काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुको आधारभूत पक्ष भन्ने बित्तिकै प्रतिशेयर आम्दानी, मूल्यआम्दानी अनुपात, नेटवर्थ प्रमुख रहन्छ । यसले कम्पनीको चुरो वित्तीय अवस्था बताउँछ भने खुद ब्याज आम्दानी र आम्दानीको स्रोत, खराब कर्जाको अवस्था र संभावित नोक्सानी व्यवस्थाबाट फिर्ता, पुँजीकोषको अवस्था, व्यवसायिक विस्तार, खुद सम्पतिमा प्रतिफलको दर, बचतको आकार र लगानी तथा ऋण प्रवाह, सिसिडी रेसियो जस्ता पक्षहरुलाई पनि विस्तृत रुपमा अध्ययन गर्नुपर्छ । 

खुद ब्याज आम्दानी र प्रतिशेयर आम्दानी उच्च भएता पनि न्यून जगेडा कोष वा पुँजीगत आधार नै नकारात्मक भएको अवस्थामा कम्पनीले मुनाफा वितरण गर्नै नसक्ने हुनसक्छ । यस्तै, लगानीअघि बैंकहरुको निक्षेप र कर्जा परिचालनतर्फको प्रगति पनि हेर्नुपर्छ ।

कतिपय अवस्थामा संभावित नोक्सानी व्यवस्थाबाट फिर्ता, सम्पत्ति बिक्रीबाट मुनाफा जस्ता गैरव्यवसायिक मुनाफाले कुल मुनाफामा ठूलो योगदान दिएको हुनसक्छ । कम्पनीहरुबाट प्रकाशित त्रैमासिक वित्तीय विवरण अध्ययन गर्ने र त्यसको संपरीक्षण गर्ने बानी बसाल्नु पनि उत्तिकै अपरिहार्य हुनेछ । कहिलेकाही गलत वा त्रुटिपूर्ण विवरण प्रकाशित भएका पनि हुनसक्नेतर्फ लगानीकर्ता चनाखो हुनुपर्दछ ।

अहिले चाहि हामीले देशका २८ वाणिज्य बैंकहरुले प्रकाशित गरेका दोश्रो त्रैमासको बित्तीय विवरणका प्रमुख १० सूचकहरुको चिरफारको प्रयास गरेका छौ । खूद नाफा, संचालन मुनाफा, खूद ब्याज आम्दानी, निक्षेप तथा कर्जा परिचालनतर्फको प्रगति, प्रतिसेयर आम्दानी, नेटवर्थ, मूल्य आम्दानी अनुपात लगायतका पक्षहरुलाई टेबलमार्फत तुलनात्मक विश्लेषण गरिएको छ । प्रमुख १० सूचकहरुमा कसले कुन स्तरको प्रगति गरेका छन्, त्यसको यहाँ मिनी अपरेसन गरिएको छ ।

रिजर्ब र खूद ब्याज आम्दानी
दोश्रो त्रैमासमा रिजर्ब र खूद ब्याज आम्दानीतर्फको प्रगतिमा जनता बैंक अगाडि देखिएको छ । यो बैंकले रिजर्बकोष २२१ प्रतिशत र खूद ब्याज आम्दानीतर्फ १३८.५६ प्रतिशतको फड्को मारेको हो ।

रिजर्बकोषतर्फको प्रगतिमा उत्कृष्ट ५ बैंकमध्ये अन्यमा राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, प्रभू बैंक, सेञ्चुरी कमर्सियल बैंक रहेका छन् । 

यस्तै,  खूद ब्याज आम्दानीमा  कुमारी बैंक, सेञ्चुरी कमर्सियल बैंक, एनआइसी  एशिया र स्ट्याण्डर्डले राम्रो प्रगति गरेका छन् । तलको टेबलमा दुवै सूचकमा बढोत्तरीको क्रमअनुसारको सूचि राखिएको छ:

निक्षेप र कर्जा
दोश्रो त्रैमासमा निक्षेप र कर्जा परिचालनतर्फ पनि जनता बैंक नेपालकै प्रगति धेरै देखिएको छ । निक्षेपतर्फ प्रगति गर्ने अन्य ४ बैंकहरुमा क्रमशः सेञ्चुरी कमर्सियल बैंक, एनआइसी एशिया, कुमारी  बैंक र स्ट्याण्डर्ड चार्टर्ड रहेका छन् । यस्तै, कर्जा परिचालनतर्फ राम्रो  प्रगति गर्ने अन्य ४ बैंकहरुमा क्रमशः सेञ्चुरी, एनआइसी एशिया, कुमारी बैंक र प्राइम कमर्सियल बैंक रहेका छन् । गत वर्षको दोश्रो त्रैमासको तुलनामा यो आबको सोही अवधिमा निक्षेप र कर्जातर्फको प्रगतिको  आधारमा तयार टेबल हेर्नुहोस्:

संचालन र खूद नाफा
संचालन नाफातर्फ सिभिल बैंकले १७०८७ प्रतिशतको चमात्कारिक फड्को मारेको छ भने खूद नाफातर्फ एनसीसी बैंकले ३५६.७४ प्रतिशतको फड्को मारेको छ । संचालन नाफामा राम्रो बढोत्तरी गर्न सफल बैंकहरुमा एनसीसी बैंक, राष्ट्रिय वाणिज्य, जनता बैंक र लक्ष्मी बैंक उत्कृष्ट ५ मा समेटिएका छन् । 

यस्तै, खूद नाफातर्फको प्रगतिको आधारमा उत्कृष्ट ५ मा परेका बैंकमा एनसीसी बाहेक कुमारी, जनता, राष्ट्रिय वाणिज्य र सेञ्चुरी रहेका छन् । संचालन र  खूद नाफातर्फ गत वर्षको तुलनामा बढीदेखि कमको क्रममा राखी तयार टेबल हेर्नुहोस्:

नेटवर्थ र इपीएस
प्रतिसेयर नेटवर्थ र वार्षिकीकृत प्रतिसेयरतर्फको आम्दानीमा प्रगतिको हिसाबले सबैभन्दा लोभलाग्दो बढोत्तरी राष्ट्रिय वाणिज्य बैंक र एनसीसीले गरेका छन् । प्रतिसेयर नेटवर्थ राष्ट्रिय वाणिज्य बैंकबाहेक राम्रो प्रगति गर्ने अन्य बैंकहरुमा कुमारी, नेपाल बैंक, बैंक अफ काठमाण्डू र प्रभू रहेका छन् । यस्तै, वार्षिकीकृत प्रतिसेयर आम्दानीको प्रगतिमा नम्बर एकमा एनसीसी बैंक छ भने त्यसपछि बाँकी उत्कृष्ट ५ बैंकमा क्रमशः राष्ट्रिय वाणिज्य बैंक, एनएमबी बैंक, सिभिल बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक रहेका छन् । २८ वटै बैंकहरुको यी दुई सूचकतर्फको प्रगति टेबलमा प्रस्तुत गरिएको छ:

एनपिएल र पीई
वर्तमान व्यवस्था अनुसार एनपिएल बढीमा ५ प्रतिशत हुनुपर्छ र यो भन्दा बढी भएको बैंक तथा वितिय संस्थाले मुनाफा भए पनि लाभांश वितरण गर्न सक्दैन । यसले ऋणको गुणस्तरीयतासँगै व्यवस्थापनको चातुर्यता पनि देखाउँछ । एनपिएल जति कम भयो, त्यति राम्रो ।

यसरी हेर्दा अघिल्लो वर्षको दोश्रो त्रैमासको तुलनामा यो वर्ष यस्तो खराब कर्जा घटाउने मामलामा एभरेष्ट बैंक अगाडि देखिएको छ । यस्तै, कर्जा घटाउनेतर्फको प्रगति प्रतिशतका आधारमा उत्कृष्ट ५ का पर्न  सफल अन्य बैंकहरुमा एनआइसी, एनएमबी, स्ट्याण्डर्ड चार्टर्ड र एनसीसी रहेका छन् ।

सामान्यतः पिइ रेसियो १० भन्दा कम भएकोलाई निकै राम्रो मानिन्छ, तर कम्पनी र बजारको अवस्थाअनुसार कति पिइ उपयुक्त भन्ने आफैंले निर्णय गर्नुपर्दछ । पीई रेसियोलाई भने क्रमअनुसार राखिएको छैन । बैंकहरुकै प्रगतिविवरणबाट लिइएको पीईलाई हालको बजार मूल्यका आधारमा आफैं पनि निकाल्न सकिन्छ । 

पीई निकाल्ने सूत्र : बजार मूल्य/प्रति शेयर आम्दानी

दोश्रो त्रैमासिक रिपोर्टका आधारमा  एनपिएल र पीईतर्फ कुन बैंकको कस्तो अवस्था छ, टेबल हेर्नुहोस्:

(टेबलमा प्रस्तुत सबै तथ्यांक बैंकहरुले प्रकाशित गरेका चालु आर्थिक वर्षको दोश्रो त्रैमासतर्फ अपरिस्कृत वित्तीय विवरणबाट लिइएको हो ।)