-अर्जुन तिम्सिना
केही दिनदेखि शेयर बजारले एघार सयको मनोबैज्ञानिक बिन्दूलाई टेवाको रुपमा  परिक्षण गरी नयाँ  यात्रा शुरु गरेको छ, बजार १३०० विन्दू नजिक पुगेसँगै लगानीकर्तामा खुशियाली छाएको छ । 

जसरी विज्ञानमा न्यूटनको चाल सम्बन्धी तेश्रो नियम लागू हुन्छ, त्यसरी नै शेयर बजारमा पनि न्यूटनको यो नियम लागू हुन्छ, जुन नेपालको शेयर बजारको इतिहास हेर्दा घामजस्तै प्रष्ट छ ।

२०६५ भदौ १५ गते ११७५ मा पुगेको नेप्से परिसूचक २०६७ असोज ३ गते ३९९ बिन्दुमा झर्यो । त्यसपछि  उकालो लागेकोको शेयर  बजार २०७३ साल साउन १२ गते अहिलेसम्म कै उच्च १८८१ को बिन्दु चुम्यो ।

अब इतिह्ँसलाई आधार र बिज्ञानलाई भरोसा गर्ने हो भने अहिले १२९२ को हाराहारीमा रहेको नेप्से  परिसूचक केही वर्षभित्रमा २५ सय पुग्ने आधार मैले देखिरहेको छु । यो पंक्तिकारलाई भने विज्ञान, मनोविज्ञान, इतिहास, अर्थशास्त्र र जोतिषशास्त्र समेत केलाउँदा कुनै शंका छैन ।

मनोवैज्ञानिक आधार
शेयर बजारमा मनोविज्ञान यस्तो महत्वपूर्ण हुन्छ कि लगानीकर्ताको मनोविज्ञान गिर्दा नेप्से परिसूचक पनि झरिदिन्छ भने बलियो मनोविज्ञान हुँदा परिसूचक उकालो लाग्छ । 

अहिले लगानीकर्ताको मनोविज्ञान बलियो भएको अवस्था हो । धेरै लगानीकर्तामा के डर थियो भने बजार नौ सय वा हजारमा नै आउने हो कि वा हाम्रो लगानी थप जोखिममा पर्ने हो कि । यस्तो संशय अब पूर्ण रुपमा हटेको छ । 

आधारभूत तथा टेक्निकल विश्लेषकहरु लगायत सबैको बिश्लेषण मिल्नु र सहमत हुनु र बजारले ११ सयको विन्दूमा पटक पटक टेवा लिएर माथि जानुलाई धेरैले अर्थ पूर्ण रुपमा लिएका छन् र बजारले यहीबाट यूटर्न लिएको मान्नेहरुको जमात धेरै हुँदा पनि बजार बढेको हो र अब बुल ट्रेन्ड नै हो भन्न सकिन्छ ।

विज्ञानको आधारमा
सर आइज्याक न्यूटनको चाल सम्बन्धी तेस्रो सिद्धान्त भन्छ, हरेक क्रियाको बराबर, तर बिपरित प्रतिक्रिया हुन्छ । यसलाई पनि लगानीकर्ताले एउटा लगानीको औजारको रुपमा लिएको र लिन सक्ने मान्निन्छ । 

सेयर बजारमा यसको अर्थ यो हुन्छ कि बजार जसरी घट्छ एक दिन त्यसरी नै माथि जान्छ । बजारले निश्चित चक्र पार गरिसकेपछि यस्तो हुन्छ । 

नेपालकै शेयर बजारमा पनि यो पटक पटक लागू भएको र हाम्रो छिमेकी राज्य भारतमा पनि यसको ज्वलन्त उदाहरण भेटिन्छ । 

सन् २००८ को जनवरीमा सेंसेक्स २१२०६ बिन्दूमा पुगेको थियो । त्यसपछि उक्त परिसूचक घटेर ८०००  सम्म आयो । र, अहिले उक्त विन्दू बढेर ३९१४० भएकोले  पनि बजार एउटै लयमा मात्रै कुद्दैन भन्ने देखिन्छ । यस्तो संसारकै शेयर बजारमा हुन्छ र युरोप अमेरिकी बजारमा पनि यस्तै हुन्छ । 

अर्थशास्त्रको सिद्धान्त
अर्थशास्त्रको सामान्य सिद्धान्त के हो भने बजारमा कुनै पनि बस्तुको मूल्य निर्धारण माग र आपूर्तिको आधारमा हुन्छ र मूल्य बजारले आफै निर्धारण गर्छ । 

हामीले दैनिक उपभोग गरेको कालिमाटीको तरकारी होस या टमाटर यही सिद्धान्तका आधारमा किनबेच हुन्छ,  यो हामीले जानेकै कुरा हो । 

अधिक आपूर्ति भएपछि मूल्य आफै घट्छ । बिगत केही वर्षमा सेयर बजारमा यही भएको थियो । २ अर्ब पूँजी भएको बैंक ८ अर्बका भए ।  शेयरको अधिक आपूर्ति भयो र मूल्य प्रभावित भयो । 

अब बिस्तारै शेयर कर्नर हुन थालेको छ । कर्नर भनेको के हो भने मूल्य घटेर तल आएको बेला ठूला लगानीकर्ताले लाखौं शेयर उठाउँछन् र शेयरको आपूर्तिको मात्र कम हुन जान्छ, फलस्वरुप माग बढ्दा शेयरको मूल्य बढ्न थाल्छ । अहिले भएको यही हो । 

लंगडो भएपनि अनलाइन कारोबार प्रणाली अस्तित्वमा छ । यसले गर्दा विदेशबाट पनि शेयर किनबेच हुनसक्छ । बैंकहरुले ब्रोकरको  काम गर्ने अनुमति पाउने क्रममा छन्, यसले गर्दा गाउँ गाउँबाट शेयरको माग बढ्न सक्छ । बैंकहरु गाउँ गाउँ पुगेका छन्, फलस्वरुप माग बढ्न गई शहरमा शेयर कर्नर हुने र गाउँ गाउँबाट माग बढ्ने हुँदा भबिस्यमा शेयर बजार अझै बढ्ने निश्चित झै देखिन्छ । 

बिस्तारै विकास खर्च बढ्न थालेको छ । यसपालि समयमै बजेट आउनसक्ने संकेत देखिएको छ । 

गत वर्ष बैंक तथा बितिय संस्थाले राम्रै कमाएका र तेस्रो क्वार्टरको रिपोर्ट पनि  धमाधम आउने क्रम जारी छ, यसले बजारलाई सकरात्मक बाटोतर्फ डोहोर्याउँछ । 

अर्थमन्त्री र राष्ट्रबैंकका गभर्नरले  अनौपचरिक रुपमा आउने मौद्रिक नीतिमार्फत ठूला बैंकहरुबीच बिग मर्जरको नीति आउनसक्ने संकेत गरिरहँदा यसले समेत लगानीकर्ताकर्ताको मनोबल बलियो बनाएको छ, जुन सकारात्मक छ । 

बजारमा तरलता सहज भएसँगै स्वभाविक रुपमा ब्याजदर घट्छ, यसले लगानीकर्ताकर्ताको मनोबललाई अझ मजबुत बनाउनेछ ।

नेपालको आर्थिक वृद्धिदर लगातार सुधार हुँदै गएको छ । विकास निर्माणका पुराना ढर्रालाई सरकारले परिवर्तन गर्नसक्ने अवस्था देखिन्छ । यसो भयो भने आगामी आर्थिक वर्षदेखि सरकारको खर्च गर्ने तरिका समेत परिवर्तन हुनेछ । यसले बाहै्रमास तरलताको सिर्जना गरी बजारमा लगानीको आकर्षक वातावरण बनाउनसक्छ । 

माथि उल्लेख गरिएका यिनै आधारहरुलाई केलाउँदा अबको बजार बुलिश ट्रेन्डमै कुद्छ भन्न सकिन्छ । 

बित्तीय ज्योतिषशास्त्रका आधारमा

अमेरिकी कम्पनी जे पी मोर्गनले भनेका छन् ूलखपतिहरु ज्योतिसकहाँ जाँदैनन्, तर अर्बपतिहरु जान्छन । यसको अर्थ हुन्छ धनाढ्य, राजपरिवार र शाही परिवार ज्योतिषकोमा जानु कुनै न कुनै अर्थ छ ।  

बजारमा मात्र नभएर अन्य धेरै कुरामा ज्योतिषशास्त्र हेरेर लेखाजोखा गर्ने गरिन्छ । ज्योतिष विज्ञानका ज्ञाताहरु भन्छन् ग्रहको अवस्थिति र नक्षेत्रको प्रभावका  कारणले पनि बजारमा उतारचढाव हुन्छ । 

२०६५ साल भदौ १५ गते बजार उच्च बिन्दुमा पुग्दा बृहस्पति ग्रह बलवान भएर लग्नमा स्थिति , र कर्मको स्वामी ग्रहबीच प्रबल सम्बन्ध थियो । यो अनुच्छेद मैले रविन्द्र भट्टराईको पुस्तकबाट लिएको हुँ । र, अहिले पनि बृहस्पति क्रमशः बलवान हुँदै गएको कुरामा ज्योतिषशास्त्रीहरु एकमत रहेका हुँदा बजारले बुलिश ट्रेन्ड लिने आधर छ ।

तर, लगानीकर्ताले सेयरमा लगानी गर्नुअघि आफैंले पनि लगानी गर्न खोजेको कम्पनीको विषयमा राम्रोसँग अध्ययन अनुसन्धान गर्न आवश्यक छ । आफ्नो लगानी रणनीति अनुसार अगाडि बढ्न सकेको खण्डमा र मिहीन अध्ययन गरी लगानी निर्णय लिन सकेको खण्डमा बुलिस बजारमा मालामाल बन्न सकिन्छ । 
(तिम्सिना सेयर बजारका सक्रिय लगानीकर्ता हुन् ।)