प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भएको भेटवार्तामा चीन-नेपाल रेल सञ्चालन गर्ने विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

सो भेटवार्तापछि जारी गरिएको विज्ञप्तिमा नेपालले राजनीतिक स्थायित्व हासिल गरेको तथा आफ्ना आर्थिक विकासका प्राथमिकता निर्धारण गरेकोमा राष्ट्रपति सीले नेपाल सरकारलाई बधाइ दिएको उल्लेख छ।

ओली र सीको भेटवार्ताका क्रममा निकै चासोका साथ हेरिएको उक्त रेलमार्ग निर्माणबारे समयतालिकासहित कुराकानी अघि बढेको पाइएको जानकारी कान्तिपुर दैनिकका प्रधान सम्पादक सुधीर शर्माले बीबीसीलाई बेइजिङबाट दिएका छन्।

शर्माले भने, "आउँदो अगस्टसम्ममा पूर्वसम्भाव्यता अध्ययन सक्ने र त्यसपछिको डेढ वर्षमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) सक्ने, अनि त्यसपछिको झन्डै पाँच वर्षमा निर्माण सक्ने गरी समयतालिकासहित कुरा उठेको बताइएको छ।"

प्रधानमन्त्री ओली र चिनियाँ समकक्षी ली खच्याङबीच प्रतिनिधिमण्डलस्तरमा बिहीवार हुने वार्तामा त्यसबारे एक औपचारीक सम्झौता हुन सक्ने बताइएको छ।

राष्ट्रपति सीले चीन-नेपाल सम्बन्ध प्रगाढ भइरहँदा अन्य राष्ट्रहरू तर्सिनु नपर्ने र अन्य मुलुकहरुसँग नेपालले सम्बन्ध बढाउँदा समेत चीनलाई आपत्ति नहुने बताएको उनलाई उद्धृत गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पत्रकारहरूलाई बताएका थिए।

शर्माले भने, "भारत र चीनबीच भएका पछिल्ला समझदारी नेपालको हितमा पनि हुने राष्ट्रपति सीलाई उद्धृत गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पत्रकारहरूलाई बताए।"

नेपालबाट गएका पत्रककारहरूलाई पनि ओली र सीले वार्ता गरेको स्थलमा केही मिनेट उपस्थित हुन दिइएको थियो।

"त्यहाँ राष्ट्रपति सीले आफू नेपाल आउन आतुर रहेको र अहिले स्थिर सरकार बनेको बेला चाँडै आउने मनशाय बताउनुभयो," शर्माले भने।

सीको भ्रमणको टुङ्गो भने कूटनीतिक वार्तामार्फत् नै लगाइने बताइएको छ।

-बीबीसीबाट साभार