काठमाण्डौ । नेपाल हाइड्रो डेभलपर लिमीटेडको आइपीओमा अचाक्ली आवेदन परेको छ । यो कम्पनीले साउन २७ गतेदेखि बिक्रीका लागि खुल्ला गरेको ३ करोड ९० लाख मूल्यको ३ लाख ९० हजार कित्ता आइपीओमा तेश्रो दिनसम्म मागभन्दा ४१.३५ गुणा बढी आवेदन परेको छ ।

आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकको काम गरिरहेको एनएमबी क्यापिटलका एक अधिकारीका अनुसार देशभरका १ लाख ७३ हजार आवेदकबाट तेश्रो दिनसम्ममा १ अर्ब ५० करोडको हाराहारीमा प्रस्ताव परिसकेको छ । 

नेपाल हाइड्रो डेभलपर लिमीटेडको आइपीओमा १० कित्ता अनिवार्य पाइन्छ भन्ने आशा गरेर आवेदन दिन तँछाडमछाड गर्नेहरुका लागि यो निकै अप्रिय खबर पनि हो । कारण, यो कम्पनीको आइपीओमा यति धेरै आवेदन परेको छ कि अब धितोपत्र बोर्डले बनाएको सार्वजनिक निश्कासनसम्बन्धी नयाँ नियमावली अनुसार सबैको भागमा १० कित्ता अनिवार्य पर्ने संभावना नै रहेन । नयाँ नियमावलीका कारण उत्साहित भएर आइपीओमा लगानी गर्नेहरु समेत अब साबिकको झै भाग्यकै भरोसामा पर्नुपर्ने भएको छ, त्यो पनि कडा प्रतिस्पर्धाका बीच । 

यो कम्पनीको आइपीओमा अचाक्ली आवेदन परेपछि सेयरको बाँडफाँडको लागि फेरि साबिकको झै चिठ्ठाप्रथालाई निर्मम रुपमा ब्यूँताउनुपर्ने अवस्था सिर्जना हुने देखिन्छ । 

यो कम्पनीको आइपीओको १० कित्ता अनिवार्य पाउने नियम कार्यान्वयनका लागि ३९ हजार भन्दा माथि आवेदन पर्नुहुँदैन थियो । 

यो कम्पनीको कुल निश्कासित आइपीओमध्ये १९ हजार ५ सय म्युुचुुअल फण्डहरुका लागि र ७ हजार ८ सय कित्ता कर्मचारीका लागि छुट्याइएको छ । बाँकी ३ लाख ६२ हजार ७ सय कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ । 

इच्छुक लगानीकर्ताले न्यूनतम ५० देखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिनसक्ने व्यवस्था मिलाइएको थियो । नेपालको एक मात्र क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले यो कम्पनीको आइपीओलाई ‘ग्रेड फोर रेटिङ’ प्रदान गरेको छ । यसको अर्थ यो कम्पनीको आधारभूत बित्तीय अवस्था कमजोर छ भन्ने पनि हो । 

यो जलविद्युत कम्पनीले गत मंसिरमा दोलखाका आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि २ लाख ६० हजार कित्ता सेयर आइपीओ गरेको थियो । आयोजना प्रभावित क्षेत्रका बासिन्दापछि सर्वसाधारणका लागि निश्कासन हुने आइपीओको पूँजीकरणपछि यो कम्पनीको चुक्तापूँजी २६ करोड रुपैयाँको उचाईमा पुुग्नेछ । यो कम्पनीले दोलखा जिल्लामा ३.५२ मेगावाट क्षमताको चर्नावती जलविद्युत आयोजना निर्माण गरी संचालन गरिरहेको छ ।