काठमाण्डौ । चीनमा एप्पल कम्पनीबाट उत्पादित आइफोनको बिक्रीमा कमी आउने अनुमानका बीच बुधबार कम्पनीको सेयरमा करिब १० प्रतिशतको पहिरो गयो । एप्पल कम्पनीको सेयर मूल्यमा गएको पहिरोले विश्वभर चर्चा पाइराखेको छ । 

एप्पलको मूल्य घट्दा कम्पनीमा निकै ठूलो सेयर हिस्सा बनाएर बसेका सेयर बजारका बादशाह वारेन बफेट र उनको कम्पनीले मात्रै ४ अर्ब डलर गुमाउनु परेको छ । 

बफेटको कम्पनी वर्कसायर हाथ्वेसँग एप्पल कम्पनीको २५२.५ मिलियन कित्ता सेयर रहेको छ । एप्पलमा लगानी गर्ने दोश्रो ठूलो कम्पनी वर्कसाय हाथ्वे हो । कम्पनीमा वर्कसायर हाथ्वेको २५.७ प्रतिशत सेयर हिस्सा रहेको छ । 

एप्पलको मूल्यमा १० प्रतिशतको गिरावट आएलगत्तै वर्कसायरको सेयरमूल्यमा समेत पहिरो गएको छ । एप्पलका कारण वर्कसायर हाथ्वेको ४० अर्ब डलरको सम्पत्ति घटेर ३६ डलरमा सीमित बन्न पुगेको सिएनएन मनीले जनाएको छ । 

वर्कसायरले पहिलोपटक सन् २०१६ मा एप्पल इंकमा लगानी गरेको थियो ।

एप्पल कम्पनीको सेयरमा गएको पहिरोका कारण आफ्नो कम्पनीको सम्पत्ति एकैदिन ४ अर्ब डलरले घटे पनि वारेन बफेट चाहि निकै खुशी रहेका समाचारमा जनाइएको छ । ४ अर्ब डलरले सम्पत्ति घट्दा पनि किन खुशी भए त वफेट ?

वफेट जब जब एप्पल कम्पनीको सेयरमूल्य घट्न थाल्छ, तब तब खुशी हुने गरेका समाचारमा जनाइएको छ । 

उनले कुनै बेला एक अन्तर्वार्तामा भनेका छन् कि एप्पल कम्पनीको सेयरमूल्य घटेसँगै सो कम्पनीको सेयर सस्तोमै किन्न पाइने अवसर प्राप्त हुने भएकोले उनी खुशी हुने गर्छन् ।

बफेटले विशेष गरी रेल रोड परियोजना, इनर्जी कम्पनी र अमेरिकाको निकै ठूला कर्पोरेट ब्राण्डमा पैसा लगाउन इच्छुक हुने गर्छन् । एकपटक त उनले टेक्नोलोजी बेस्ड कम्पनीमा लगानी गर्नु बेवकुफीपन बाहेक केही होइन । उनले केही वर्ष पहिले आइबिएम कर्पमा लगानी गरेका थिए, जसबाट उनलाई खासै लाभ भएन । तर, एप्पलको बिषयमा भने बफेटको विचार केही फरक छ । उनले यो कम्पनीको सेयरलाई टेक्नोलोजी कम्पनी भन्दा पनि उपभोग्य कम्पनीको सेयर जस्तो ठान्ने गर्छन । गत वर्ष उनले आफ्ना कम्पनीका सेयरधनीसँग भनेका थिए कि एप्पलको सेयर मूल्य घट्नु उनीहरुका लागि राम्रो खबर हो । किनभने उनीहरु एप्पलको सेयर कम मूल्यमा खरीद गर्ने अवसर पाउँछन् ।