काठमाण्डौ । पछिल्लो समय देशभर थप १६६ कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या १५६७ पुगेको छ । यीमध्ये १४५० जना पुरुष र ११७ महिला रहेका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार पछिल्लो पटक थपिएका १६६ मध्ये १६२ पुरुष र ४ महिला रहेका छन् । 

पोखरास्थित प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ३ जना संक्रमित भेटिएका छन् । उनीहरुमध्ये एकजना तनहुँको रिसिंगका र स्यांग्जाको गल्यांगका २ जनामा संक्रमण भेटिएको हो । 

यस्तै, नारायणी अस्पतालमा भएको परीक्षणका क्रममा ५ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु पर्सा पटेर्वा सुगौलीका क्वारेन्टाइनमा रहेका पुरुष हुन् । 

यस्तै, जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ३७ जनामा संक्रमण भेटिएको छ । तीमध्ये १३ जना कालीकोट सुगाकालिकाका, यस्तै मगई गाउँपालिकाका ५ जना, दैलखेका दुल्लुका एकजना, नारायण नपाका ९ जना, दैलेखकै सिम्दाका १ पुरुष, देवलकाण्डका ५ जना पुरुष, दैलेखकै रातापानीका १ जना, साँधुका १ जना पुरुषमा संक्रमण देखिएको हो ।

यस्तै, बाजुरामा पहिलोपटक संक्रमण भेटिएको छ । त्यहाँका एक पुरुषमा समेत संक्रमण पुष्टि भएको हो । 

सुर्खेतस्थित प्रादेशिक अस्पताल तथा पशुपंक्षी अन्वेषण केन्द्रको प्रयोगशालामा गरिएको परीक्षणमा २६ जनामा संक्रमण देखिएको छ । उनीहरुमध्ये सल्यान कुपिण्डेका २५ जना पुरुष र सुर्खेतको बराहतालका एकजना ४ महिने नाबालिका रहेका छन् । 

धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा कपिलवस्तुको शिवराजका एक पुरुषमा संक्रमण देखिएको छ । 

भेरी अस्पतालमा गरिएको परीक्षणमा ८ जनामा संक्रमण पुष्टि भएको छ । ती बाँकेको नरैनापुरका २ जना पुरुष, खजुराका एकजना पुरुष, नेपालगञ्जका ४ जना पुरुष तथा बाँकेको वैजनाथका एकजना पुरुष रहेका छन् । 

सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा १२ जनामा संक्रमण देखिएको छ । ती सबै सप्तरीको राजगढका पुरुषहरु हुन् । 

सेती अस्पतालमा गरिएको परीक्षणमा ५ जनाको स्वाब रिपोर्ट पोजिटिभ आएको छ । उनीहरु कैलालीको भजनीका एकजना, जानकी गाउँपालिका एक, त्रिनगर क्वारेन्टाइनका एकजना, बाजुरा अस्पतालमा रहेका २ वर्षीय बालिका र २३ वर्षीया महिला रहेका छन् ।

विराटनगरको कोशी अस्पतालमा गरिएको परीक्षणमा ५ जना नयाँ संक्रमितको पहिचान भएको छ । उनीहरुमध्ये ४ जना झापाको गौरीगञ्जका पुरुष हुन् भने एकजना विराटनगरकी ४५ वर्षीया महिला हुन् । 

काठमाण्डौको टेकूस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

धनुषाको मुखियापट्टि क्वारेन्टाइनमा बस्दै आएका १९ जना, कपिलवस्तुको महाराजगञ्जका ४, रौतहटको क्वरेन्टाइनमा रहेका २९ जनामा संक्रमण भेटिएको हो । रौतहटको क्वारेन्टाइनमा बसेका ४ वर्ष, ९ वर्ष  १२ वर्षका बालकमा समेत संक्रमण पुष्टि भएको हो । 

सर्लाहीका १० जनामा पनि संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये एकजना एक वर्षका बालक पनि छन् । 

यसैबीच, आइतबार भरतपुर अस्पतालबाट एक संक्रमित ठीक भएर डिस्चार्ज भएकी छिन् । उनी मकवानपुरको हेटौडाकी २५ वर्षीया महिला हुन् । योसहित अब डिस्चार्ज हुनेको संख्या २२० पुगेको छ ।