काठमाण्डौ । चारवटा लघुवित्त बित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । तपाई कतै अलमलिरहनुुभएको छ भने यी संस्थाहरुको सेयर आजै खरीद गरी लाभांश सुरक्षित गर्नुहोस् । 

आज सिभिल लघुवित्त बित्तीय संस्था, सूर्योदय लघुवित्त बित्तीय संस्था, रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक र नेरुडे लघुवित्त विकास बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । 

सिभिल लघुवित्तले गत वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई ४.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि आवश्यक ०.२३ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको छ । यो कम्पनीले आगामी पुस २१ गते प्रस्तावित लाभांश पारित गर्न वार्षिक साधारणसभा डाकेको छ, जसका लागि पुस ७ गते(भोलि)लाई बुक क्लोजको मिति तोकेको छ । यसको अर्थ पुस ६ गते(आज)सम्म यो कम्पनीको सेयर खरीद गर्नेले घोषित लाभांश पाउन सक्नेछन् । यो कम्पनीको दोश्रो बजारमा अन्तिम बिक्री मूल्य प्रतिकित्ता १ हजार रुपैयाँ रहेको छ । 

यसैगरी, सूर्योदय लघुवित्तको लाभांश सुरक्षित गर्नलाई समेत आजसम्म सेयर खरीद गर्नुपर्ने हुन्छ । यो कम्पनीले गत वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । संचालक समितिबाट गरिएको प्रस्ताव आगामी पुस २२ गते हुने साधारणसभामा पेश हुने कार्यक्रम छ । साधारणसभा प्रयोजनका लागि यो कम्पनीले समेत पुस ७ गते(भोलि)लाई नै बुक क्लोजको मिति तोकेको छ । यसको अर्थ आजसम्म यो कम्पनीको सेयर खरीद गरे घोषित लाभांश पाउन सकिनेछ । यो कम्पनीको दोश्रो बजारमा अन्तिम बिक्री मूल्य प्रतिकित्ता १२९३ रुपैयाँ रहेको छ । 

यस्तै, पुस २८ गते वार्षिक साधारणसभा आह्वान गरेको रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले समेत पुस ७ गते(भोलि)लाई बुक क्लोजको मिति तोकेको छ । यसको अर्थ पुस ६ गते(आज)सम्म यो कम्पनीको सेयर खरीद गरेकाहरुले मात्र वार्षिक साधारणसभामा सहभागी हुन र घोषित लाभांश प्राप्त गर्न सक्नेछन् । यो कम्पनीले गत वर्षको खूद नाफाबाट आफ्ना लगानीकर्तालाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको छ । यो कम्पनीको दोश्रो बजारमा अन्तिम बिक्री मूल्य प्रतिकित्ता ७३१ रुपैयाँ रहेको छ । 

उता, गत वर्षको खुद नाफाबाट १३ प्रतिशत बोनस सेयर र ७.६८ प्रतिशत नगद लाभांशको डबल अफर प्रस्ताव गरेको नेरुडे लघुवित्त विकास बैंकले समेत पुस ७ लाई नै बुक क्लोजको मिति तोकेको छ । यो कम्पनीले पुस २९ गते वार्षिक साधारणसभा आह्वान गरेको छ । साधारणसभामा सहभागी हुन, घोषित लाभांश पाउन लगानीकर्ताले यो कम्पनीको सेयर आजसम्म खरीद गर्नुपर्छ । यो कम्पनीको दोश्रो बजारमा अन्तिम कारोबार मूल्य प्रतिकित्ता ९९९ रुपैयाँ रहेको छ ।