल इन्भेस्टरले बजार विस्तार नहुने तर्क सार्दै उनले सार्क राष्ट्रका लगानीकर्ताहरुलाई समेत लगानीको बाटो खोलिदिनुपर्ने उनको ठम्याइ छ ।

नेप्सेलाई आधुनिकीकरणमा लैजानुपर्ने उल्लेख गर्दै नेप्सेले नयाँ प्रविधि ल्याउँदा राम्रो क्षमताको ल्याउन जरूरी रहेको औंल्याए । ब्रोकरहरुलाई दिंदै आएको तालिमलाई थप बढाउँदै जानुपर्ने र सचेतना अझै फैलाउनुपर्नेमा उनले जोड दिए । 

पूँजी सिर्जना, बृहत् सहभागिता, नगद तरलता लगायत थुप्रै फाइदा रहेको पूँजीबजार सहज र कम तनावमा गर्न सकिने लगानीको क्षेत्र भएको मुन्द्डाको बुझाई छ । 

नियामकको हालसम्म कुनै पनि किसिमको कारबाहीमा नपरेको उनले दाबी गरे । 

बैंक इन्ट्रीगेसन, अपग्रेडेट सफ्टवेयर, सब ब्रोकर सीप, सुलभ ब्याजदर जस्ता विषय विद्यमान पूँजीबजारका चुनौति रहेका जिकिर गर्दै यी विषयमा सुधार गर्न सके नेपालको पूँजीबजारले फड्को मार्ने उनको दाबी छ । 

नेप्सेले तत्कालै इन्ट्राडे कारोबार, सर्ट सेल, फ्युचर अप्सन ल्याउनु जरुरी रहेको बताएका उनले आजको युगमा नयाँ–नयाँ प्रविधि भित्र्याउन सुझाए । नीतिनिर्देशन बनाउँदा नीतिनिर्माताले बिदेशी नीति कपी गरेर आफ्नो माटो सुहाउँदो बनाउनलाई आवश्यक संसोधन गर्नुपर्नेमा उनको जोड छ । 

लगानीकर्ताका आँखामा ब्रोकर नम्बर २८
नन्दकिसोर शर्मा, डिल्लीबजार-६२ वर्ष 
विगत १५ वर्षदेखि सेयर बजारमै सक्रिय मैले यहीँबाट सेवा लिएको १२ वर्ष जति भयो । पूर्ण पारिवारिक वातावरणमा सहजै लेनदेन र मित्रवत कर्मचारीहरुबाट अत्यन्तै खुशी छु । म शतप्रतिशत सन्तुष्ट छु । म १० नम्बरमा १० नम्बर नै दिन्छु । 

सकिर श्रेष्ठ, सेयर कारोबारी-कोपुण्डोल, ३८ वर्ष 
सेयर बजारमा छिरेको ८ वर्ष जति भयो । मैले यहाँबाट सेयर खरिदबिक्री गरेको लगभग ७ वर्ष भयो । अन्य ठाउँ भन्दा यहाँको सेवासुबिधा धेरै राम्रो छ । कर्मचारीहरुको मित्रवत व्यवहार र हिसाबकिताब सहज भएकाले म धेरै सन्तुष्ट छु । आगामी दिनमा २८ बाटै मार्जिन लोनको व्यवस्थाका लागि माग गर्न चाहन्छु । मैले १० नम्बरमा ९ नम्बर दिएँ । 

जयकिशन शारडा, लगानीकर्ता-डिल्लीबजार 
२८ नम्बर सुरु भएदेखिकै ग्राहक हुँ म । यहाँको हिसाबकिताब राम्रो र चित्तबुझ्दो, सुरक्षित रहेको मैले महशुस गर्दछु । सेवामा धेरै इमन्दारिता पाएको छु। म १० नम्बरमा १० नै दिन्छु । 

जनार्दन गौतम, रिटायर्ड राष्ट्र बैंक कर्मचारी-डिल्लीबजार, ६० वर्ष 
रिटायर्ड भएपछि यहाँबाट सेवा लिएको ६ वर्ष भयो । यहाँबाट अन्त छोडेर जान मन छैन ।आफन्त जस्तो व्यवहार पाएको र आवश्यक सरसल्लाह र सतर्कता पाएकोमा सन्तुष्ट छु । म पनि  १० नम्बरमा १० नै दिन्छु ।

गणेशप्रसाद उपाध्याय, रिटायर्ड व्यापारी-धुम्बाराही ७५ वर्ष
सेयर बजार र २८ नम्बरबाट सेयर खरिदबिक्री गर्न थालेको मैले ३–४ वर्ष हुँदैछ । गुनासोरहित सेवासुविधा र साथीभाइ परिवारजस्तै व्यवहार पाएकोमा सन्तुष्ट छु । मैले १० मा १० नै दिन चाहेँ।