काठमाण्डौ । सेयरबाट हुने आम्दानीमा लङ टर्म क्यापिटल गेन ट्याक्स(एलटीसीजी ट्याक्स) लागू गरिएपछि र ग्लोबल सेन्टिमेन्ट्सका कारण गत ६ महिनाको अवधिमा भारतको सेयर बजार पनि नेपालको जस्तै उतारचढावपूर्ण रह्यो । यो क्रममा सेन्सेक्समा मात्र ७ प्रतिशतको रिटर्न प्राप्त भएको भारतीय मिडियाहरुले बताएका छन् । तर, यही बेला भारतका एक ठूला सेयर लगानीकर्ता राकेश झुनझुनवालाले भने यही अवधिमा सेयर बजारबाट १०० प्रतिशतभन्दा बढी रिटर्न प्राप्त गरे । उनले सेयरमा लगानी गरेको रकम ६ महिनामै दोब्बर भएको छ । आउनुहोस् हामी पनि जानौं झुनझुनवालाले कहाँ लगानी गरे र कसरी पैसा कमाए ?

बिजिनेस प्रोसेस आउटसोर्सिङ(बीपीओ)को सेवा दिने कम्पनी फ्रस्ट सोर्स सोल्युसनको सेयरमा झुनझुनवालाले लगानी गरे र सोच्दै नसोचेको रिटर्न  प्राप्त गरे । बजारको उतारचढावको बाबजुद फ्रस्ट सोर्सको सेयरको मूल्य १०० प्रतिशतभन्दा बढीले वृद्धि भएको देखिन्छ । 

७८.९० करोड भारु बन्यो १५९.५० करोड !
सन् २०१८ को ३१ मार्चको सेयरहोल्डिङ प्याटर्न डेटाअनुसार फ्रस्टसोर्समा झुनझुनवालाको  हिस्सेदारी २.९१ प्रतिशत रहेको छ । अर्थात, उनीसँग सो कम्पनीको २ करोड सेयर रहेको छ । २०१७ अक्टोबरदेखि २०१८ मार्चसम्मको अवधिमा उनले कम्पनीमा आफ्नो हिस्सेदारीमा ०.२ प्रतिशतको बढोत्तरी गरेका छन् । 

६ महिनाअघि सेयरको मूल्य ३९.४५ भारु रहेको थियो । उनको साथमा २ करोड कित्ता सेयर थियो । यो हिसाबले त्यसको मूल्य त्यसबेला ७८.९० करोड भारु हुन आउँछ । २०१८ जुन ८ मा सेयरको मूल्य ७९.७५ भारु रहेको छ । यो हिसाबले अब उनीसँग अहिलेको अवस्थामा ७८.९० करोड बढेर १५९.५० करोडको उचाईमा पुगेको छ । अर्थात, ६ महिनाकै अन्तरालमा उनको लगानी २ गुणा भन्दा बढीले वृद्धि भयो ।

राकेश झुनझुनवालालाई भारतका ‘वारेन बफेट’ पनि भन्ने गरिन्छ । उनले कहाँ लगानी गर्छन्, आम लगानीकर्ताले निकै चासोका साथ त्यसलाई नियालिरहेका हुन्छन् । उनी जुन कम्पनीको सेयरमा लगानी गर्छन्, अन्य लगानीकर्ता पनि त्यही सेयर खरीदका लागि मरिहत्ते गर्छन् । उनले दिने टिप्सकै आधारमा सेयर बजारमा लगानी गर्ने भारतीय तथा अन्य देशका नागरिकको संख्या समेत लाखौं छ । उनको लगानीशैलीलाई फलो गर्ने नेपाली लगानीकर्ता पनि कम छैनन् ।

झुनझुनवालाको सेयर बजारमा लगानी गर्ने टिप्स यस्तो छ:

  • लगानी गर्ने समय आफैंमा भरोसा हुन जरुरी छ ।
  • सही मौका प्राप्त भएकै समयमा मात्र पैसा हाल्नुहोस्, रिटर्नमा ध्यान दिनुहोस् ।
  • लगानी गर्नुभन्दा महत्वपूर्ण त्यहाँबाट तपाईलाई कति रिटर्न प्राप्त हुन्छ भन्ने हो ।
  • साना कम्पनीका सेयर भनेर कहिल्यै नजरअन्दाज नगर्नू ।
  • मन्दीको समयमा पोर्टफोलियोमा बढी ध्यान दिन आवश्यक हुन्छ ।
  • आफूले खरीद गरेको सेयरलाई थोरै मुनाफामै बिक्री गरिहाल्ने हतारो नदेखाउनू ।
  • प्रत्येक दिन आफ्नो पोर्टफोलियोलाई कमसेसम्म २ पटक जाँच गर्ने बानी बसाल्नुहोस् ।