काठमाण्डौ । नेपाल राष्ट्रबैंकले ०७४ असार मसान्तसम्मको समयअवधि तोकेर वाणिज्य बैंक र विकास बैंकलाई साबिकको भन्दा चारगुणा बढीले पूँजी वृद्धि गर्नुपर्ने नीति बनाएसँगै तोकिएको पूँजी पुर्याउन मर्जर र हकप्रद तथा बोनस शेयरको बाढी नै आएको छ । बैंक तथा बित्तीय संस्थाहरुले पूँजी वृद्धिको उद्देश्यले हरेक वर्ष ठूलो संख्यामा जारी गरिरहेका हकप्रद तथा बोनस शेयरका कारण पूँजीबजार समेत गुल्जार बन्दै गएको छ । मुश्किलले १ हजार पुग्न नसकेको शेयरबजार परिसूचक(नेप्से) अहिले १५ सयतर्फको यात्रामा अगाडि बढिरहेको छ । यही अवस्थामा आगामी केही महिनाभित्रमै विभिन्न समूहका ३४ वटा कम्पनीको करिब १० अर्ब रुपैयाँ बराबरको हकप्रद शेयर निश्कासन हुने देखिएको छ । 

नेपाल धितोपत्र बोर्डमा परेको आवेदन अनुसार करिब १० अर्ब रुपैयाँको हकप्रद शेयर केही महिनाभित्रै निश्कासन हुन लागेको हो । बोर्डमा विभिन्न समूहको ३४ वटा कम्पनीले १० करोड २८ लाख कित्ता हकप्रद शेयर निश्कासनका लागि आवेदन दिएका बुझिएको छ । तीमध्ये अधिकांश बैंक तथा बित्तीय संस्था तथा बिमा कम्पनी छन् । बोर्डले हकप्रद निश्कासनका लागि परेको निवेदनलाई अगाडि बढाई अनुमति दिएपछि ती कम्पनीहरुलाई शेयर निश्कासन गर्न बाटो खुल्ने छ । सामान्यतया बोर्डबाट अनुमति पाएको २ महिनाभित्र कम्पनीले शेयर निश्कासन गरिसक्नुपर्ने हुन्छ । 

पूँजी वृद्धिका विभिन्न विकल्पमध्ये धेरै कम्पनीले हकप्रद र बोनस शेयर जारी गर्ने बाटो पक्रेपछि शेयरबजारको चहलपहल समेत बढेको छ । 

हकप्रद शेयर कम्पनीका शेयरधनीले मात्र खरीद गर्न पाउँछन । सम्बन्धित कम्पनीको सेयरको बजार मूल्य जति भए पनि शेयरधनीले अंकित मूल्य(प्रति कित्ता १ सयका दरले)मै खरीद गर्न पाउने भएकोले हकप्रदमा लगानीकर्ताको निकै ठूलो आकर्षण हुने गर्छ । कम्पनीले शेयरधनीबाटै पूँजी उठाउन चाहेको अवस्थामा हकप्रद शेयर निश्कासन हुने गरेको छ । 

बोर्डका अुनसार हकप्रद शेयरका लागि हाल ३ वटा वाणिज्य बैंक, १४ वटा विकास बैंक र १३ वटा फाइनान्स कम्पनीले आवेदन दिएका छन् । यसैगरी, २ वटा बिमा, १ जलविद्युत कम्पनी र नागरिक लगानी कोषले समेत आवेदन दिएका छन् । 

यता, केही कम्पनीहरुले ५ देखि ६ वर्षअघि नै आवेदन दिएका थिए । तर शेयर निश्कासन गर्नुअघि नै ती संस्था अन्य बित्तीय संस्थासँग मर्जर भएर नयाँ संस्था बनिसकेका छन् । यसको अर्थ, ती कम्पनीहरुमार्फत अब हकप्रद शेयर निश्कासन हुनेछैन । यस्ता कम्पनीहरुमा सिद्धार्थ फाइनान्स, आइएमई फाइनान्सियल इन्स्टिच्यूसन, गोर्खा विकास बैंक, पब्लिक डेभलपमेन्ट बैंक लगायत छन् । 

यसैबीच, अहिले सानिमा, एनआइसी एशिया र सिटिजन्स गरी तीनवटा वाणिज्य बैंकले हकप्रद शेयर निश्कासनका लागि बोर्डमा आवेदन दिएका छन् । सानिमाले दुई शेयर बराबर एक कित्ता, एनआइसी एशियाले चार बराबर १  कित्ता र सिटिजन्सले १० बराबर साढे ५ कित्ताका दरले हकप्रद शेयर निश्कासन गदैछन् । 

यसबाहेक हिमालयन, मेगा, माछापुच्छे लगायतका बैंकले पनि आवेदन दिने तयारी गरिसकेका छन् । यसबाहेक जनता, प्राइम, लक्ष्मी बैंक लगायतले पनि हकप्रद शेयर निश्कासनको प्रक्रिया अघि बढाउनेछन् । 
बढाउने बताएका छन् । 

कर्णाली डेभलपमेन्ट बैंक र नेपाल कमिन्यूटी डेभलपमेन्ट बैंकले छिट्टै निश्कासन गर्र्दैछन् । कर्णाली डेभलपमेन्ट बैंकले दुई शेयर बराबर एक कित्ता शेयरको दरले यही बैशाख ३० गतेदेखि निश्कासन गर्दैछ । नेपाल कम्युनिटी डेभलपमन्ट बैंकले पनि आउँदो जेठ २ गतेदेखि एक शेयर बराबर एक कित्ताका दरले शेयर निश्कासन गर्दैछ । 

प्रचार रणनीति परिवर्तन
धितोपत्र बोर्डले हकप्रद र लिलामको सूचना प्रभावकारी रुपमा प्रकाशित गर्न सम्बन्धित कम्पनी तथा बिक्री प्रबन्धकहरुलाई कडा निर्देशन दिंदै प्रचारको रणनीति केही परिवर्तन गर्दै फराकिलो बनाएको छ । लगानीकर्ताले सूचनाको अभावमा हकप्रद भर्न नपाएको तथा लिलामीमा आवेदन दिन नसकेको गुनासोको आधारमा लगानीकर्ताको हितलाई ध्यानमा राखी यस्तो व्यवस्था गरिएको हो । 

धितोपत्र निश्कासन व्यवस्थापलाई थप स्पष्ट गरी सार्वजनिक निश्कासन कार्यलाई स्वच्छ, पारदर्शी तथा व्यवस्थित रुपमा सम्पन्न गराउन धितोपत्र निश्कासनको क्रममा सार्वजनिक तथा हकप्रद शेयर निश्कासन सम्बन्धी विवरणपत्र, हकप्रद शेयर निश्कासन सम्बन्धी व्यवस्था तथा विवरणहरु, विवरण पुस्तिका, बिक्री प्रस्तावहरु सम्बन्धित निश्कासन तथा बिक्री प्रबन्धक तथा निश्कासनकर्ता कम्पनी  प्रत्येकको आफ्नो वेभसाइटमा तथा सार्वजनिक निश्कासनको लागि प्रकाशन गर्नु २ दिनअघि सोको एक प्रति बोर्डको वेभसाइटमा राख्नुपर्नेछ । 

नयाँ नियम अनुसार हकप्रद निश्कासनका बेला कम्पनी निश्कासन खुल्ला भएको पहिला हप्ता कम्तीमा २ वटा प्रमुख राष्ट्रियस्तरको पत्रिकामा र दोश्रो हप्ता कम्तीमा एउटा प्रमुख राष्ट्रिय आर्थिक पत्रिकामा सूचना प्रकाशित गर्नुपर्नेछ । 

साथै निश्कासन खुल्ला भएका तेश्रो हप्ता कम्तीमा २ वटा प्रमुख अनलाइन पत्रिकामा र चौथो हप्ता कम्तीमा २ वटा प्रमुख एफएम रेडियोमा सूचना दिनुपर्नेछ । कुनै कम्पनीले तोकिएको भन्दा बढी संचारमाध्यममा सूचना दिन्छु भन्यो भने त्यसमा कुनै छेकबार लाग्नेछैन । 

यस्तै, हकप्रद शेयर बाँकी रही बोलकबोल लिलामीबाट बिक्री गर्ने सूचना १५ दिनअघि नै कुनै दुई प्रमुख राष्ट्रियस्तरको पत्रिकामा प्रकाशित गर्नुपर्ने नियम समेत लागू गरिएको छ । यसअघि त्यस्तो सूचना ७ दिनअघि मात्र प्रकाशित हुने गरेको थियो । साथै सूचना प्रकाशन गर्नु २ दिन अगाडि उक्त सूचनाको एकप्रति विद्युतीय प्रति बोर्डको वेभसाइटमा राख्ने प्रयोजनका लागि उपलब्ध गराउनुपर्ने बोर्डले जनाएको छ ।