काठमाण्डौ । छसय ८८ मेगावाट क्षमताको बेतन कर्णाली जलविद्युत आयोजनामा कर्मचारी सञ्चय कोषले करिब ३ अर्ब रुपैयाँ लगानीको निर्णय गरेको छ । 

कोषको वार्षिक नाफाबाट प्राप्त रकमबाट आयोजनामा लगानीको निर्णय भएको हो । 

कोषले आर्थिक वर्ष २०७३/७४ मा कमाएको १ अर्ब ८९ करोड रुपैयाँ नाफामध्ये १ अर्ब ५३ करोड रुपैयाँ आयोजनाको स्वपुँजीका लागि छुट्ट्याएको कोषका कार्यबाहक प्रशासक दीपक रौनियारले जानकारी दिए । 

कोषले आब २०७२/७३ मा कमाएको १ अर्ब ५८ करोड रुपैयाँ नाफामध्येबाट १ अर्ब २९ करोड रुपैयाँ आयोजनामा लगानी गरिनेछ ।

आयोजना निर्माण गर्न ‘बेतन कर्णाली सञ्चयकर्ता हाइड्रो पावर लिमिटेड’ स्थापना गरिएको छ । आयोजनामा आवश्यक लगानी संयोजन गरिदिन कम्पनीले कोषलाई आग्रह गरेको छ । 

अहिले आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार भइरहेको बताइएको छ ।

आयोजनाको लागत अहिले करिब ७० अर्ब रुपैयाँ अनुमान गरिएको छ । कूल लागतमध्ये ३० प्रतिशत अर्थात २१ अर्ब रुपैयाँ स्वपुँजी लगानी गर्नुपर्छ । कूल स्वपुँजीको ९ अर्ब रुपैयाँभन्दा बढी रकम कोषले नै जम्मा गर्नसक्नेछ ।

कोषमा हालसम्म २ खर्ब ५५ अर्ब २९ करोड रुपैयाँ स्रोत जम्मा भएको छ । उक्त रकममध्ये २ खर्ब ४९ अर्ब ३३ करोड रुपैयाँ विभिन्न क्षेत्रमा लगानी भएको छ । 

अघिल्लो आवमा सञ्चित २ खर्ब २४ अर्ब ७० करोड रुपैयाँमध्ये २ खर्ब १८ अर्ब ३६ करोड रुपैयाँ लगानी भएको थियो । सुर्खेतको बेतनस्थित कर्णाली नदीमा निर्माण गर्ने बेतन कर्णाली कम्पनीमा ४० प्रतिशत सञ्चयकर्ता र १५ प्रतिशत कोषको गरी जम्मा ५५ प्रतिशत स्वामित्व हुनेछ । जलस्रोत तथा ऊर्जा मन्त्रालयले आयोजनाको अध्ययन गर्न गत जेठ ७ मा कम्पनीलाई अनुमतिपत्र दिएको थियो । 

नेपाल विद्युत प्राधिकरण र विद्युत उत्पादन कम्पनीको १०/१० प्रतिशत सेयर लगानी हुनेछ । यस्तै, १० प्रतिशत स्थानीय र १५ प्रतिशत सेयर सर्वसाधारणका लागि छुट्ट्याइएको छ । कम्पनीको अधिकृत पुँजी २० अर्ब, जारी पुँजी १० अर्ब र चुक्ता पुँजी १५ करोड रुपैयाँ छ ।