काठमाण्डौ । बैंकको कर्जा सुविधाबाट वि.सं. २०५२ मा हिरोहोण्डा मोटरसाइकल खरीद गरेका शिवराज श्रेष्ठले त्यसपछिको अवधिमा अकूत सम्पत्ति आर्जन गरेका देखिएको छ । 

उनैले बुझाएको सम्पत्ति विवरणबाट समेत यो कुरा देखिन्छ । नदेखाइएको सम्पत्तिको विषयमा सो विवरणमा उल्लेख गरिएको छैन । 

उनले भरेको सम्पत्ति विवरणमा २०५२ सालमा बैंकबाट कर्जा सुविधा लिई रु. ८५ हजार मा बा ६ प ४७६० नम्बरको मोटरसाइकल खरीद गरिएको उल्लेख छ ।

उनी २०७२ फागुन १९ गते नेपाल राष्ट्रबैंकको डेपुटी गभर्नरमा नियुक्त भएका थिए । डेपुटी गभर्नर बन्दासम्मको अवधिमा उनले सम्पत्ति निकै अकूत ढंगले कमाएका देखिएको छ । उनलाई गम्भीर आरोप लगाउँदै हालै नेपाल राष्टबैंकको संचालक समितिले निलम्बन गरिसकेको छ । उनीमाथि छानबिन गर्न तीन सदस्यीय समिति समेत गठन भएको छ । 

प्रधानमन्त्रीको सहमति र अर्थमन्त्रीको प्रस्तावमा डेपुटी गभर्नर श्रेष्ठलाई क्याबिनेट बैठकले निलम्बन गरेपछि हाल उनको सम्पत्तिको स्रोत, उनले गरेका गैरकानूनी आर्जन तथा अस्वभाविक सम्पत्ति वृद्धिको विषयमा सर्वत्र चासो छ । 

उनले २०७२ चैत ५ गते सम्पत्ति विवरण भरेका देखिन्छ । जहाँ उनले आफ्नो, आफ्ना पिता, पत्नी, छोराहरुको नाममा रहेको सम्पत्ति उल्लेख गरेका छन् ।

सरकारले नै उनीमाथि गैरकानूनी काम गरेको, प्रभावमा परेको लगायतका संगीन आरोप लगाएपछि डेपुटी गभर्नरको रुपमा काम गरेको करिब ४ वर्षको अवधिमा उनले अझै कति अकूत सम्पत्ति कमाए होलान्, त्यो अनुसन्धानको विषय बन्ने राष्ट्रबैंक स्रोतले बताएको छ । 

उनले डेपुटी गभर्नरमा नियुक्त भएलगत्तै पेश गरेको सम्पत्ति विवरण समेत शंकास्पद देखिएको अनुसन्धानमा संलग्नहरुले दाबी गरेका छन्।

सो बेला उनले आफ्ना पिता शेरबहादुर श्रेष्ठ र आफ्नो नाममा क्रमशः बालाजु १६ र धापासीमा अढाई अढाई तल्ले घर रहेको उल्लेख गरेका छन् । पिताको नाममा रहेको घर ४२३.४० वर्गमिटर र धापासीको घर १९२.६० वर्गमिटरमा बनेको उल्लेख छ ।

उनको नामको घर रहेको जग्गा २०५८ सालमा ३ लाख रुपैयाँमा किनेको र बैंकको कर्जा समेत लिएर १५ लाख ६३ हजार रुपैयाँमा घर निर्माण गरेको उल्लेख छ ।

घरबाहेक उनको परिवारको नाममा जग्गा समेत देखिएको छ । पत्नी मुना श्रेष्ठको नाममा धापासी १० मै २५३ वर्गमिटर जग्गा रहेको उल्लेख छ । २०५८ सालमै रु. ४ लाखमा यो जग्गा खरीद गरेको विवरणमा भनिएको छ । स्वआर्जन र पारिवारिक बचतबाट सो जग्गा किनेको उल्लेख छ । २०५८ सालमै अर्को जग्गा किनी १५ लाख बढी बैंकबाट ऋण लिएर घर बनाएको उनको विवरण र सोही साल फेरि ४ लाख रुपैयाँमा स्वआर्जन र पारिवारिक बचतबाट अर्को जग्गा जोडेको विवरण नै शंकास्पद देखिने अनुसन्धानकर्ताको दाबी छ ।

उनले डेपुटी गभर्नर नै नहुँदा समेत नेपाल राष्ट्रबैंकको उच्च पदको दुरुपयोग गरी धितोपत्र, सेयर र ऋणपत्रमा आफ्नो, आफ्ना पिता, पत्नी, छोराहरुको नाममा करोडौं लगानी गरेका सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । सेयरमा गरिएको करोडौं लगानीको स्रोतमा उल्लेख विवरण पत्याउने खालका छैनन् । 

पिता शेरबहादुर श्रेष्ठको नाममा विभिन्न बैंक तथा वित्तीय संस्थामा ९ लाख ९२ हजार रुपैयाँ, आफ्नो नाममा १६ लाख ९१ हजार, पत्नी मुना श्रेष्ठको नाममा २६ लाख ८६ हजार, छोरा सिजनराज श्रेष्ठको नाममा ६ लाख ६ हजार, अर्का छोरा सशांकराज श्रेष्ठको नाममा ६ लाख ६ हजार रुपैयाँ बराबरको विभिन्न कम्पनीको साधारण सेयरमा लगानी रहेको उल्लेख छ । 

यस्तै, नेपाल सरकारका विभिन्न बचतपत्रमा समेत निकै ठूलो लगानी देखिएको छ । पिताको नाममा ५ लाख, आफ्नो नाममा ३ लाख, पत्नीको नाममा १२ लाख, छोराहरुको नाममा १०/१० लाख बचतपत्रमा लगानी रहेको छ । 

उनले यति धेरै सम्पत्ति जोड्दा ऋणमुक्त भइसकेका सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।