काठमाण्डौ । छवटा जलविद्युत परियोजनाले सर्वसाधारण तथा परियोजना प्रभावित क्षेत्रका स्थानीयका लागि निकट भविष्यमै ६३ करोड रुपैयाँ भन्दा बढी रकम बराबरको सेयरको प्राथमिक निश्कासन(आइपीओ) गर्दैछन् । 

हिमालयन पावर पार्टनर लिमीटेड, नेपाल हाइड्रो डेभलपर लिमीटेड, आँखुखोला जलविद्युत कम्पनी लिमीटेड, अरुण काबेली पावर लिमीटेड, छ्याङ्दी हाइड्रोपावर लिमीटेड र मैलुङ खोला विद्युत कम्पनी लिमीटेडले ६३ करोड रुपैयाँ बढीको आइपीओ जारी गर्न लागेका हुन् । 

यीमध्ये अधिकांश कम्पनीले आयोजना प्रभावित क्षेत्रका  बासिन्दाका लागि आइपीओ गर्दैछन् । 

सबैभन्दा बढी अरुण काबेली पावर लिमीटेडले ३० करोड रुपैयाँ बराबरको सेयरको प्राथमिक निश्कासनको अनुमति माग्दै नेपाल धितोपत्र  बोर्डमा आवेदन दिएको छ । यो आइपीओ सर्वसाधारणका लागि हो । भदौ १७ गते आवेदन परेकामा बोर्डले सो बिषयमा अध्ययन गरिरहेको छ । अरुण काबेलीको आइपीओ निश्कासन तथा व्यवस्थापनमा सिद्धार्थ क्यापिटल लिमीटेडले बिक्री प्रबन्धकको काम गर्ने बताइएको छ । यो कम्पनीको आइपीओ निकट भविष्यमै स्वीकृत हुने स्रोतहरुले बताएका छन् । 

हिमालयन पावर पार्टनर लिमीटेडले आयोजना प्रभावित क्षेत्रका लागि ६ महिनाअघि नै १० करोड ६५ लाख बराबरको आइपीओ गर्ने भन्दै बोर्डमा आवेदन दिए पनि यो समेत अझै स्वीकृत भएको छैन । बोर्डका अनुसार यो कम्पनीको आवेदनमाथि पनि अध्ययनको काम अन्तिम अवस्थामा पुगेको छ । यो कम्पनीको  आइपीओको निश्कासनमा ग्लोबल आइएमई क्यापिटल लिमीटेडले बिक्री प्रबन्धकको रुपमा काम गर्नेछ । 

साउन ३ गते आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि भन्दै छ्याङ्दी हाइड्रोपावर लिमीटेडले ८ करोड १० लाख मूल्यको ८ लाख १० हजार कित्ता सेयरको प्राथमिक निश्कासनको माग गर्दै आवेदन दिएको छ । यो आवेदनमाथि पनि अध्ययन भइरहेको बोर्डले जनाएको छ । यो कम्पनीको आइपीओ निश्कासनमा पनि ग्लोबल आइएमई क्यापिटल लिमीटेडले नै बिक्री प्रबन्धकको रुपमा काम गर्नेछ । 

आँखु खोला जलविद्युत कम्पनी लिमीटेडले पनि ८ करोड मूल्यको आइपीओका लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ । यो कम्पनीले समेत आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि २०७३ जेठ ३१ गते नै आवेदन दिएको थियो । सो आवेदनमाथि पनि अध्ययन भइरहेको बोर्डले जनाएको छ । यो कम्पनीको आइपीओ निश्कासनमा सिभिल क्यापिटल मार्केट लिमीटेडले बिक्री प्रबन्धकको काम गर्नेछ । 

पछिल्लो पटक  असोज ७ गते मैलुङ खोला जलविद्युत कम्पनीले पनि ३ लाख ६८ हजार १ सय ४३ कित्तो सेयरको प्राथमिक निश्कासनको अनुमति माग्दै धितोपत्र बोर्डमा आवेदन दिएको छ । यो कम्पनीले पनि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आइपीओ गर्न लागेको हो । यसको आइपीओको निश्कासन तथा व्यवस्थापनका लागि सिद्धार्थ क्यापिटल लिमीटेड नै बिक्री प्रबन्धकको रुपमा रहेको छ । 

यसैगरी, नेपाल हाइड्रो डेभलपर लिमीटेडले आयोजना  प्रभावित क्षेत्रका बासिन्दाका लागि २ लाख ६० हजार कित्ता सेयर आइपीओका लागि अनुमति मागेको छ । यो कम्पनीले साउन ११ गते आवेदन दिएकोमा सो बिषयमा अध्ययन भइरहेको बोर्डले जनाएको छ । यो कम्पनीको आइपीओ निश्कासन तथा व्यवस्थापनका लागि एनएमबी क्यापिटल लिमीटेडले बिक्री प्रबन्धकको रुपमा काम गर्नेछ ।