-प्रकाश बञ्जारा
यूएई । ३० लाख अमेरिकी डलर मूल्य बराबरको विश्वकै ठूलो सुनको औंठी सयुक्त अरब इमिरेट्सको  सारजाहमा सर्वसाधारणको अवलोकनका लागि सार्वजनिक गरिएको छ । 

झण्डै १८ बर्षअघि बनाइएको औंठीको अवलोकनका लागि आउने र फोटो खिच्नेको घुइँचो नै लागेको छ । अवलोकन र फोटो खिच्नैका लागि दैनिक दुवई, अबुधावी लगायत सातै इमिरेट्समा रहेका हजारौँको भीड लाग्ने गरेको छ । ‘नाजमत ताइवा’ नाम दिइएको सो औंठी सारजाह स्थित सहारा सेन्टर नामक सपिङ्ग मलमा सज्जाको साथ राखिएको छ । 

विश्वको सबैभन्दा ठूलो औंठीको रुपमा गिनिज बुक अफ वल्ड रेकर्डमा सो औंठीको नाम लेखिएको छ । २१ क्यारेट सुनबाट बनाइएको यो औंठीको तौल ६४ किलोग्राम रहेको छ भने यसमा ५ दशमलव १ केजी स्टोन र हिराको समिश्रण रहेको बताइएको छ । ५५ जना कालिगढले दैनिक १० घण्टाको दरले ४५ दिनमा निर्माण गरेको यो औंठी दुवई स्थित ताइवा नामक कम्पनीको हो । 

सन् २००० मा बनेको औंठीको निर्माण खर्च करिब ५ लाख ४७ हजार अमेरिकी डलर परेको थियो, जुन बेला सुनको मुल्य प्रति औंश  २ सय ५० अमेरिकी डलर थियो । हाल सुनको मुल्यले डाडो काटेर प्रतिऔंश १ हजार  ४ सय ९८ को हाराहारीमा पुग्दा औंठीको मूल्य पनि ३० लाख अमेरिकी डलर बराबर हुन पुगेको ताइवाले बताएको छ ।