काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अबको संसद् बैठकबाट संविधान संशोधन विधेयक पारित गराउने तयारी भएको बताएका छन् । मंगलबार बसेको प्रमुख तीन दल र संघीय गठबन्धनको संयुक्त बैठकमा प्रचण्डले प्रमुख प्रतिपक्षीसँग पनि संवाद गरेर ४ जेठको संसद् बैठकबाट संशोधन विधेयक पारित गराउने प्रयासमा रहेको बताएका हुन् । 

राजपासहितको संघीय गठबन्धनका नेताहरूले सरकारले भुलाउन खोजेको आरोप लगाएपछि प्रधानमन्त्री प्रचण्डले मंगलबार छलफल गरेर अबको संसद बैठकमा संविधान संशोधन गराउने कोसिस भएको विश्वास दिलाएका हुन् । सरकारले पूर्वसहमतिअनुसार संशोधन विधेयक पारित नै नगरी स्थानीय तहको पहिलो चरणको चुनाव गराउन खोजेको र संसद् बैठकसमेत निर्वाचनपछि सारिएको उनीहरूको आरोप थियो । उनीहरूको असन्तुष्टिपछि प्रधानमन्त्रीले राष्ट्रिय जनता पार्टीसहित संघीय गठबन्धन, सत्तासाझेदार कांग्रेस र प्रतिपक्षी एमाले नेताहरूसँग संयुक्त छलफल गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डले १७ वैशाखको संसद् बैठकमा राप्रपाका सबै सांसद उपस्थित भएका भए सोही दिन संविधान संशोधन विधेयक पारित हुने अवस्थामा आफूले पुर्याएको पनि बैठकमा बताएका थिए । ‘एमालेविना पनि संविधान संशोधन विधेयक पारित गराउन चार सय एकको संख्या पुर्याएकै थिएँ, १७ गतेको बैठकमा एकाएक राप्रपाका १०–१२ जना सांसद नै गायब भइदिनुभयो, त्यसपछि घटनाक्रमले अन्यत्र मोड लिन पुगेको हो,’ बैठकमा प्रधानमन्त्रीले भने, ‘अब ४ जेठको बैठकमा पास गराउने कोसिस गर्नेछु । आशावादी भइदिनुहोस् ।’

प्रमुख प्रतिपक्षी एमालेले प्रतिपक्षी दललाई सरकारले कुनै पनि बैठक र संवादमा समेत नबोलाई बेवास्ता गरेको आरोप लगाएपछि प्रधानमन्त्रीले गठबन्धनसँगको बैठकमा एमालेलाई समेत बोलाएका हुन् । प्रचण्डले सरकारको नेतृत्व सम्हालेयता संघीय गठबन्धनका नेताहरूसँगको छलफलमा प्रतिपक्षी एमालेलाई समेत बोलाई छलफल गरेको यो दोस्रोपटक हो । यसअघि प्रधानमन्त्रीले १० चैतमा एमालेलाई बैठकमा सहभागी गराएका थिए ।

बालुवाटार बैठकमा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूहरूलाई प्रधानमन्त्रीले छलफलमै बोलाउन नचाहेको भन्दै असन्तुष्टि जनाएका थिए । ‘सत्तापक्षले प्रतिपक्षीका पनि कुरा सुन्नुपर्छ र राज्यको एउटा महत्वपूर्ण पक्ष हामी पनि हौँ । तर, तपाईंहरू हामीलाई सुन्नै चाहिरहनुभएको छैन,’ नेम्वाङले बालुवाटार बैठकमै भने, ‘प्रधानमन्त्री चीन जाने दिन पनि पहिलोपटक मधेसी मोर्चाका नेताहरूसहित हामीले छलफल गरेका थियौँ, आज दोस्रोपटक यसरी छलफलमा सहभागी हुँदै छौँ ।’

बैठकमा प्रधानमन्त्री, कांग्रेस सभापति शेरबहादुर देउवा, गठबन्धनका महन्थ ठाकुर, राजेन्द्र महतोलगायतका नेताहरू सहभागी थिए । एमालेबाट भने सुवास नेम्वाङ र वामदेव गौतम मात्र सहभागी थिए ।

मोर्चा नेताहरूको भने : गफैमा मात्र भुलाउन खोजियो
बालुवाटार बैठकमा राजपाका नेताहरूले आफूहरूलाई गफमा मात्रै भुलाउन खोजिएको आरोप लगाएका थिए । ‘संविधान संशोधन गर्ने र हामीहरूलाई पनि मान्य हुने गरी संविधानको सर्वस्वीकार्य बनाउने कुरा प्रधानमन्त्री र सत्तागठबन्धन दलका नेताहरूले बोलेकै आज १० महिना भइसक्यो, तर अहिलेसम्म हामीलाई गफमै मात्र भुलाउन खोजियो,’ महन्थ ठाकुरले भने । उनले सत्तापक्षका नेतादेखि प्रतिपक्षी एमालेले समेत गुलिया र मीठा कुरा गरेर फुलाउन खोजिएको बताएका थिए ।

गठबन्धनको आन्दोलन सार्वजनिक
संघीय गठबन्धनले संविधान संशोधनका लागि सरकारलाई दबाब दिन २९ वैशाख र १ जेठका लागि आन्दोलन घोषणा गरेको छ । गठबन्धनको मंगलबार बसेको बैठकले २९ वैशाखमा विरोधसभा र १ जेठमा मोटरसाइकल र्यालीका कार्यक्रम सार्वजनिक गरेको हो । गठबन्धनका नेताहरूले दिएको जानकारीअनुसार २९ गते गठनबन्धनले प्रदेश नम्बर १, २, ५ र ७ का जिल्लामा विरोध सभा गर्ने भएको छ । संविधान संशोधनमा दबाब दिन र्याली गर्न लागिएको नेता केशव झाले जानकारी दिए । त्यसैगरी, गठबन्धनले १ जेठमा मोटरसाइकल र्यालीसहितको विरोध कार्यक्रम गर्नेछ । अन्य आन्दोलनका कार्यक्रम भने ४ जेठको संसद् बैठकपछिको परिस्थितिअनुसार सार्वजनिक गर्ने जनाएको छ ।

बालुवाटार बैठकमा कसले के भने ?
सबै उदार र लचक बनौँ

प्रधानमन्त्री प्रचण्ड

-संविधान संशोधनका लागि प्रयास गरिरहेकै छु । १७ वैशाखमै संसद्बाट संविधान संशोधन विधेयक पारित गराउने गरी सरकारले तयारी गरेको थियो । एमालेविना पनि संशोधन पारित गराउन ४ सय १ को संख्या पुगेको थियो । तर, राप्रपाका १०–१२ जना सांसद त्यो दिनको संसद् बैठकमा अनुपस्थित रहने कुरा आएपछि त्यो दिन संशोधन प्रस्ताव संसद्मा नलगेको हो ।

– मैले प्रधानमन्त्रीका रूपमा मोर्चाको माग सम्बोधन गर्न गर्नुपर्ने आवश्यक प्रयास गरेकै हो । हिजो तपाईंहरूका मागकै आधारमा सहिद घोषणा पनि गरेकै छु । मुद्दा फिर्ताको कुरा पनि हुँदै थिए । केही दिनभित्रै हुन्थ्यो पनि । संशोधन मात्र नभइरहेको हो । त्यो पनि प्रयासमै छु ।

– यति किलो मासु काटेर दिनुपर्यो भन्ने, तर रगतचाहिँ एक थोपा पनि बगाउन पाइँदैन भन्ने भएपछि मेरो अवस्था भेनिसको व्यापारीजस्तै हुन पुगेको छ । यसलाई यहाँ मोर्चा र प्रतिपक्ष दुवै पक्ष पनि हुनुुहुन्छ । मेरो अवस्थालाई बुझिदिनुहोला । समस्याको समाधानका लागि सबै उदार र लचक बनौँ ।

– अब ४ गतेको बैठकमा संशोधन गराउने गरी पहलकदमी लिइरहेको छु । प्रतिपक्षमा रहनुभएका एमालेका साथीहरू पनि यहीँ हुनुहुन्छ । अब प्रतिपक्षीसँग पनि राम्ररी कुरा गर्ने र ४ जेठको संसद्को बैठकबाट पारित गराउन कोसिस गर्ने प्रयास गर्नेछु ।

निर्वाचनपछि संशोधन
एमाले उपनेता सुवास नेम्वाङ

एमाले समस्या समाधान गर्न सधैँ लचिलो छ । एमाले पनि संविधान संशोधनको बाधक होइन, मात्र यसको औचित्यता पुष्टि हुनुपर्छ भन्ने हो । पहिलो निर्वाचन गरौँ, त्यसपछि संशोधनका लागि अगाडि बढौँला ।

भुलाउन नखोजौँ
राजपा नेता महन्थ ठाकुर

एमालेका कुरा मीठामीठा आए । भोकालाई कुराले मात्रै हुँदैन, खाना चाहिन्छ । त्यसैले पहिले संशोधन अनि मात्र निर्वाचन हुनुपर्छ । संविधान सर्वस्वीकार्य बनाउने कुरा प्रधानमन्त्री र सत्तागठबन्धन दलका नेताहरूले बोलेकै १० महिना भइसक्यो, तर अहिलेसम्म गफमै भुलाउन खोजियो । यो खबर आजको नयाँपत्रिकामा छापिएको छ ।