काठमाण्डौ । लक्ष्मी बैंक लिमीटेडले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा १७ करोड ९ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको यही अविधमा बैंकको नाफा १३ करोड ५४ लाख नाफा कमाएको थियो । 

खूद नाफातर्फ सन्तोषजनक बढोत्तरी भए पनि बढेको पूँजी अनुसार व्यवसाय बिस्तार गरी नाफा कमाउन नसक्दा बैंकको प्रतिसेयर आम्दानी भनेर घटेर चौपट भएको छ । 

समीक्षा अवधिमा बैंकको खूद ब्याज आम्दानी पनि बढेको छ । अघिल्लो वर्षको पहिलो त्रैमाससम्म ३८ करोड ब्याज आम्दानी गरेको यो बैंकले समीक्षा अवधिमा ४८ करोड ३३ लाख आम्दानी गरेको छ । 

समीक्षा अवधिमा बैंकले ५८ अर्ब ६४ करोड निक्षेप संकलन गरी ५४ अर्ब ९४ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो आर्थिक वर्षको यही अवधिमा बैंकले ५१ अर्ब ५८ करोड निक्षेप संकलन गरी ४४ अर्ब ४ करोड कर्जा परिचालन गरेको थियो । 

यो अवधिमा बैंकको रिजर्ब कोष भने खिइएको छ । अघिल्लो वर्षको पहिलो त्रैमाससम्म ३ अर्ब ३५ करोड रुपैयाँ रहेको कोष घटेर २ अर्ब १३ करोडमा सीमित बन्न पुुगेको हो । 

बैंकले खराब कर्जालाई घटाउन सकेन । अघिल्लो वर्ष १.६८ प्रतिशत रहेको यस्तो कर्जा घटेर १.७८ प्रतिशत पुुगेको हो । 

अघिल्लो वर्ष ९.०३ प्रतिशत रहेको इक्वीटीमा प्रतिफल घटेर ६.८४ प्रतिशतमा सीमित बन्न पुुगेको छ भने यो अवधिमा प्रतिसेयर आम्दानी ८.२४ रुपैयाँमा सीमित बन्न पुुगेको छ, जबकि गत वर्ष यही अवधिमा बैंकको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ८८ पैसा थियो । यो अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४०.१७ गुणा कायम भएको छ ।