एजेन्सी । अमेरिकाको फ्लोरिडा राज्यमा एक शिकारीले ३ सय ६० केजी वजन भएको १५ फिट लामो राक्षसजस्तै ठूलो घडियाल गोहीलाई मारेका छन् । 

व्यवसायिक शिकारी ली लाइटसले बीबीसीलाई भनेका छन् कि त्यो भीमकाय घडियाल गोहीले उनको कृषि फर्मका पशुपंक्षीलाई लामो समयदेखि शिकार बनाउँदै आएको थियो । 

लीका अनुसार उनी र शिकारी गाइड ब्लेक गोडविनले आफ्नो कृषि फर्मको भ्रमणको क्रममा सोही घडियालले पशुपंक्षीलाई शिकार बनाउने गरेको पाएका थिए । त्यसपछि उनीहरुले कयौ दिन छलफल गरेर भीमकाय गोहीकै शिकार गर्ने योजना बनाए । योजनाअनुसार नै २० फिटको दूरीबाटै सो घडियालको उनीहरुले शिकार गरे । ली र उनका साथीले आफूहरुको १८ वर्षे शिकारी करिअरकै सबैभन्दा ठूलो जिवको शिकार गरेको यो नै पहिलोपटक भएको बताएका छन् । 

शिकार गरिएको यो जिव निकै ठूलो र चौडा आकारको छ । लीलाई यस्तो दुर्लभ जिव मारेकोमा कुनै पछुतो छैन । बरु उनले यो फराकिलो घडियालको छाला काडेर त्यसलाई आफ्नो उपज थन्काउने भकारीजस्तो बनाउने र मासु चाहि बाँडिदिने योजना रहेको सुनाए । 

लीले यसअघि पनि १३ फिट लामो घडियालको शिकार गरेका थिए । यस्ता शिकार उनीहरुका लागि निकै दुर्लभ हुन् र वर्षमा एकपटक मात्र भेट्न सकिन्छ । पेशेवर अमेरिकी शिकारीले १३ फिट लामो घडियालको शिकारका लागि १० हजार डलर शुल्क लिने गर्छन भने दशदेखि १२ फिट लामो घडियालको शिकार गर्ने शुल्क चाहि ४५ सय डलरसम्म असूल्ने गर्छन । लीका अनुसार यस्ता जनावरको शिकार गर्ने क्रममा उनीहरु जनावरलाई बढी चोट नलागोस् र ठूलो कष्टबिना नै शिकार पञ्जामा परोस् भन्ने कुरालाई बिचार गरिन्छ । लीले सन् १९८८ देखि हालसम्म करिब ५ हजार घडियालको शिकार गरिसकेका छन् । अमेरिकाको दक्षिणी राज्य फ्लोरिडा संसारकै यस्तो ठाउँ हो, जहाँको नदी, तलाउ र दलदलमा प्रशस्तै संख्यामा घडियाल र मगरमच गोही समेत पाइन्छ ।