– भक्तराज रसाइली 

काठमाण्डौ । पूँजीबजारलाई नै आफ्नो प्रोफेसन बनाउँदै लगानीकर्ताहरुको हकहितका लागि लड्ने एक युवाको स्टोरी यस साता प्रस्तुत गर्दैछौं । 

विराटनगर महानगरपालिका–१ स्थायी घर भई हाल भक्तपुरको चाँगुनारायण नगरपालिकास्थित दुवाकोटमा बसोबास गर्दै आएका युवा लगानीकर्ता तथा दबाब समूहका महासचिव पनि हुन्, नयन बास्तोला । 

कुरा २०६१ साल चैततिरको हो । बास्तोला उच्च शिक्षा र लोकसेवा भिडेर सरकारी जागिर खाने सोच राखेर काठमाण्डौ आए । स्नातक र स्नातकोत्तर तह नेपाल कमर्स क्याम्पसमा पढेका बास्तोला अध्ययनकै क्रममा करिब ६ वर्ष लोकसेवा आयोग र विभिन्न संस्थानमा समेत जागिर खाने तीव्र इच्छाले प्रयास पनि गरे तर कतै सफल हुन सकेनन्। एउटा संस्थानमा नाम त निस्कियो तर अन्तर्वार्ताबाट उनी छनोटमा परेनन् । 

२०६५ सालताकादेखि प्राइमरी मार्केटमा पाइला टेकेलगत्तै बास्तोलाले १ वर्षपछि दोस्रो बजारमा लगानी गर्न तम्सिए । २०६९ सालमा बास्तोलाको बिहे भयो । श्रीमती लोकसेवामा नाम निकालेर नायबसुब्बा पदमा जागिर खान थालेपछि बास्तोला दम्पती एकजना जगिर र अर्को बिजनेस गर्ने भन्नेमा निर्णयमा पुग्यो । त्यसपछि बास्तोला सेयर बजारमा पूर्णकालीन लगानीकर्ताका रुपमा उदाए । बास्तोला सेयर बजारका अलावा एक डिपार्टमेन्ट स्टोर र जग्गामा समेत लगानी गरेका छन् । 

अध्ययन र जागिरको प्यासले राजधानी तानिएका बास्तोला सुरुमा काका छोराहरूसँग बस्थे । बास्तोलाका दाजुहरू पनि सेयरमै लगानी गर्ने र कहिलेकाहीँ उनलाई पनि आईपीओ भर्न लाइन लगाउन पठाउने गर्दथे । अनि त बास्तोलालाई पनि सेयर बजारप्रति मोह जाग्दै गयो । 

प्राइभेट अफिसमा काम गरेसरह आम्दानी हुने देखेपछि अन्य जागिरमा ध्यान दिन नसकेका बास्तोलाले मासिक खर्च धान्न सेयरकै आम्दानीबाट पुर्याउँथे । दोस्रो बजारमा मुक्तिनाथ विकास बैंकको ६६ कित्ता प्रतिकित्ता २८० मा खरिद गरेर धमाकेदार प्रवेश गरेका बास्तोलाले पछि आफ्नो पोर्टफोलियो केही करोडको बनाए । 

नेप्से इन्डेक्स १८८१ को बूल छुदा बास्तोलाले ३–४ करोड चोखो नाफा पनि कमाए तर सेयर बेच्न लोभिएर उनले सबै नाफा कुम्ल्याउन भने सकेनन् । १–२ ठाउँ जग्गा किन्ने र डिपार्टमेन्ट स्टोरमा लगानी गर्नमात्रै भ्याएका बास्तोलाको ठूलो रकम भने सेयर मार्केटमै छ । ट्रेन्डलाई हेरेर लगानी गर्न सिपालु बास्तोलाको हालको पोर्टफोलियो भने २० प्रतिशत जतिमात्रै गिरावट छ, जुन वियरिस ट्रेन्डको लगानीमा सामान्य मानिन्छ । 

दसवर्षे सेयरबजारको यात्रामा बास्तोलाको भोगाइ आँट गर्नेले कमाउने र लोभ गर्नेले गुमाउने रहेछ । ‘सेयर मार्केट बुल हुँदा जस्तो कम्पनी पनि सर्किट लाग्ने र त्यसैमा सोझासाझा लगानीकर्ता फस्ने डर हँुदोरहेछ’, बास्तोलाले बिजशालासँग भने, ‘मार्केटमा चलखेल, इन्साइडर ट्रेडिङ हुने भएकाले सर्वसाधारण सोझा लगानीकर्तालाई कमाउन गाह्रो हुने अवस्था सिर्जना हुने गर्छ ।’

सेयर बजारमै पेन्सन कमाउने ध्याउन्नमा हौसिएका बास्तोलाले मार्केट ट्रेन्ड हेरेर लगानी गर्न सके घट्दो र बढ्दो मार्केटमा कमाउन सकिने दाबीसमेत गरे। सेयर लगानीकर्ता दबाब समूहका महासचिवसमेत रहेका बास्तोला लगानीकर्ता संघसंगठनका गतिविधि कुनै शक्ति वा पार्टीबाट परिचालित हुने गरेको जिकिर गर्दै आम लगानीकर्ताको हकहितका लागि एकजुट हुन जरुरी रहेको ठान्दछन् । 

आफ्नो पोर्टफोलियोलाई अल्प, मध्य र दीर्घकालीन लगानी भनेर छुट्याएका बास्तोला अल्पकालीन थोरै र दीर्घकालीन धेरै रहेको बताउँछन् । 

बजारबारे बृहत् अध्ययन, ट्रेन्ड फलो र पोर्टफोलियो सम्भारमा ध्यान दिनुपर्ने बास्तोला सुझाव दिन्छन् । मार्केट बढे लोभ पनि बढ्ने भएकाले राजनीतिक अवस्था, नियामकीय गतिविधि तथा अभिव्यक्तिलगायतमा समेत चनाखो हुनुपर्ने बताउँदै बास्तोला भन्छन्, ‘कहिलेकाहीँ त नियामकले बोलेको भाषाअनुसार लगानी गर्नुपर्छ ।’

नियामक निकाय सेबोन र नेप्सेमा उच्च कार्यकारी पदमा राजनीतिक नियुक्ति भएकाले समेत पूँजीबजारले विकासको लय नसमाते बास्तोलाको तर्क छ । उनी भन्छन्, ‘यसले परिपक्व नेतृत्व पाउँदैन, जहाँ स्वार्थैस्वार्थको क्रीडास्थलमात्रै बन्छ ।’

लगानीकर्ताको हकहितका लागि आवाज उठाउँदा प्रहरीको थुनुवामा समेत परेका बास्तोलाले पूँजीबजारको विकासका लागि मोर्चामा सदैव अग्रपंक्तिमा उभिने आम लगानीकर्तालाई आश्वासनसमेत दिए । बजारको होहल्लाभन्दा पनि अध्ययन र ट्रेन्डमै ध्यान दिनुपर्ने बास्तोलाको सुझाव छ । लगानी विविधीकरण गर्दै जोखिम लिएर आँट गर्न सक्नुपर्ने उनले सुझाए । 

बजारका केही तत्वहरु नियामकसँग नतमस्तक हुँदै विभिन्न बहानामा बजारको विकास र विस्तारमा अवरोध सिर्जना भइरहेको बस्तोलाको दाबी छ । नेप्सेलाई निजीकरण गरिए पूँजीबजारको विकासमा उछाल आउने र नेप्से नेतृत्वमा पूँजीबजारसम्बन्धी जानेबुझेका व्यक्तिको प्रवेशले नै बजार विकास र विस्तार हुने बास्तोलाको भनाइ छ ।