काठमाण्डौ । स्वदेशी लघुवित्तले खुलाएको ३ करोडको आइपीओमा ३ अर्ब ३५ करोड बढीको आवेदन परेको छ । 

सुनसरीको इटहरीमा मुख्य कार्यालय रहेको स्वदेशी लघुवित्तको आइपीओमा अचाक्ली आवेदन परेको हो । बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार अन्तिम दिन अनपेक्षित संख्यामा आवेदनहरु परेका छन् । कुल तथ्यांक हेर्दा मागभन्दा करिब १२३ गुणा बढी आवेदन परेको देखिएको छ । यति धेरै गुणा आवेदन निकै कम संख्याका कम्पनीको आइपीओमा मात्र पर्ने गरेको थियो । 

आस्वा र परम्परागत विधिबाट देशभरबाट ९३ हजार ३ सय २७ जनाले आइपीओमा आवेदन दिएका छन् । 

अन्तिम दिन मात्र यो कम्पनीको आइपीओमा देशभरबाट १ अर्ब ७९ करोड बराबरको प्रस्ताव परेको छ । तेश्रो दिन ८६ करोड बराबरको आवेदन परेको थियो । अन्तिम दिन परम्परागत विधिबाट भन्दा आस्वा प्रणालीबाट बढी रकमको आवेदन परेको छ । आस्वाबाट ९० करोड १९ लाख आवेदन परेको थियो भने परम्परागत माध्यमबाट ८९ करोड ६४ लाख बराबरको मात्र आवेदन परेको थियो । तेश्रो दिन पनि आस्वाबाट ४८ करोड र परम्परागतबाट ३९ करोडको हाराहारीमा आवेदन परेको थियो । यसले सार्वजनिक निश्कासनमा आस्वा प्रणाली प्रभावकारी बन्दै गएको समेत देखिएको छ । 

बिक्री प्रबन्धकका अनुसार आवेदकको संख्या १ लाख माथि नपुुगेकोले आइपीओको बाँडफाँड अबको ४० दिनभित्रमा सकिनेछ । 

इच्छुक लगानीकर्ताले न्यूनतम ५० देखि अधिकतम १ हजार ५ सय कित्तासम्मका लागि आवेदन दिनसक्ने व्यवस्था मिलाइएको थयो ।

यो माइक्रो फाइनान्स कम्पनीले १२ हजार कित्ता सेयर आफ्ना कर्मचारीका लागि, १५ हजार कित्ता १० वटा म्युुचुुअल फण्ड तथा बाँकी २ लाख ७३ हजार कित्ता सर्वसाधारणका लागि छुट्याएको छ ।

हाल यो कम्पनीको चुक्तापूँजी ७ करोड रुपैयाँ रहेको छ । आइपीओपछि १० करोडको उचाईमा पुुग्नेछ । यो कम्पनीको अधिकृत पूँजी २० करोड रुपैयाँ रहेको छ ।