काठमाण्डौ । विश्वकै सबैभन्दा ठूलो टेक्नोलोजी कम्पनी एप्पलले आफ्नो पछिल्लो प्रोडक्ट ‘आइफोन ७’ र ‘आइफोन ७ प्लस’ लञ्च गरिसकेको छ । 

एप्पलले यसको मूल्य अमेरिकामा करिब नेपाली ६९ हजार रुपैयाँ राखेको छ । भारतमा आइफोनको पछिल्लो संस्करण आगामी अक्टोबर ७ देखि बिक्री सुरु हुने र नेपालमा समेत सोही हाराहारीमा आउनसक्ने आँकलन गरिएको छ । 

नेपालसम्म आइपुग्दा यो मोवाइलको मूल्य अधिकतम १ लाख भन्दा माथि पर्नसक्छ । तपाई यो कुरा थाहा पाएर चकित पर्नुहुन्छ होला, नेपालमा १ लाखदेखि १ लाख २० हजारसम्म मूल्य पर्नसक्ने आइफोनको लागत खर्च चाहि २४ हजार रुपैयाँ मात्र हो । यही कारणले विश्वमै सबैभन्दा धेरै नगद जम्मा गर्ने र कमाउने कम्पनीको सूचिमा एप्पल सबैभन्दा अगाडि छ । 

‘आइफोन ६ एस प्लस’को वास्तविक मूल्य
यूएस मिडिया हाउस सिएनबिसीले आफ्नो एक नोटमा भनेको छ कि आइफोनको कयौं उत्पादनहरुको भाउ घट्ने तथा स्मार्टफोन मार्केटमा बर्चश्व कायम भएका कारण आइफोनबाट एप्पललाई ठूलो फाइदा पुगिरहेको छ । 

‘आइफोन ६ एस प्लस’को निर्माण खर्च पनि मात्र २४ हजार रुपैयाँ रहेको छ । तर, यसको मूल्य ८० हजार भन्दा बढी पर्न आउँछ । 

लञ्च हुँदाको मूल्य र यो उत्पादन नेपालजस्ता देशसम्म आइपुग्दाको मूल्यमा फरक पर्नुको कारण विभिन्न करहरु थपिएर हो । जस्तो आयात कर, फ्रेञ्चाइजी कमिसन र अन्य खर्चहरुका कारण समेत नेपालसम्म आइपुग्दा आइफोनको मूल्य अधिक हुने गर्छ । 

पछिल्लो समय विश्वका सबै देशमा आइफोनको बिक्री बढेको छैन, भारत बाहेक । भारतमा चाहि अन्य विकसित देशको भन्दा ठीक उल्टो आइफोनको बजार माग ५१ प्रतिशतले बढेको छ । 

यही कुरालाई ध्यानमा राखेर केही समयअघि भारत भ्रमणमा आएका टिम कुकले भारतमा रिटेल स्टोर्स खोल्ने तयारी भइरहेको बताएका थिए । उनले भारतमा आफ्नो उत्पादनको अझ धेरै कारोबारको संभावना देखिरहेका छन् । भारतलाई प्राथमिकतामा राखेर छुट स्कीमसहित एप्पलका आइफोन आगामी दिनमा ल्याइयो भने  त्यसको फाइदा नेपाली प्रयोगकर्ताले पनि पाउनेछन् । 

भारतमा आइफोनको बिक्री बढे पनि ग्लोबल मार्केटमा चाहि गिरावट आइरहेको छ । ग्लोबल मार्केटमा अप्रीलदेखि जुनसम्मको  अवधि(तेश्रो क्वार्टर)मा एप्पलको आइफोनको बिक्रीमा १५ प्रतिशतको गिरावट देखिएको छ । कम्पनीले यो क्वार्टरको दौरान ४ करोड स्मार्टफोन बेचेको छ, जबकि अघिल्लो वर्षको यही अवधिमा कम्पनीले ४ करोड ७५ लाख स्मार्टफोन बिक्री गरेको थियो । 

२१५७० करोड डलर क्यास !
एप्पलसँग २१ हजार ५ सय ७० करोड डलर क्यास रहेको एक मिडिया रिपोर्टमा बताइएको छ । एक सूचिका अनुसार क्यास धेरै जम्मा गर्ने कम्पनीमा एप्पल विश्वमै सबैभन्दा अगाडि छ ।