काठमाण्डौ । नेपालमा शनिवार एकैपटक तीनजनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

थपिएका तीनैजना नयाँ संक्रमित सुदुरपश्चिमका हुन् । 

स्वास्थ्य मन्त्रालयका अनुसार मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र कैलालीका ३४ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । 

कैलालीकी ती ३४ वर्षीया महिला यसअघि धनगढीमा कोरोना संक्रमित फेला परेका युवाकी भाउजू हुन् । ती युवा देशका चौथो कोरोना संक्रमित व्यक्ति हुन् । 

योसँगै पहिलो पटक नेपालभित्रै अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पनि पुष्टि भएको छ । यो चरण निकै जोखिमपूर्ण हुन्छ । यसले बाहिरबाट कोरोना संक्रमण लिएर आएकाहरुले यहाँका व्यक्तिलाई समेत संक्रमण सार्न थालेको देखिने स्वास्थ्इ मन्त्रालयले जनाएको छ । 

तीनवटा केस थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ पुगेको छ ।