श्याम बजगाईं, युवा उद्यमी हुने लाइनमा संघर्ष गरिरहेका छन्। उद्यमी हुन धेरै कुरा हुनु जरुरी हुन्छ भन्ने मान्यता छ उनको। स्टार्टअप व्यवसायमा लागिपरेका उनी आत्मनिर्भर बन्ने कुराका पक्षपाती हुन्। ‘म स्टार्टअप आन्ट्रपिनर हुँ’, उनी भन्छन्, ‘म आइकन भइसकेको छैन। सेलिब्रिटी पनि होइन। भोलि हुन सकिन्छ भन्ने विश्वास चाहिँ छ।’

आफ्नो काममा ढुक्कले लागिपरेका श्याम एक उर्जाशील व्यवसायी हुन्। अढाइ वर्ष भयो उनले व्यवसायमा हात हालेको।

आफूले अहिले नेतृत्व गरिरहेको व्यवसायका बारेमा कुरा गर्दा श्याम विगततिर फर्किन्छन्। २०६९ सालमा धादिङमा स्वयंसेवकका रुपमा आफ्नो जीवनको करिअर आरम्भ गरेका उनले टेक्निकल कोअर्डिनेटर, प्रोजेक्ट अफिसर र म्यानेजर हुँदै अघि बढेका थिए। 

साना किसान जिल्ला कृषि सहकारी संघमा श्यामको स्वयंसेवी भूमिकामा पारिश्रमिक थियो, जम्मा ९ हजार ५०० रुपैयाँ।

श्यामको पढाइ पनि जारी थियो। उनी टेक्निकल हेडका रुपमा कार्यरत थिए। 

श्यामको कामबारे जानकारी पाएपछि एउटा कम्पनीले कुनै प्रक्रियामा नगई अन्तरवार्ता पनि नलिई उनलाई डाइरेक्ट जब अप्रोच गर्यो। त्यतिबेला १८ हजारजति मासिक तलब बुझिरहेका युवालाई अफिसरका रुपमा ४० हजार मासिक पारिश्रमिक हुनेगरी अफर गर्यो। उनले अफर स्वीकार गरे अनि एक्सन नेपालमा आबद्ध भए, धादिङमै।

एकै वर्षमा त्यसै संस्थामार्फत फेरि प्रोजेक्ट कोअर्डिनेटर भए। श्याम त्यस समय अक्सफामको पाँचवटा प्रोजेक्ट हेर्थे। उनको माग र चार्म बढ्दै गयो।

६५ हजारजति उनको मासिक तलब थियो। कृषि र सहकारी व्यवस्थापनका तालिमहरु पनि सञ्चालन गर्थे। फुर्सदको समय भयो कि केही न केही व्यावसायिक काममा लागिहाल्थे।

कतै व्यापारिक मेला हुँदै गरेको जानकारी पाउनेबित्तिकै स्टल बुकिङ गरेर कमाइ हुने अवस्था सिर्जना गर्नेगरी काम गरिहाल्थे, उनी। उनमा पहिलेदेखि नै व्यवसायको भूतसवार भएको थियो। १५ दिनमा २ लाख कमाएको रेकर्ड पनि छ श्यामसँग।

श्याम महिनामा ९० हजारको रेन्जमा कमाइ गर्थे। यो २०७३ सालतिरको कुरा थियो।

प्रोजेक्ट कोअर्डिनेटरको भूमिकामा श्यामले २ वर्ष काम गरे। त्यसबीचमा उनले आफूलाई बलियो बनाउने काममा लगानी गरे। अध्ययन गर्ने, सिक्ने र नयाँ सोचहरु निर्माण गर्ने काममा लागिपरे।

सपना बुन्नका लागि एसियाका इन्डोनेसिया, बंगलादेश, भुटान, सिंगापुर, मलेसिया, थाइल्याण्ड, भियतनामलगायतका देश त्यसबीचमा घुम्न गए आफ्नै पहलमा। केही प्रोजेक्टका माध्यमबाट जाने अवसर पाए पनि अधिकांश यात्रा आफ्नै लगानीमा गरेका थिए। उनका लागि त्यो एक्स्पोजर भिजिट थियो, केही सिक्ने उद्देश्यले। ३५–४० दिनजति श्यामले देशबाहिर बसेर खोजी र अध्ययन गरे।

खासमा जागिर छाड्ने योजनाले श्याम सिक्नका लागि गएका थिए। कसैलाई यो कुरा सुनाएका थिएनन्। 

१७–१८ घन्टा दैनिक काम गर्थे। महिनौँसम्म गरेको त्यो मेहनतले खारिने अवसर पाए। आज ५० औँ हजार मानिस अघि बोल्नुपरे पनि कुनै हिच्किचाहट हुँदैन, उनलाई। व्यवस्थापन सीपहरु, टिम मोबिलाइज गर्ने र मानिसलाई ट्याकल गर्ने सीपहरु, कोअर्डिनेट गर्ने सीप र प्यासन बनाउने स्किल उनले जागिरकै क्रममा सिके।

जागिरमात्र सोचिरहेको मान्छेको जीवनमा यूटर्न भयो। झन्डै ३ वर्षको अवधिमा आफूले हासिल गरेको आर्थिक र क्षमता विकासको उपलब्धिले ‘अब म केही गर्न सक्छु’ भन्ने श्यामलाई बोध भयो।

राम्रो पोजिसनमा जागिर खाइरहेको अवस्थामा थियो। जीवन सेटल गर्ने सवालमा मात्र सोच्ने हो भने कुनै अप्ठेरो थिएन। श्यामसँग बचत भने कहिल्यै भएन। उनले कमाएको सबै रकम विदेश घुमेर सकेका थिए। व्यक्तिगत क्षमता विकासमा लगानी गरे।

‘मलाई म बनाउन लगानी गरेँ’, श्याम भन्छन्। विदेश घुमेर आउँदा फेरि जागिर खाने कि भन्ने अवस्थामा पुगिसकेका थिए किनभने उनीसँग पैसा थिएन। तर पनि उनले जागिरमा मन लगाएनन्।

जागिर छाडेको कुरा सुनाउँदा सबैजनाले त्यति राम्रो जागिर नछाड्नुपर्ने भन्ने तर्क गरिरहेका थिए। श्याम भन्छन्, ‘मैले जागिरको सिलसिलामा सिनियर सिटिजनहरु भेटेँ अधिकांश। ४० या ५० को उमेरको रेन्जमा। मैले उनीहरुको जीवन हेरेँ। जागिर खाँदा, केही वर्षमा प्रोजेक्ट सकिन्छ। फेरि अर्को खोज्नुप¥यो। प्रतिस्पर्धा गर्नुप¥यो। सजिलो पनि हुन्न। कन्फर्म पनि हुँदैन। जब सेक्युरिटी छैन। जीवन अरुको निर्देशनमा दौडेरै सकिने भयो। झोला बोकेर कुदेको कुदेई।’

‘बीस वर्ष जागिर खाएपछि मैले आगामी पुस्तालाई के दिन्छु ?’ श्यामको प्रश्न छ।

नयाँ पुस्तालाई घर र जग्गा किनिदिने कि ? एउटा ब्रान्ड बनाइदिने ? यही प्रश्नको उत्तर दिनका लागि श्याम दिनरात खटिरहेका छन्। आज गरेको लगानी भविष्यका लागि हो र ब्रान्ड बनाएपछि आफ्सेआफ आम्दानी हुन थाल्छ भन्ने उनको प्रस्ट बुझाइ छ।

यो कुरा दिमागमा आएपछि श्यामले जागिर छाडे। जागिर छाड्दा उनीसँग ५० हजार रुपैयाँ पनि साथमा थिएन।

स्कुल पढ्दा कक्षा ९ देखि कहिल्यै पनि घरमा खर्च मागेनन्। कुल्ली काम गरेरै आफ्नो पढाइका लागि खर्च जुटाएका उनले अब जीवनको संघर्ष आफ्नै स्टेयरिङमा घुमाउने सोच गरे। किताब, कलम, कापी किन्नेलगायतका खर्च आफैंले कमाएकोबाट टार्थे। उनले आजसम्म घरमा पैसा मागेका छैनन्।

अहिले करिब २ करोडको उनको लगानी छ तर उनले आफ्नै व्यक्तिगत प्रयासमा गरिरहेका छन्। परिवारसँग उनले लिएको भनेको आशीर्वाद, प्रेरणा, उत्प्रेरणा र माया नै हुन्।

जिन्दगीको यूटर्न गराउन धेरै कुराले भूमिका निर्वाह गरेका हुन्छन्। श्यामको जीवनमा स्टिब जब्सको कथा प्रेरणाको स्रोत हो। जीवनमा ब्राण्ड बनाउने सपना बुन्न स्टिबको एप्पल स्टोरीले सघायो। उनी अहिले जसरी पनि एप्पल कम्पनीकै ल्यापटप, फोन र डिभाइस बोक्छन्। 

स्क्रिनमा स्टिब जब्सकै फोटो हुन्छ, जहिले पनि। श्यामका लागि स्टिब नै हरपलका प्रेरणादायी आइकन हुन्। व्यवसायको रणनीति त्यसरी बनाउने सोच गरे उनले। उनी भन्छन्, ‘प्यासन जानेँ मैले।’

आजको भोलि त केही हुन्न रहेछ। लामो अवधिको त्याग र समर्पण चाहिने कुरा श्यामले पनि बुझे। दुःख गर्नुपर्छ भन्ने बुझे।

अनि सुरु भयो जरा ग्यालरी। धादिङमा नै सुरु गरे। तीन महिना त्यहाँ काम गरे। व्यापार पनि राम्रो भयो। एक्वेरियम, डेकोरेसन, गिफ्ट आइटमलगायतका सामानहरुको व्यापार थियो, त्यो। अब उनलाई फैलिन आवश्यक लाग्यो। उनी भन्छन्, ‘हेर्नलायक स्टोर बनाएको थिएँ।’

व्यापार फैलाउने सोच गरे। तर लगानीका लागि पैसा उनीसँग थिएन। सानैदेखि मानिसहरुले ट्रस्ट गर्ने भएकाले उनले आफन्त र साथीभाइसँग कुराकानी गरेर पनि रकम जम्मा गरे।

राम्रै ऋण लिएर राष्ट्रिय पोसाक घर २०७४ माघमा बानेश्वरमा सुरु गरे। यसले राम्रै व्यापार गर्न थाल्यो, २ वर्षमा करिब ७ हजार सेवाग्राहीसँग काम गर्न सक्यो। मासिक अढाइ लाखको मुनाफा लिन सक्ने गरी यसको व्यापार फस्टायो।

राष्ट्रिय झन्डा, राष्ट्रिय पोसाकको अभियानको नेतृत्व गरेका कारण पनि हामीले गर्व गर्न सक्ने विश्वास र साथ पाउन सक्यौं भन्ने श्यामलाई लाग्दछ। ‘७७ वटै जिल्लामा हाम्रो जनसम्पर्क राम्रो छ’, श्यामको सम्पत्ति त्यही हो।

क्रमशः व्यावसायिक यात्रामा श्यामलाई रस बस्न थाल्यो। श्याम मल्टिटास्किङ र नयाँ–नयाँ काममा रुचि राख्ने स्वभावका भएका कारण पनि उनको यात्रा अग्रगामी भइरहेको छ भन्ने उनलाई लाग्दछ।

श्याम अचम्मका कुरा पनि गर्छन्, ‘मलाई पैसा कमाउनु नै छैन।’ उनलाई राम्ररी थाहा छ पैसा कसरी कमाइ हुन्छ। ‘एउटै कुरा के भने के कुरालाई ब्रान्ड बनाएर दीर्घकाल लैजान सकिन्छ ? यही कुरामा सोचिरहेछु। ब्रान्ड बनाएपछि रिभेन्यू त निरन्तर आइरहन्छ’, उनी ढुक्क छन्।

लगानी कथाको कुरा गर्दा भुकम्प र त्यसपछिको समयको प्रसंगमा श्याम सम्झन्छन्, ‘भुकम्पले चर्केको घर काटेर आधा घरमा बसेका थियौँ। घर बनाउनु पर्नेथ्यो। परिवारमा पनि घर बनाउनुपर्छ भन्ने थियो। घर बनाउन न सरकारले दिएको राहतले पुग्थ्यो न लाखौँ ऋण लिने अवस्था थियो। ऋण लिएर घरमा पैसा थन्क्याउने मन थिएन।’

घरमा लगानी गरौँ भन्ने प्रस्ताव आइरहेको बेलामा श्याम भने ‘रिच ड्याड पोर ड्याड’ नामक किताब पढिरहेका थिए। रिटर्न नआउने कुरामा, नाफा नहुने क्षेत्रमा लगानी किन गर्ने ? दायित्व बढाउने कुरामा खर्च नगर्ने कुराले हिट गरिरहेको थियो, उनलाई। 

‘महिनामा एक लाख कमाउन सकिने व्यवसाय बनाउन सकिने क्षमता मसँग छ भने आइडिया छ भने किन दायित्वमा लगानी गर्ने ? आनन्दको काम छाडेर आएको मान्छे अब फेरि किन पछाडि फर्किने?’

‘जुन टाइममा बन्छ महल बन्छ, मान्छेले आहा भन्छ, अरुलाई देखाउन किन घर बनाउने ऋण लिएर ?’, यही सोचले श्यामले घर बनाउने प्रस्तावलाई सुनेनन्। अनि उनले घर बनाएनन्।

श्यामको पर्समा कहिल्यै पैसा हुँदैन। बैंक खातामा बढी भए दुई हजार रुपैयाँ हुन्छ। त्यो पनि मोबाइलमा रिचार्ज गर्नका लागि। श्यामलाई बैंक खातामा टन्न रकम जम्मा गरेर अनि लक्जरी गाडी चढेर मस्तीको जीवन जिउनु छैन। उनलाई छ, युवावयमै नेपालको चिनिएको सफल व्यवसायी बन्नु।

साठी वर्षमा हैन, ढिलामा पनि ३५ वर्षमा केही गर्नुछ। अहिले २७ वर्षको उमेर छ उनको।

भिन्टेज अर्को कम्पनी हो, श्यामले लिड गरिरहेको। यसको काममा, टायरहरुको अपसाइक्लिङ् गरेर ४० वटा डिजाइन बन्छ। खेर गएका, बिग्रेका सवारीसाधनका टायरबाट टेबल, कुर्सी, सोफालगायतका सामान बन्छन्। उनको यो आइडिया नेपालमा नयाँ हो।

भिन्टेज मोडेलमा खेर गएका सामानको उपयोग गर्ने, काठ र लाइटको पनि काम गर्ने गरी यो व्यवसायले गति लिइरहेको छ। मासिक ५० देखि ७५ हजार यसबाट आम्दानी गर्छन्।

माली दाइ पनि उनको कम्पनी हो। धादिङको व्यवसायमा उनको सेयर छ तर त्यसको लिड त्यतिबेला सँगै काम गरिरहेकी एकजना दिदीले गर्छिन्।

स्कोप देखेपछि लगानी गर्ने श्याम भन्छन्, ‘म एक्लै त केही पनि हैन। काम गर्न टिम चाहिन्छ। अनि जरा पार्टनर्स सुरु भयो। इन्टेरियर डिजाइन र आर्किटेक्ट फिल्डको काम गर्न। तीनजना आर्किटेक्ट र १ जना इन्जिनियरसहित ५ जनाको टिममा काम भइरहेको छ।’ 

अपरेसन हेडका रुपमा श्यामले काम गरिरहेका छन्। एक वर्ष नपुग्दै ९५ लाखको कारोबार भएको छ। लकडाउन भएको अवस्थामा पनि कामहरु भइरहेका थिए।

पोखरामा काम गरिरहेको कम्पनी इजी फ्यासिलिटीलाई कोभिड–१९ महामारीलाई अवसरका रुपमा लिँदै काठमाण्डौ ल्याए। जरा ग्रुप अफ कम्पनी र इजी फ्यासिलिटी मिलेर सुरु गरेको डिस्इन्फेकसन र क्लिनिङको ३ वटा प्रोजेक्ट साइन पनि भइसक्यो। 

क्लिनिङको प्रोजेक्टमा धेरै सम्भावना निर्माण भइरहेको छ। जोशिला श्याम भन्छन्, ‘६० वटा कम्पनीमा त हामीले यो लकडाउनकै अवधिमा प्रोपोजल लिएर गयौँ।’

जरा ग्रुप अफ कम्पनीको ब्रान्डमा काम गरिरहेको छु भन्ने श्यामको सोच यस्तो छ, ‘पैसामात्र कमाइ हैन सिकाइ पनि कमाइ हो। लडेपछि थाहा हुने हो, उठ्ने कुरा।’

कल्पनाशक्ति एकदम महत्वपूर्ण मान्ने श्याम हरेक क्षण केही न केही नयाँ सोच र नवीन रणनीति बारे चिन्तन गर्छन्। उनलाई लाग्छ, ‘यो समयमा अवसर खोज्ने हो, ठप्प हुने अवस्थामा पनि केही न केही विकल्प खोजिरहने हो।’

शैक्षिक क्षेत्रमा लगानी गरेकोलगत्तै लकडाउन भो। श्यामलाई प्रेसर छ। अब यो टाइममा कमाउने कसरी त ? त्यसैले एउटा काममा मात्र अड्किने हो भने संकटमा त्यही व्यवसाय ठप्प हुँदा के गर्ने ? भन्ने प्रश्नको जवाफमा उनी मल्टिपल व्यवसायमा लागेको हुन्। उनी भावुक हुँदै भन्छन्, ‘स्कुलमा गरेको लगानी चाहिँ मेरो भावना हो। व्यवसाय कम हो यो।’

श्याम हरेक दिन एउटा नयाँ आइडिया सोच्छन्। उनको एकमात्र सिद्धान्त हो, कुद्नुपर्छ। सिर्जनात्मक कुरा सोच्न मल्टिपल कामलाई मर्ज गरेर सोच्न सक्नुपर्छ। स्कोप देख्न सक्नुपर्छ व्यवसायको।

श्यामको अहिलेको संकटबारे भन्छन्, ‘अहिले पोसाक घरको घाटा छ तर सधैँका लागि त होइन नि। आत्तिन्नँ म।’ सकारात्मक कुरा सोचेर हरक्षण काममा हिँडिरहने अनि लागिरहने श्यामको फर्मुला हो, काममा जवान हुने।

मल्टिटास्कर हुँदा स्ट्रेस बढ्छ। कामको व्यवस्थापन गर्न कठिन हुन्छ। तर उनले यसलाई सहजै व्यवस्थापन गरेका छन्। भन्छन्, ‘तनाव थेग्न नसक्ने मान्छेलाई धेरै अप्ठेरो पर्छ। म कामलाई सन्तुलनमा राख्न लिस्ट बनाउँछु। मानसिक रुपमा क्याल्कुलेट गर्छु। योजनाअनुसार काम गर्छु। हरेक साताभित्र गर्नैपर्ने अनिवार्य काम प्लानसिटमा र माइन्डमा सेट गर्छु।’

‘मानिसहरु प्रेसर लिनै चाहँदैनन् र जे कुरा पनि प्रेसर हुन्छ’, श्याम भन्छन्, ‘म सबैभन्दा बढी काममा इन्जोय गर्छु। म घुमेर रमाउने, खेल्ने केही गर्दिनँ।’

श्यामले पढ्ने किताब पनि व्यवसायसँग सम्बन्धित हुन्छन्। जीवनीहरु पढ्छन्। 

फिल्म पनि बायोग्राफी सम्बन्धित हेर्छन्। कुनै फिल्मको सिन व्यवसायको आइडियाका लागि काम लाग्ने भयो भने उनी स्क्रिनसट गछनर््। कुनै पनि मोडल, डिजाइन, स्टाइल, आइडिया काम लाग्ने हुन्छन्।

राती सुत्ने बेलामा पुराना क्लासिक गीत सुन्छन्।

यति व्यस्त भएका कारण साथी सर्कल छुट्ने, परिवारमा समय दिन नसकिने, लभ अफेयर सफल नहुने अनुभव श्यामको पनि छ। उनी भन्छन्, ‘मैले कामबाहेक केही देखेको छैन। मेरो साथीभाइ सर्कल नै छैन। मलाई केही मतलब नै लाग्दैन।’

मोबाइल फोन चलाउने दिनमा अधिकतम १ घन्टा हो। त्यो पनि फुर्सदमा बसे भने। उनलाई फुर्सद लिएर बस्नु नै छैन।

कामप्रतिको श्यामको लगाव बलियो छ, ‘काम र करिअरको कुरालाई लिएर मैले कुनै कम्प्रोमाइज गरिनँ र गर्दिनँ।’ भन्छन्, ‘मेरो लभ अफेयर थियो। यही स्वभावका कारण ब्रेकअप नै भयो। म घरमा त मुड चल्दा जाने हो।’

स्कुल पढ्दा फिल्मको हिरो बन्ने सपना बोकेको केटो स्कुल लेभलको पढाइ सकेर फिल्म सिक्न मुम्बई हिँडेको थियो। अहिले सम्झिँदा कहानीजस्तो लाग्छ, उनलाई नै।

फिल्मको लाइनमा लागेनन् तर श्यामले सडक नाटक, रेडियो नाटक र थियटर लाइनमा केही अनुभव हासिल गरे। उनले बुझे, ‘मनी इज पावर, पावर इज एभ्रिथिङ’। अनि उनले सबै कुरा चटक्कै छाडेर व्यवसायमा नै तल्लीन भएर लागेका हुन्।

अहिले व्यवसायको जिरोमा पुग्न माइनसबाट अघि बढिरहेको छु भन्ने श्याम भन्छन्, ‘जिरो पुगेपछि दौडन सकिन्छ।’ 

नेपालमा युवा व्यवसायीका रुपमा काम गर्दा श्यामले छोटो अवधिमै भोगेको चुनौती हो, सिन्डिकेट। माथिल्लो तप्कामा बसेर काम गर्ने पुँजीपतिहरुले त्यो सिर्जना गरेको उनको मत छ। साना व्यवसायी मान्छे नै होइनजस्तो व्यवहार गरेर कागतीजत्तिकै निचोर्ने प्रवृत्ति छ, नेपालमा। 

श्याम भन्छन्, ‘बैंकमा लोन चाहियो भने काठमाण्डौमा घर चाहिन्छ। घर नबनाई व्यवसायमा लागेको मान्छेले घर धितो राखेर लोन लिन्छ त?’ 

पैसा बचाउने पक्षमा छैनन्, श्याम। बरु लगानी गर्ने पक्षमा छन्। अहिलेसम्म उनले सेयर मार्केटमा चाहिँ लगानी गरेका छैनन् र इन्स्योरेन्स पनि गरेका छैनन्।

श्यामको ध्यान चाहिँ कमाउने कुरामा छ। तर, अस्वस्थ किसिमको बजार प्रतिस्पर्धाले पनि दुःख दिने उनको अनुभव छ। 

सरकारी तवरबाट यस्तो होस् कि बिना ब्याज बिना धितो लोन दिन सकोस्। युवाको सपना, योजना र उर्जामा लगानी गर्नुपर्नेछ, अब।

घरजग्गा जमिन सबै थियो भने किन यसरी घोटिनुपथ्र्यो ? ‘कृषिका लागि छुट्याएको रकम घरजग्गामा लगानी भएको प्रतिवेदन आउँछ अनि २० वटा बाख्रा पाल्न धितो चाहिन्छ। कसरी हुन्छ के समृद्धि ?’ श्यामको प्रश्न छ, ‘हामीजस्ता साना व्यवसायीलाई उठ्नै नदिने अवस्था र वातावरण छ। पार्टीको झन्डा बोक्नेहरुकै वरिपरि सुविधा र अवसर हुने। राष्ट्रिय झन्डा बोक्नेहरुको मूल्य खोइ ?’

युवाहरुका लागि श्याम भन्छन्, ‘कुदिसकेपछि थाहा हुन्छ गोडा दुख्ने नदुख्ने। दुख्ला भनेर नदौडिने होइन। प्यासन र डेडिकेसन चाहिन्छ।’