काठमाण्डौ । शिवम सिमेन्टको सेयरमा फेरि कर्नरिङ सुरु भएको छ । 

लामो समयसम्म निरन्तरको कर्नरिङ र चलखेलपछि ६२९ रुपैयाँ प्रतिकित्ता पुगेको शिवमको सेयर मूल्यमा फेरि यसअघि झै चलखेल हुन थालेको देखिएको हो । 

यो कम्पनीको सेयरमा लामो समयदेखि ब्रोकर नम्बर ५८ मार्फत तीव्र चलखेल र कर्नरिङ भएको थियो । ठूला सेयर खेलाडीहरुले नियोजित रुपमा सेयर कर्नरिङ गरी मूल्य बढाएर उच्च विन्दूमा पुर्याई महंगो मूल्यमा सेयर बिक्री गरेका थिए । 

उच्च मूल्यमा पुगेको सेयर बिक्री गरी सो समूहले केही दिनसम्म शिवमको सेयर घटाउने काम गरेको थियो । घटाएर प्रतिकित्ता ५४७ रुपैयाँमा पुर्याएपछि सो समूहले फेरि सेयर किन्न थालेको देखिएको छ । 

बढेको मौकामा सेयर बिक्री गरी बजारमा बिक्री चाप देखाएर मूल्य घटाउन सफल गिरोहले मूल्य घटेपछि पुनः सेयर उठाउने खेल सुरु गरेको देखिएको हो । 

शिवम सिमेन्टको सेयरमा कर्नरिङ गर्दै आएको ब्रोकर नम्बर ५८ मार्फत मंगलबार पनि विगतको झै चलखेल हुँदा सेयर मूल्यमा पोजिटिभ सर्किट लाग्यो । 

शिवमको सेयर मूल्यमा मंगलबार १० प्रतिशतको हाराहारीमा वृद्धि भयो । यो दिनको अन्तिम बिक्री मूल्य ६४६ रुपैयाँ कायम भएको हो । शिवम सिमेन्ट दोश्रो बजारमा कारोबारमा आएपछिको यो नै सर्वाधिक सेयर मूल्य हो । यसअघि सर्वाधिक ६२९ को उचाईमा पुगेको थियो । यसअघिको रेकर्डलाई समेत तोड्दै शिवमले मंगलबार ६४६ को उच्च मूल्यको इतिहास रचेको हो । 

मंगलबारको खेल
मंगलबार समेत ब्रोकर नम्बर ५८ मार्फत शिवम सिमेन्टको सेयरमा तीव्र कर्नरिङको खेल भएको देखिन्छ । यो ब्रोकरमार्फत शिवम सिमेन्टको ५९ हजार ७६ कित्ता सेयर ३ करोड ६७ लाख ५४ हजार १०६ रुपैयाँमा खरीद भएको छ । 

कुल कारोबार भएको रकमका आधारमा ब्रोकर नम्बर ५८ वटा मात्र शिवमको २२.३५ प्रतिशत खरीद भएको देखिन्छ । 

यो कम्पनीको ३०७ वटा कारोबारमार्फत निकै ठूलो परिमाणको सेयर कित्ता ब्रोकर नम्बर ५८ बाट उठाइएको देखिन्छ । 

बजारमा थोरै परिमाणमा रहेको सेयर निश्चित समूहले उठाएर कृत्रिम मागको सिर्जना गरी शिवमको मूल्य बढाउने खेल विगत लामो समयदेखि चल्दै आए पनि सम्बद्ध निकाय कानमा तेल हालेर बसेको छ । यसैको फाइदा उठाउँदै गिरोहहरुले खुलेआम सेयर कर्नरिङ गरिरहेको छ । 

ब्रोकर नम्बर ४२ पनि सक्रिय
यो दिन शिवम सिमेन्टको सेयर उठाउन ब्रोकर नम्बर ४२ पनि सक्रिय भएको देखिन्छ । यो ब्रोकरमार्फत ६७ हजार ९३१ कित्ता शिवमको सेयर खरीद भएको देखिन्छ । यो ब्रोकरले कुल ४ करोड २९ लाख ९९ हजार ५४७ रुपैयाँ बराबरको शिवमको सेयर खरीद गरेको देखिन्छ ।
ब्रोकर नम्बर ५८ सँगै यो ब्रोकरले पनि सेयर कर्नरिङ गरेको प्रष्ट देखिन्छ ।  

के हो सेयर कर्नरिङ ?

पुँजी बजारमा कारोबार हुने कम्पनीको सेयर कुनै संस्था वा समुहले खरिद गरी नियन्त्रणमा लिने र समूहभित्र नै रहने गरी कारोबार गर्ने र आफूअनुकुल सेयरमूल्य बढाउने प्रचलन नै कर्नरिङ हो ।

अधिकांश सेयर आफ्नै समूहसँग राखेपछि बढी मूल्यमा बिक्री गर्न सकिने भएकाले यसबाट नयाँ लगानीकर्ता फस्ने सम्भावना बढी हुन्छ ।