काठमाण्डौ । धितोपत्र बोर्डले चालु आर्थिक वर्षको पहिलो ६ महिनाभित्रमा ४६ वटा संस्थाहरुलाई २७ अर्ब ७६ करोड रकम बराबरको धितोपत्र सार्वजनिक निश्कासनका लागि अनुमति दिएको छ । 

बोर्डले गत वर्षको यही अवधिको तुलनामा सार्वजनिक निश्कासन अनुुमतिको संख्या र रकम दुवैतर्फ बढोत्तरी गरेको हो । 

सार्वजनिक निष्काशन संख्याको आधारमा यस अवधिमा अघिल्लो बर्षको तुलनामा ६.९८ प्रतिशत तथा रकमको आधारमा ३०.४५ प्रतिशतले बृद्धि भएको पाइएको छ ।

जसअनुसार ९ वटा कम्पनीको रु २ अर्ब ८६ करोड रकम बरावरको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ), ३ वटा कम्पनीको रु २ अर्ब ६७ करोड रकम बराबरको थप सार्वजनिक निष्काशन(एफपीओ), ४ वटा सामूहिक लगानी कोषको ४ वटा योजनाको रु ४ अर्ब ७० करोड रकम बराबरको इकाई निष्काशन तथा ३० वटा कम्पनीको रु १७ अर्ब ५३ करोड रकम बराबरको हकप्रद शेयर निष्काशन गर्न अनुमति प्रदान गरेको छ । 

त्यसै गरी यस अवधिमाबोर्डले संगठित संस्थाकोे मुनाफाबाट भएको बचत वा जगेडा कोषलाई पूँजीकरण गरी अतिरिक्त शेयरको रुपमा विद्यमान शेयरधनीहरुलाई प्रदान गरिने ३० वटा संगठित संस्थाहरुको रु ७ अर्ब ८२ करोड रकम बराबरको बोनस शेयर दर्ता गरेको छ, जबकि गत आ.ब.को यस अवधिमा ५२ वटा कम्पनीको    रु १० अर्ब ८९ करोड रकम बराबरको बोनस शेयर दर्ता गरिएको थियो ।

सार्वजनिक निष्काशन अनुमति दिने प्रक्रियालाई छिटोछरितो (फास्ट ट्रयाक) रुपमा सम्पन्न गर्न बोर्डले सार्वजनिक रुपमा प्रतिवद्धता गरेअनुसार धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ तथा धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका २०७४ ले तोकेका सम्पूर्ण विवरण तथा कागजात प्राप्त भएको मितिले सात कार्यदिनभित्र निवेदन साथ संलग्न विवरण तथा कागजातमा अवश्यकताअनुसार सुझाव दिने र तत्पश्चात सुझाव अनुसार आवश्यक सुधार गरी विवरण तथा कागजात प्राप्त भएको पाँच कार्यदिनभित्र निष्काशन अनुमति प्रदान गर्दै आएको छ ।

यसरी अनुमति दिने व्यवस्थालाई फास्ट ट्रयाकको रुपमा गरिएकोले यस अवधिमा १५ वटा संस्थाले आईपीओ निष्काशनका लागि आवेदन दिएकोमा ५ कम्पनीको विवरणपत्र तथा अन्य कागजातहरुमा अध्ययनको क्रममा रहेको र १० वटा कम्पनीहरुको विवरणपत्रमा आवश्यक सुधार एवं संशोधनका लागि लेखी पठाइएकोमा सम्बन्धित संस्थाबाट प्राप्त हुन बाँकी रहेको छ । 

त्यसैगरी, १७ कम्पनीले हकप्रद शेयर निष्काशनका लागि अनुमतिका लागि आवेदन गरकोमा ३ वटा संस्थालाई हकप्रद निष्काशन अनुमति प्रदान गर्ने प्रक्रिया अन्तिम चरणमा रहेको छ भने ३ वटा संस्थाको प्रत्युत्तर हालै प्राप्तभई सोकोजाँचबुझ भइरहेको बोर्डले जनाएको छ । ११ वटा कम्पनीको “हकप्रद शेयर निष्काशन सम्बन्धी व्यवस्था तथा विवरणहरु”मा आवश्यक सुधार एवं संशोधनका लागि लेखी पठाइएकोमा सम्बन्धित संस्थाबाट प्राप्त हुन बाँकी रहेको छ । आवेदन गरेका १५ वटा संस्थाको आईपीओ निष्काशनको रकम रु ३ अर्ब ९० करोड र १७ संस्थाको हकप्रद शेयर निष्काशनको रकम रु ११ अर्ब ७६ करोड रहेको छ ।