काठमाण्डौ । कोरोना महामारीका कारण मागमा व्यापक वृद्धि भएपछि अमेरिकाको दिग्गज अनलाइन रिटेल कम्पनी अमेजनले यो वर्षको दोस्रो त्रैमासमा ८८.९ बिलियन डलर आम्दानी गरेको छ । 

यो गत वर्षको सोही अवधिको तुलनामा ४० प्रतिशत र विश्लेषकहरुले अनुमान गरेको ८१.६ बिलियनभन्दा बढी हो । 

कम्पनीले गत त्रैमासमा कोरोना महामारीलाई व्यवस्थापन गर्न गरेको ४ बिलियन डलर भन्दा बढीको खर्चको बाबजुद पनि कुल आय दोब्बर पारेको हो ।

कम्पनीले कर्मचारीको कोरोना रोकथामका लागि सुरक्षाका उपकरणहरु र गोदामघरको अपग्रेडका साथै कर्मचारीहरुको हेरचाह सुविधा र अग्रपंक्ति र डेलिभरीका कर्मचारीहरुको बोनसका लागि ४ बिलियन भन्दा धेरै खर्च गरेको थियो । 

यो त्रैमासमा अमेजनको उत्तर अमेरिकाको बिक्रीमा गत वर्षको तुलनामा ४३ प्रतिशत अर्थात ५५.४ बिलियन डलरको उछाल आएको छ । अमेरिकामा कोरोना संक्रमण व्यापक रुपमा फैलिएसँगै अनलाइन सपिङ गर्नेको संख्या वृद्धि भएपछि अमेजनको व्यापारमा उछाल आएको हो । कम्पनीले आउँदो तेस्रो त्रैमासमा पनि बिक्रीमा २४ देखि ३३ प्रतिशत अर्थात ८७ देखि ९३ बिलियनको वृद्धि देखिने अपेक्षा लिएको छ ।