काठमाण्डौ । विश्वका दोश्रो धनी व्यक्ति बिल गेट्स तथा विश्वका अन्य कयौ धनाढ्यहरुलाई समेत चुनौति दिंदै चीनकी एक महिलाले कमाईको हिसाबमा रेकर्ड  बनाएकी छिन् । यी महिलाले नयाँ वर्षको केवल ४ दिनको अवधिमा करिब २१ हजार ४ सय २० करोड रुपैयाँ कमाएकी छिन् । ती महिला को होलान् ?

चीनको रियल सेक्टरको सबैभन्दा ठूलो कम्पनी कन्ट्री गार्डेन होल्डिङकी भाइस चेयरमेन याङ हुइयानका लागि सन् २०१८ लक्की सावित भयो । कम्पनीको बिक्रीमा भएको बढोत्तरीका कारण नयाँ वर्षको पहिलो ४ कारोबारी दिनमै यी महिलाको सम्पत्तिमा २१ हजार ४ सय २० करोड रुपैयाँ अर्थात २१० करोड डलर वृद्धि भएको छ । 

हुइयानको कुल सम्पत्ति २५.६ बिलियन डलरको उचाईमा पुगेको छ । उनी चीनकै सबैभन्दा धनी महिलामध्ये पाँचौ नम्बरमा पर्न सफल व्यक्ति हुन् ।

मार्केटिङमा स्नातक उपाधि हासिल गरेकी हुइयानलाई यो कम्पनी उनका पिताबाट विरासतमा प्राप्त भएको थियो । उनको अष्ट्रेलियामा समेत रियल स्टेटको कारोबार रहेको छ । 

ब्लुमबर्गको बिलेयिनर्स इण्डेक्सका अनुसार कन्ट्री गार्डेन होल्डिङको बिक्रीमा भएको बढोत्तरीका कारण हङकङ ट्रेडिङमा कम्पनीको सेयरमा सोमबार ६.९ प्रतिशतको उछाल आएको थियो । यस्तै, यो वर्ष मात्र सो कम्पनीको सेयर मूल्यमा १६ प्रतिशतको बढोत्तरी भइसकेको समाचारमा जनाइएको छ । सेयर मूल्यमा आएको बढोत्तरीले नयाँ वर्षमा उनको सम्पत्ति २१० करोड डलरले बढिसकेको छ ।

बिल गेट्सको सम्पत्ति कति बढ्यो ?
विश्वका दोश्रो धनी व्यक्ति बिल गेट्सको सम्पत्तिमा सन् २०१८ को सुरुवातदेखि अहिलेसम्म १६ हजार करोड रुपैयाँको बढोत्तरी भएको छ । ९३३० करोड डलर सम्पत्तिसहित उनी यो इण्डेक्समा जेफ बिजोसपछिको दोश्रो नम्बरमा समेटिएका छन् ।