काठमाण्डौ । ब्रिटेनमा ३० वर्षपछि १२ कुना भएको सिक्का जारी गरिएको छ । 

पाउण्डको यो सिक्काको नक्कल गरेर सिक्का बनाउन लगभग असंभव रहेको विज्ञहरुले दाबी गरेका छन् । यसअघि गोलाकार सिक्काको बजारमा प्रचलन थियो र यसको धेरै नक्कल हुने गरेको घटनाहरु बेला बेला सार्वजनिक हुने गरेका थिए । 

मंगलबार जारी गरिएको यो सिक्कालाई विश्वकै सबैभन्दा सुरक्षित मुद्रा मानिएको छ । यो सिक्काको बीच एक होलोग्राम बनाइएको छ भने यसमा माइक्रो लेटरिङको समेत प्रयोग गरिएको छ । 

यो सिक्का पुरानो सिक्काको तुलनामा आकारमा केही ठूलो तथा चौडा छ, तर वजनमा निकै हलुुका रहेको एजेन्सीहरुले जनाएका छन् । तीन वर्षसम्मको टेस्टपछि नयाँ सिक्का बजारमा ल्याइएको ब्रिटेनका अधिकारीहरुले बताएका छन् । 

ब्रिटिस सरकारले आगामी ६ महिनासम्म बजारमा पुराना र नयाँ दुवै खालका सिक्काहरु प्रचलनमा रहने प्रष्ट्याएको छ । त्यसपछि भने पुराना सिक्कालाई फिर्ता गरिनेछ । बितेको ३० वर्षमा पाउण्डको नयाँ सिक्का जारी भएको यो नै पहिलोपटक रहेको मिडिया रिपोर्टहरुमा उल्लेख गरिएको छ ।