काठमाण्डौ । ‘बैंक अफ दि इयर–२०१७’ लगायत यो वर्ष केही प्रतिष्ठित अवार्डबाट सम्मानित एनएमबी बैंकले आगामी आर्थिक वर्षदेखि खूद नाफालाई बढाएर ३ अर्ब माथि पुर्याउने प्रक्षेपण गरेको छ । 

यो बैंकले चालु आर्थिक वर्षमा २ अर्ब ३२ करोडको हाराहारीमा नाफा कमिने  र त्यसपछि आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ मा क्रमशः ३ अर्ब ६ करोड र ३ अर्ब ८५ करोड खूद नाफा आर्जन गर्ने प्रक्षेपण गरेको हो । 

बैंकको वर्तमान अवस्था र उसका प्रमुख सूचकहरु हेर्दा उसले गरेको प्रक्षेपण यथार्थभन्दा बाहिर लाग्दैन । 

बैंकले सार्वजनिक गरेको आगामी तीन वर्षको प्रक्षेपण अन्तर्गत अन्य प्रमुख सूचकहरुतर्फ पनि राम्रै फड्को मार्ने देखिन्छ । 

यो वर्षको अन्तसम्ममा ४ अर्ब १२ करोड माथि खूद ब्याज आम्दानी गर्नसक्ने देखिएको यो बैंकले ०७५/७६ मा ५ अर्ब ३० करोड र ०७६/७७ मा ६ अर्ब ८९ करोड यस्तो आम्दानी गर्न सकिने प्रक्षेपण गरेको छ । ब्याज आम्दानीमा प्रक्षेपित यो आँकडाले बैंक आगामी दिनमा व्यवसाय बिस्तारमा कतिसम्म आक्रामक बन्न खोज्दैछ भन्ने पनि देखिन्छ । 

यो वर्ष ३ अर्ब माथि संचालन मुनाफा आर्जन गर्नसक्ने यो बैंकले त्यसपछिका २ आर्थिक वर्षमा क्रमशः ४ अर्ब ५१ करोड र ५ अर्ब ६८ करोड यस्तो नाफा आर्जन गर्नसक्ने अवस्था रहेको प्रक्षेपित विवरणमा उल्लेख छ । 

एनएमबी बैंकले यो वर्षको नाफाबाट लगानीकर्तालाई ३९ करोड ७२ लाख बराबरको बोनस सेयर र ८२ करोड १२ लाख बढीको नगद लाभांश वितरण गर्नसक्ने क्षमता बनाएको छ । यस्तै, आर्थिक वर्ष ०७५/७६ मा ९० करोड बराबरको नगद लाभांश वितरण गर्नसक्ने र ०७६/७७ मा २ अर्ब बराबरको बोनस सेयर र ५२ करोड ६३ लाख बराबरको नगद लाभांश वितरण गर्नसक्ने प्रक्षेपण समेत गरिएको छ । 

आर्थिक वर्ष २०७१/७२ देखि नै यो बैंकले लगानीकर्तालाई वितरण गरेको बोनस हेर्ने हो भने निराशाजनक छैन  र प्रक्षेपित बोनसले समेत लगानीकर्तालाई थप उत्साहित बनाउने देखिन्छ । 

लगातार बोनस वितरण गर्नु र लगानीकर्तालाई खात हाली नहुने अवस्थामा रहेको बैंकमा लगानी गर्दा रिटर्न समेत अपेक्षित नै पाउने संभावना बलियो हुन्छ । दशकौंदेखि एक पैसा रिटर्न नदिएको बैंक भन्दा यो बैंकमा लगानी गर्नु लगानीकर्ताको हितमै हुने समेत उसको वासलातलाई अध्ययन गर्दा प्रष्टिन्छ । 

यो बैंकको आर्थिक वर्ष ०७३/७४ मा प्रतिसेयर नेटवर्थ १६५ रुपैयाँ रहेको छ भने चालु आर्थिक वर्षको अन्तसम्म १ सय ९६ रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ । यस्तै, ०७५/७६ मा २२२ रुपैयाँ पुग्ने समेत प्रक्षेपण गरिएको छ । पूँजी वृद्धिको चटारोमा परी बढेको पूँजीअनुसार नाफा कमाउन नसकेका बैंकहरुले आफ्नो नेटवर्थलाई बलियो बनाउन नसकिरहेको बेला यो बैंकले पनि स्पष्ट रुपमा प्रगतिपथमा आफूलाई उभ्याइरहेको देख्न सकिन्छ । 

यस्तै, अघिल्लो आर्थिक वर्ष २२.७१ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी चालु आर्थिक वर्षमा २९ रुपैयाँ १० पैसा, ०७५/७६ मा ३८ रुपैयाँ ३७ पैसा र ०७६/७७ मा ३८ रुपैयाँ ५४ पैसा हुने प्रक्षेपण गरिएको छ । प्रतिसेयर आम्दानी पनि आगामी तीन वर्षभित्र बढ्ने क्रममै हुने यसले देखाउँछ । इपीएस बढ्ने क्रममा हुनु लगानीकर्ताका लागि खुशीकै कुरा हो । 

बैंकको ०७४/७५ को अन्तसम्म कुल संचालन खर्चमा ४५ प्रतिशतको वृद्धिदर कायम हुने देखिन्छ । तर, ०७५/७६  र ०७६/७७ मा खर्चको वृद्धिदर २५ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरिएको छ । यसले संचालन खर्च घटाउँदै लैजाने र बैंकलाई प्रक्षेपित भन्दा बढी नाफा कमाउने हिसाबले अगाडि बढाउने बैंक व्यवस्थापनको रणनीतिलाई बुझ्न सकिन्छ।

चालु आर्थिक वर्षको अन्तसम्म एनएमबी बैंकको पूँजीकोष पर्याप्तता १७.३९ प्रतिशत हुने र त्यसपछि ०७५/७६ मा १४.७८ र ०७६/७७ मा १४.६४ प्रतिशत हुने प्रक्षेपण गरिएको छ । 

एनएमबी बैंकले आगामी जेठ ३० गतेदेखि १०० रुपैयाँ अंकित मूल्यमा २३३ रुपैयाँ प्रिमियम थपी प्रतिकित्ता ३३३ रुपैयाँको दरले १ करोड १४ लाख १५ हजार १ सय ६३ कित्ता साधारण सेयरहरुको थप निश्कासन गर्दैछ । इच्छुकले न्युनतम १० कित्ता र अधिकतम ५७०७० कित्तासम्म आवेदन दिन पाउने बताइएको छ । 

प्रमुख सूचकहरुमा निकै बलियो यो बैंकको दोश्रो बजारमा अन्तिम बिक्री मूल्य ३७० रुपैयाँ रहेको छ ।